coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

साना पार्टीको आगामी भूमिका

भखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मुलुकका अन्य नगरपालिका र गाउँपालिकाको भन्दा केही फरक परिदृश्य काठमाडौं महानगरपालिकामा देखापरे । यहाँको चुनावी वातावरण पहिलेको भन्दा भिन्न रह्यो । यसले चेतना र राजनीतिक अभ्यास जनस्तरमा बढेको पाइयो । चुनावी नाराको भद्दा लिपपोत र पर्चा पाम्पलेटको सस्तो दुरुपयोगमा राजधानी केही सावधान पाइयो । त्यसमा थप काठमाडौंको बौद्धिक चेतनशील वर्गको मन छाम्ने प्रयासमा केही नयाँ पार्टी खुले र राजनीतिक परिदृश्यमा यसभन्दा अघि देखा नपरेका केही अपरिचित अनुहार ठूलो हिम्मत र उत्साहका साथ महानगरपािलका काठमाडौंका प्रमुख पदमा उम्मेदवार बनेर झुल्किए । तिनले परम्परागत पार्टी राजनीतिमा चुनाव लड्नेलाई खुला चुनौती दिए । तीमध्येका साझा पार्टीका किशोर थापा र विवेकशील पार्टीका रञ्जु दर्शना प्रमुख रहे । दुवैले काठमाडौंका ठूला दलप्रति अन्धविश्वासी जनमतलाई खुला चुनौती दिए र यहाँको बृद्धिजीवी र युवा समूहलाई आफूप्रति आकर्षण गर्ने सक्दो प्रयास गरे। 

नेपालको राजनीतिक र शासकीय क्षेत्रमा २०४६ सालपछि बढेको महँगी, भ्रष्टाचार अनेकौं आपराधिक गतिविधि, गुण्डागर्दी जस्ता नकारात्मक गतिविधि यहाँका ठूला भनिने राजनीतिक दल र तिनका नेतृत्व तहकै संरक्षणमा हुर्कंदै र बढ्दै आइरहेको कुरा जगजाहेर छ । तिनै दल र तिनका नाइकेको संरक्षण र आवरणमा चुनावको उम्मेदवारी दिनेहरूका सामु भरखर उम्रेर दुई पात पलाएका पार्टीका युवा साहसी उम्मेदवारले निर्वाचन जित्ने सोचाइ राख्ने स्थिति यस बेला छैन । तर पनि तिनले यस निर्वाचनबाट सुरू गरेको साहसी र विकास अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइरहे भने अहिलेको तिनका उम्मेदवारलाई आशाको बिहानी किरण मान्न सकिएला । आशाको झिनो सङ्केत मान्नुपर्ला ती उम्मेदवारलाई प्राप्त काठमाडौं महानगरपालिकाको मतलाई । यो मत कम आँक्न मिल्दैन– यदि यो काठमाडौंको विवेकशील मत हो भने । तर यतिले मात्र साझा पार्टी र विवेकशील पार्टीमाथि ठूलो जनमतको विश्वासको अपेक्षा गर्नु उपयुक्त हुने छैन।

पहिलो चरणको स्थानीय तहको निर्वाचनले जनताको जरैसम्म प्रभावित पार्याे, अब स्थानीय तहका कुनै पनि पार्टीको कार्यकर्ता र निर्वाचित प्रतिनिधिले जनभावना विपरीत गएर उम्कन पाउने छैनन् । यदि गलत बाटोबाट उम्कन खोजेमा स्थानीय तहमै जनकारबाहीमा पर्नेछन् । तिनले जनविश्वास गुमाउनेछन् ।

