८ वैशाख २०८१ शनिबार
कला

ट्युबलाइट प्रमोसनमा झू

मुम्बई- बलिउड अभिनेता सलमान खानसँग फिल्म 'ट्युबलाइट'मा अभिनय गरेपछि चिनियाँ नायिका झू झूको चर्चा चिनियाँ मिडियामा राम्रै चलेको छ। कविर खान निर्देशित फिल्मको प्रमोसनका लागि उनी भारत आउँदैछिन्।

'मेरा फिल्ममा अभिनय गरेका अधिकांश नायिकाले महत्वपूर्ण भूमिका पाएका छन्। झू झूले पनि त्यस्तै भूमिका पाएकी छिन्। तर, कस्तो भूमिका भन्ने अहिले नै खुलाउन मिल्दैन,' कविरले भनेका छन्, 'फिल्मको प्रमोसनका लागि झू झू भारत आउँदैछिन्। उनको प्रमोसन कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भनेर हामी योजना बनाइरहेका छौं।'

चिनियाँ बजारमा अभिनेता आमिर खानको फिल्म 'पीके' र 'दंगल' ले तहल्का मच्चाएपछि सलमानको फिल्मलाई पनि त्यहाँ अब्बल बनाउन 'ट्युबलाइट' टिम सक्रिय रहेको निर्देशक खानले खुलाए।

सलमानको फिल्मलाई सन् २०१५ को हलिउड फिल्म 'लिटल ब्वाई' को डुप्लिकेट भनिए पनि 'बजरंगी भाईजान' निर्देशक कविरले फिल्म पूर्ण रूपमा भारतीय संस्कृतिसँग मिल्दोजुल्दो रहेको दाबी गरेका छन्।

'हामीले 'लिटल ब्वाई' बाट फिल्मी कथाको सन्देश लियौं र भारतीय फ्लेबरको बनायौं। भारतको इतिहाससँग सम्बन्धित रहेकाले पनि फिल्मलाई पूर्ण रूपमा 'लिटल ब्वाई' को डुब्लिकेट भन्न मिल्दैन,' उनले भनेका छन्।

आगामी इदमा रिलिज हुने फिल्ममा सोहेल खान, ओम पुरीको अभिनय छ भने शाहरुख खानको केमियो भूमिका फिल्ममा छ।

प्रकाशित: १५ जेष्ठ २०७४ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App