६ वैशाख २०८१ बिहीबार
खेल

उत्कृष्ट प्रतिस्पर्धामा रोनाल्डो र वेल

पेरिस- पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र रियाल मड्रिडका टिम सहयात्री वेल्सका स्टार गारेथ बेल युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले महादेशीय उत्कृष्ट खेलाडीका लागि सोमबार सार्वजनिक गर्दा १० खेलाडीको मनोनयनमा परेका छन्।

पोर्चुगललाई फ्रान्समा यसै महिना सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि जिताउनुअघि रोनाल्डोले एट्लेटिको मड्रिडविरुद्धको पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै मे महिनामा रियाललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि रियालले जितेको त्यो ११ औं पटक थियो। रोनाल्डोसँगै पोर्चुगल तथा रियालका टिम सहयात्री पेपे पनि १० खेलाडीको मनोनयनमा परेका छन्।

रियालले च्याम्पियन्स लिग जित्दाका मुख्य सदस्य बेलको प्रेरणामा वेल्सले युरो २०१६ को सेमिफाइनलसम्म यात्रा तय गरेको थियो। वेल्सले यसपालि युरोपियन च्याम्पियनसिपमा १९५८ को विश्वकपपछि पहिलोपटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्र्रतियोगितामा सहभागिता जनाएको थियो। जहाँ बेलको टोलीले समूह चरणमा इङ्ल्यान्डभन्दा माथि रहेर नकआउट चरण प्रवेश गरेको थियो। रुस, स्लोभाकिया, उत्तरी आयरल्यान्ड र फिफा वरीयताको दोस्रो स्थानको बेल्जियम जस्तो टोलीलाई हराएको थियो।

२०१३–१४ मा पनि युरोपको उत्कृष्ट खेलाडी घोषित भइसकेका रोनाल्डो यसपालि पनि अवार्डको मुख्य दाबेदार हुन्। यसपालि दोस्रोपटक अवार्ड जितेमा उनले बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीसँग बराबरी गर्नेछन्।

युरो २०१६ का उच्च गोलकर्ता एट्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान पनि मनोनयनमा छन्। फ्रान्सलाई फाइनलसम्म पुर्‍याउन मुख्य भूमिका निर्वाह गरेका ग्रिजम्यान युरो २०१६ को सर्वोत्कृष्ट खेलाडी भएका थिए।

यसैगरी बार्सिलोनाबाट मेसी र लुइस स्वारेज मनोनयनमा परेका छन् भने बायर्न म्युनिखका म्यानुअल नुयुर र थोमस मुलर, युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोन र रियालका जर्मन मिडफिल्डर टोनी क्रुस  पनि मनोनयनमा छन्।

युइएफएका सबै ५५ सदस्य राष्ट्रका पत्रकारको मतका आधारमा प्रारम्भिक मनोनयन सार्वजनिक गरिएको हो। अगस्ट ५ मा फेरि यिनै पत्रकारको मतका आधारमा शीर्ष तीन खेलाडी छानिने छन्। अवार्ड विजेताको टुंगो भने अगस्ट २५ मोनाकोमा हुनेछ। आगामी सिजनको च्याम्पियन्स लिग समूह चरणको 'ड्र' को अवसरमा युरोपको सर्वोत्कृष्ट वर्ष फुटबलर घोषणा हुने युइएफएले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७३ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App