राणाकालीन नेपालमा जन्मेको नेपाली काङ्ग्रेसलाई झापा व्रिदोहपछि पञ्चायतकालमा जन्मे÷हुर्केको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अहिले आएर पछाडि पारिसक्यो । राष्ट्रियता, जनवाद जस्ता सवालमा अडान लिएर यो पार्टीको देशमा सुशासन कायम गर्ने दिशातिर पहिले नै अगाडि बढेको भए यसलाई काङ्ग्रेस पार्टीको विकल्पका रूपमा मात्र मत दिने स्थिति अहिले आउने थिएन । तर २०४६ सालयताको एमालेका दिनहरू नेपाली काङ्ग्रेससँग सत्ताको साझेदारी गर्ने र राष्ट्रियता जनजीविका सुशासनका सवाललाई व्यवस्था गर्नेतिर नै प्रायः बिते । यसमा एमालेका केन्द्रीय नेतृत्वका कतिपय सञ्चालक मुख्यरूपमा जिम्मेवार रहे । २०४६ साल र त्यसपछिको एमालेकै बाटोमा अहिले आएर नेपाल कम्युनिस्ट पार्टी माओवादी(केन्द्र) हिँड्दै छ र यसले पनि नेपाली काङ्ग्रेससँगको साझेदारीद्वारा सत्तामा टिक्ने मार्ग अंगालेको छ । यसरी सत्तामा पुग्न र टिक्न यस पार्टीले आफूलाई अपराधीकरणका मतियारहरूलाई वैधता दिने दिशामा सत्ताको चरम दुरूपयोग गरिरहेको छ । प्रधानमन्त्री पृष्पकमल दाहाल दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा आएर मधेसकेन्द्रित दलहरू र त्यहाँको मत रिझाउन ज्यान मुद्दाका आरोपीलाई छुट्कारा दिने प्रयत्नमा छन् । एउटा कम्युनिस्ट विशेषणधारी पार्टीका निम्ति यसभन्दा बढी लज्जास्पद विषय के हुन सक्छ ? तर दुई चार अपराधीलाई जोगाउँदा त्यसबाट पीडित ठूलो जनसमुदायको सहानुभूति र समर्थन गुमाउनुपर्ने अवस्थाप्रतिभन्दा तत्काल मुखमा आएको चुनावमा यसरी नै जनताको मत लिन सकिने उनको सोचाइलाई मतिभ्रम भन्ने कि नभन्ने ?

पहिलो चरणको स्थानीय तहको निर्वाचनले जनताको जरैसम्म प्रभावित पार्याे, अब स्थानीय तहका कुनै पनि पार्टीको कार्यकर्ता र निर्वाचित प्रतिनिधिले जनभावना विपरीत गएर उम्कन पाउने छैनन् । यदि गलत बाटोबाट उम्कन खोजेमा स्थानीय तहमै जनकारबाहीमा पर्नेछन् । तिनले जनविश्वास गुमाउनेछन् । पार्टीका केन्द्रीय नेताहरूले झैँ जनताका नाममा निर्वाचन जितेर केन्द्रीय शासन दुरूपयोग गर्ने र केन्द्रको भ्रष्टाचारमा डुबुल्की मार्ने अनि धनको पोको बोकेर चुनावमा गाउँ पस्ने जस्तो प्रवृत्तिले अबका दिनमा प्रोत्साहन पाउने छैन । किनभने अहिलेको स्थानीय तहका निर्वाचित जनप्रतिधिमध्येका थुप्रै व्यक्ति पार्टी र तिनका नेताप्रति भन्दा जनताप्रति इमान्दार रहेको आशा र विश्वासमा उम्मेदवार भएका ठानिएका छन् । ती कुनै पनि पार्टीका हुन् । यसैले मुलुकको सबै भागको समानुपातिक विकासको पूर्वाधारको सिर्जना अबका दिनमा हुने आशा गर्न सकिन्छ । 

वातावरणीय प्रदूषण र अव्यवस्थित सहरीकरणले जतिसुकै अस्तव्यस्त रहे पनि काठमाडौं राष्ट्रको मुटु हो र देशको मोफसल काठमाडौंको आरोहमा आँखा झिम्म नगरी माथि हेर्छ र अवरोहमा तलतिर हेरिरहन्छ । किनभने यो मुलुकका सबै गाउँ र सहरको आस्था÷अनास्था, विश्वास÷अनविश्वास आदि सबैका दृष्टिले केन्द्र हो । यसैले वर्तमान स्थानीय तहको काठमाडौं महानगरपालिकाको निर्वाचनलाई मोफसलले सबभन्दा गम्भीररूपमा लिनु स्वाभाविक हो । यही कारण हो भर्खर पलाएका साझा र विवेकशील जस्ता पार्टीले पनि काठमाडौंलाई नै ऊर्वरा भूमि ठानेका छन् । यो काठमाडौं नेपालको बौद्विक समुदायको समेत केन्द्र हुनाले ठूला पार्टीको ज्यादतिबाट वाक्क भएको काठमाडौंको सचेत जनसमुदायको परीक्षण गर्न किशोर थापा र रञ्जु दर्शना जस्ता युवतीले यस निर्वाचनमा आफूलाई उभ्याएका हुन सक्छन्। 

