coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

फेरि अर्को थिएटरको अवसान

काठमाडौं- लेखक तथा नाट्यकर्मी अशेष मल्लले सरकारले कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा खर्चिने रकम राजनीतिक दलका कार्यकर्ताको पहुँचमा मात्र सीमित भइरहेको बताएका छन्। थिएटर मलले राजधानीमा सोमबार आयोजना गरेको 'आवश्यकता, सम्भावना र चुनौती' का विषयमा भएको अन्तरक्रियामा उनले सम्बन्धित क्षेत्रले प्रभावकारी भूमिका खेल्न नसक्दा कला क्षेत्रमा पलायनवादी स्थिति सिर्जना भइरहेको बताए।

अर्का रंगकर्मी सुनिल पोखरेलले कर्पोरेट हाउसहरू नेपाली रंगमञ्चसम्म आउन नसक्दा थिएटर र थिएटरका कलाकार टिक्न नसकेको दाबी गरे। 'म नेपाली रंगमञ्चमा काम गरेर बाँचेको छु। रंगमञ्चमा अवसर सिर्जना नहुँदासम्म टिक्न गाह्रो छ, ' पोखरेलले भने।

थिएटर भिलेजका विमल सुवेदीले दर्शक बढे पनि नेपाली थिएटर बन्द हुँदै गएको बताए। 'गुरुकुल बन्द भएसँगै एकसाथ राजधानीमा ४–५ वटा थिएटर सञ्चालनमा आउँदा दर्शकको भीड सबैतिर उत्तिकै हुन्छ। रकम र पारिश्रमिक अभावले नेपाली थिएटरका रंगकर्मी पलायन हुने स्थिति कम हुन सकेको छैन, ' सुवेदीले भने।

थिएटर मलका केदार श्रेष्ठले थिएटरबाट कमाइ भए पनि थिएटर निर्माणमा खर्च हुने गरेको बताए। 'नेपाली रंगमञ्चमा गुणस्तरीय नाटक निर्माणमा रंगकर्मीले ध्यान दिनसकेका छैनन्। रकम जुटाउने चटारोले गुणस्तरीय काम गर्न भ्याइँदैन,' उनले भने।  कार्यक्रममा शिल्पी थिएटरका घिमिरे युवराज, राजन खतिवडा र यज्ञशलगायतले बोलेका थिए।

थिएटर मल बन्द

काठमाडौं मलमा नयाँ व्यवस्थापकको प्रवेश भएपछि मंगलबारदेखि 'थियटर मल, हाउस अफ आर्ट एन्ड कल्चर' नाटकघर बन्द हुँदैछ। मलका केदार श्रेष्ठले नेपाली कलालाई एकथलोमा प्रदर्शन गरेर रंगमञ्चमा मानिसहरूको रुचि बढाउन स्थापना गरिएको मल मंगलबारबाट बन्द गरिने जानकारी दिए।

'कर्मचारी सञ्चयकोषको काठमाडौं मलमा नयाँ व्यवस्थापक आएर फिल्म हल खोल्ने तयारी गरेसँगै थिएटर मल बन्द गर्न बाध्य भएका हौं,' उनले भने।

पुरानो सञ्चालकसँग ६ वर्षको सम्झौता गरेर तीन वर्षअघि झन्डै १८ लाखमा सुरु गरिएको थिएटर मलले हालसम्म ३० लाख खर्च गरिसकेको छ। यस अवधिमा मलमा १६ वटा नाटक मञ्चन भइसकेका छन्। यी नाटकमा ६ नाटक थिएटर मलकै उत्पादन थिए। नाटकघर, आर्ट ग्यालरी र कित्ली क्याफे गरेर सञ्चालन भएको थिएटर मल एक्कासि बन्द गर्नुपर्दा खर्च उठाउन नसकिएको केदारले खुलाए। 'कर्मचारी सञ्चय कोषसँग ६ वर्षको सम्झौताअनुसार थिएटरसम्बन्धी गतिविधि गरेका थियौं। एक्कासि फागुनबाट नयाँ व्यवस्थापन आएलगत्तै थिएटर मल हटाउन बारम्बार दबाब बढेपछि जेठ १६ देखि बन्द गर्ने निर्णय गरेका हौं,' श्रेष्ठले भने।

सुस्केरा कला समूह र थियटर सेन्टर फर चिल्ड्रेन नेपालले मलको संयुक्त रूपमा निर्माण गरेको थियो। राजधानीमा पाँचौ नाटकघरको रूपमा सञ्चालित यो नाटकघर बन्द गरिएलगत्तै नयाँ स्थानमा खोल्न नखोल्नेबारे अन्योल भएको उनले बताए। काठमाडौं मलको आठौं तल्लामा रहेको यो नाटकघरमा नियमित नाटकबाहेक अभिनय र नाट्य प्रशिक्षण, कला प्रदर्शनी र साहित्यिक कार्यक्रम आयोजना हँुदै आएको थियो।

शिवलक्ष्मी कोंजुको समूहले १५ वर्षका लागि काठमाडौं मल सञ्चालन गर्ने जिम्मा पाएलगत्तै थिएटर मललगायत अन्य  व्यवसायीको भाडा समेत बढेको छ। यो समूहले मासिक दुई करोड ७१ लाख भाडा कर्मचारी सञ्चयकोषलाई बुझाउनुपर्ने सम्झौता भएको छ। यसअघिको सञ्चालकले कर्मचारी सञ्चयकोषलाई मासिक ८० लाख बुझाउने गरेको थियो। हाल काठमाडौं मलमा झन्डै तीन सयभन्दा बढी पसल सञ्चालनमा छन्।

यसअघि सुनिल पोखरेल नेतृत्वको आरोहण गुरुकुल र विमल सुवेदीको समूहले सञ्चालन गरेको थिएटर भिलेज स्थानभावले बन्द भएका थिए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App