८ वैशाख २०८१ शनिबार
राजनीति

इलाममा काँग्रेसको उम्मेद्वार छनौट अन्तिममा

इलाम चोकबजारमा सोमबार दिउँसो ‘घरदैलो अभियान’मा डिँडेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता । तस्बिर : भीम चापागाईं

इलाम – जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको नाम छनौट अन्तिम चरणमा पुर्याएको छ । ३ दिनयता बसेको जिल्ला समिति बैठकले मुख्य पदका अधिकतर उम्मेदवारको नाम ‘करिब’ टुंगो लगाएको हो । 

कांग्रेसका एक जिल्ला तहका नेताका अनुसार इलाम नगरपालिका प्रमुखको उम्मेद्वारमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्की, सूर्याेदय नगरपालिका प्रमुखमा दुर्गा बराल र बन्दना अधिकारी, माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया लिम्बू तथा देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उप्रमुखमा सूर्यमाया राईको नाम छनौट भएको छ । 

माइजोगमाई गाउँपालिकाका अध्यक्षको उम्मेदवारमा सिटी शेर्पा (पेम्बा), उपाध्यक्षमा लोकमाया थेबे, फाफोकथुम गाउँपालिका अध्यक्षमा राम श्रेष्ठ, उपाध्यक्षमा डाला कार्की (विष्ट), चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्रको नाम अन्तिम चरणमा छ । रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्षमा चन्द्रकला बुढाथोकी (राई), माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु लिम्बू, सन्दकपुर गाउँपालिका अध्यक्षमा देवेन्द्र सुवेदीको नाम टुंगोजस्तै रहेको कांग्रेस स्रोतले जनाएको छ । सन्दकपुर गाउँपालिका उपप्रमुखका उम्मेदवारको नाम टुंग्याउन बाँकी छ । 
    
नेपाली कांग्रेस जिल्ला सचिव निरोज खड्गीले बैठकले टुंगो लगाएका नाम अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएपछि मात्रै औपचारिक जानकारी दिने बताए । ‘धेरै उम्मेदवारको नाम टुंगो लागिसक्यो, केही पदका उम्मेदवारको नाम फाइनल हुन बाँकी रहेकाले माथिल्लो समितिमा पठाइएको छ,’ उनले भने । उनले मंगलबार औपचारिक रूपमा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए ।
    
कांग्रेसकै अर्का सचिव खगेन्द्र देवानले ‘सर्वसम्मत रूपमा उम्मेदवारको नाम पठाउन र नभए आएका नाम माथिल्लो समितिमा पठाउन’ परिपत्र आएकाले छानिएका नाम पठाएको बताए । उनले भने, ‘उम्मेदवारको नाममा सर्वसम्मत निर्णय हुन नसकेको र केही असन्तुष्टिसमेत रहेकाले माथिल्लो समितिमा अन्तिम निर्णयका लागि पठाइएको छ ।’ तर, वैकल्पिक नाम माथिल्लो समितिमा नगएकाले यिनै नाम उम्मेदवारका लागि निर्णय भएर आउन सक्ने कांग्रेस स्रोतले बतायो ।
    
निर्वाचनमा उठ्ने मुख्य पदका उम्मेदवारको टुंगो लागिसकेकाले चुनावी अभियानमा हिँडेको कांग्रेसका अर्का नेताले बताए । इलाम चोक बजारमा ‘भोट माग्दै’ हिँडिरहेका ती नेताले भने, ‘उम्मेदवारको टुंगो लागिसकेकैले भोट माग्न हिँडेका हौं ।’

 

प्रकाशित: १५ जेष्ठ २०७४ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App