भारत जस्तो विशाल भूभाग भएको मुलुकमा पनि राष्ट्रव्यापी अस्तित्वमा रहेका पार्टीलाई चुनौती दिँदै अरविन्द केजरीवाललगायतका बौद्धिक व्यक्तित्वले राजधानी दिल्लीमा आफ्नो राजनीतिलाई केन्द्रित तुल्याएका थिए र त्यहाँ चुनाव जितेर अन्ततः सरकार गठन गरेका हुन् । यद्यपि भारतीय राजनीतिक पार्टीको वक्रदृष्टि र शासकीय स्तरमा जरैसम्म फैलिएको भ्रष्टाचारले आम आदमी पार्टीभित्रै शङ्का र अविश्वास बढाएको छ र पुरानो पार्टीका अगाडि आम आदमी पार्टीका खुट्टा कहिलेसम्म दह्रोसँग दिल्लीको राजनीतिमा टिक्ने हुन् त्यो निश्चित छैन । विदेशमा रहेको भारतको कालो धन स्वदेशमा फिर्ता ल्याउने अभियानका अग्रणी योगगुरू रामदेवले पनि त्यो नारालाई नारामै सीमित राखी भारतीय जनता पार्टीका नेता एवम् प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पुरानो मित्रतालाई यथावतै राखे । यसैले मुलुकका भ्रष्टाचार र अपराधहरूको भित्रसम्म विस्तारित बनिसकेको जालोलाई सानोतिनो शक्तिले हटाउनु कम चुनौतीको कुरा होइन । नेपालका सन्दर्भमा पनि त्यही परिस्थिति देखापरेको छ । यहाँको भ्रष्टाचार र अपराधीकरणले संस्थागत रूप लिइसकेका छन् र तिनकै आडमा यहाँका ठूला पार्टी मौलाएका छन् । यसैले सानातिना राजनीतिक पार्टी वा शुद्ध राजनीतिक विचार र आचरण प्रर्दशन गर्ने दुई चार व्यक्तिले देशमा निर्वाचन जितेर आमूल परिवर्तन गर्ने सोचाइ लिनुको कुनै अर्थ रहँदैन । 
२०४६ सालभन्दा अघिदेखि भूमिगत अवस्थामै साङ्गठनिक स्थिति बनाएको नेपाल मजदुर किसान पार्टी अहिले भक्तपुर जिल्लाको कम्युनिस्ट सङ्गगठनका रूपमा मात्र खुम्चन पुगेको छ र कम्युनिस्ट विचारका व्याख्याता मोहनविक्रम सिंह र जनवादी सिद्धान्तमा अडान लिने चित्रबहादुर केसी जस्ता व्यक्तित्वबाट परिचालित जनवादी संयुक्त मोर्चा जस्ता पार्टी पनि सीमित घेरामा बाँधिनुपरेको अवस्थालाई स्थानीय तहको वर्तमान निर्वाचनले देखाइसकेको छ । यदि मनी (धन) मसल (गुण्डागिरी) र मास (जनशक्ति)का बीच तालमेल मिलाउन नसकेमा त्यसले कि मजदुर किसान पार्टी वा जनवादी संयुक्त मोर्चा जस्ता नगर वा गाउँपालिकामा खुम्चन बाध्य हुनुपर्नेछ कि त स्वतन्त्र बौद्धिक र चेतनशील मतदाताबाट पाएको मतमा सन्तुष्ट बनेर रहनुपर्नेछ । वर्तमान स्थानीय तहको निर्वाचनको परिणामले त्यही स्थिति प्रदर्शन गरेको छ । लामो समय सत्तामा रहेर विभिन्न उपायले शक्ति आर्जन गरेका मुख्य दलहरूकै पकडमा मतदाता बाँधिन पुगेको यथार्थ स्पष्ट नै छ । ठूला पार्टीहरूले यति धेरै वर्षमा गरेको धनजनको शक्ति सञ्चयबाट प्राप्त जनमतलाई भर्खर पलाएका पार्टीका उम्मेदवारबाट प्राप्त मतले प्रतिस्थापन गर्न खोज्नु असम्भवप्रायः हो । आउँदा दिनमा तिनले गर्ने राजनीति जनतापरक सेवामूलक र अन्याय, अत्याचार र भ्रष्टाचारविरूद्ध निरन्तर पार्टीलाई गतिशीलता दिने स्थितिमा मात्र यस्ता साना पार्टीले जनस्तरमा विस्तार पाउने अपेक्षा राख्न सक्छन् । 

नेपाली राजनीतिमा राणाकालीन समयदेखि पञ्चायतकाल हुँदै वर्तमानसम्म आउँदा देश र जनताका निम्ति उत्सर्ग गरेका व्यक्ति पार्टीमा नदेखिएका होइनन् । तर पार्टीभित्र सत्पक्षीय विचार र आचरणको पराजय र असत्पक्षीय तत्वको विजय बराबर देखापर्दै आएको छ । जीवनभर पार्टीका निम्ति उत्सर्ग गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईप्रति देखिएको नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वको उपेक्षाभाव सबभन्दा ज्वलन्त उदाहरण हो । तर तिनै त्यागी नेताको चित्र बोकेर ढाँेगी राजनीति गर्नेहरूको हातमा सत्ता रहनु स्वयम् विरोधाभाष हो । अहिले पनि त्यस पार्टीभित्र इमान्दार युवा राजनीतिकर्मीहरू आफ्नो भूमिकाका निम्ति सल्बलाइरहेकै छन् । गगन थापा आदि युवाहरू पुरानो प्रवृत्तिसँग द्वन्द्वरत् रहेको चर्चा यदाकदा प्रकट भइरहेको छ । त्यस्तै नेकपा एमालेको पुरानो नेतृत्वलाई स्थानापन्न गर्ने प्रयासमा घनश्याम भुसाल, भानुभक्त ढकाल, योगेश भट्टराई आदि युवा सक्रिय छन् । यी पछिल्लो नेतृत्व पंक्तिमा रहेको सोचाइ र इमान्दारीले धोका दिएन भने यी दुई ठूला पार्टीबाटै आगमी दिनमा विकास निर्माणले गति पाउने आशा गर्न सकिन्छ । यस पटकको स्थानीय निर्वाचनका देखिएको उत्साहले त्यतै सङ्केत गरेको छ । 

उपयुक्त सन्दर्भमा यस स्थानीय निर्वाचनमा सानो सङ्ख्यामा मत पाउने साना पार्टीहरूले पार्टीभित्रै समाहित बनेर ती पार्टीभित्रै मुलुकको सुशासनका निम्ति अन्तर्संघर्ष चलाई ती पार्टीलाई सत्मार्गमा लगाउनु र पार्टीमा युवा नेतृत्वको शक्तिलाई प्रतिस्थापन गर्नु मुलुकका निम्ति उपयुक्त हुनेछ । यस स्थानीय निर्वाचनले अब भ्रष्ट केन्द्रीय नेतृत्वलाई नपछ्याइ सुशासनका निमित सङ्घर्ष गर्ने नयाँ नेतृत्वको मार्ग अनुशरण गर्ने सम्भावना बढेको छ । वर्तमान निर्वाचनका सहभागी साना दलहरूले यही बाटो अनुशरण गर्नु देशका निम्ति लाभदायी हुनेछ । देशलाई बलियो बनाउने उपयुक्त बाटो यही हुन सक्छ । 

प्रकाशित: १७ जेष्ठ २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App