८ वैशाख २०८१ शनिबार
अर्थ

भन्सार र अध्यागमन खुलाउन पहल

इलाम- पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापनाका लागि दुवै देशका अधिकारीबीच बैठक भएको छ। केही दिनअघि भारतको दार्जिलिङस्थित सुकियापोखरीमा सम्पन्न बैठकले अध्यागमन र भन्सार कार्यालयको सेवालगायतबारे विभिन्न ३ बुँदे सहमतिसमेत गरेको छ।

पशुपतिनगर भन्सार प्रमुख प्रकाश पोख्रेल र सुकियापोखरी ल्यान्ड कस्टम प्रमुख श्यामसन प्रदीप शर्मा नेतृत्वको टोली बैठकमा सहभागी थियो। गैरकानुनी रूपमा हुने सामान तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सूचना आदान–प्रदान गर्ने, नेपालतर्फ अध्यागमन र  भारततर्फ क्वारेन्टाइन चेक पोस्ट तत्काल स्थापना गराउन माथिल्लो निकायमा पहल गर्ने तथा सर्वसाधारणलाई आउ–जाउ गर्दा साना झोला बोक्न सहज बनाउने सहमति भएको भन्सार प्रमुख पोख्रेलले बताए। 

भारततर्फ क्वारेन्टाइन स्थापना गराउन शर्मा नेतृत्वको टोली सकारात्मक रहेको उनको भनाइ छ। यहाँ अध्यागमन कार्यालय नहुँदा पर्यटक आउ–जाउमा समस्या छ। धेरै हिसाबले पहाडी क्षेत्रको उपयुक्त नाका मानिए पनि अध्यागमन कार्यालय नहुँदा यहाँबाट तेस्रो मुलुकका पर्यटक आउन–जान पाएका छैनन्।

ठूलो संख्यामा उतातिर (दार्जिलिङ, भारत) आएका पर्यटक यहाँ अध्यागमन कार्यालय स्थापना भए पूर्वी पहाडका पर्यटकीय जिल्ला भ्रमण गर्न पाउनेछन्। इलाम पर्यटकीय जिल्ला भएपनि तेस्रो मुलुकका पर्यटक अत्यन्त कम आउनुको  एक प्रमुख कारण पशुपतिनगरमा अध्यागमन कार्यालय नहुनु नै रहेको पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीको भनाइ छ। यहाँ अध्यागमन कार्यालय नहुँदा भारत भएर आउने तेस्रो मुलुकका पर्यटकले झापाको काँकडभिट्टा नाका प्रयोग गर्छन्। तर, त्यहाँबाट भित्रिने अधिकतर पर्यटक इलाम नघुमी काठमाडौं वा पोखरातिर लाग्ने गरेका छन्।

पर्यटकीय सम्भावना बोकेको जिल्लाकै भारतीय नाकामा अध्यागमन कार्यालय नहुँदा यता आउन चाहने पर्यटक मुखैमा आएर फर्कन बाध्य छन्। पशुपतिनगरभन्दा करिब ५० किलोमिटरमा रहेको दार्जिलिङ बर्सेनि हजारौं पर्यटकले खचाखच रहन्छ। त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरछेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन्।

पशुपतिनगरमा अध्यागमन कार्यालय भए हजारौं पर्यटकले इलामलाई गन्तव्य बनाउन सक्ने पशुपतिनगरका व्यवसायी मिलन क्षेत्री बताउँछन्। 'धेरै पर्यटक त्यहीं पर्तिर (भारतको फाटक) आएर इलामको छेउ हेर्दै मुख मिठ्याएर फर्किरहेका हुन्छन्,' उनले भने, 'ती पर्यटकलाई यता भित्याउन पाए इलामले अरू व्यवसाय गर्नै पर्दैन, पर्यटक पालेरै खान–लाउन पुग्छ।'

झापा–इलाम सीमा जोर कलसस्थित पर्यटन सूचना केन्द्रका अनुसार बर्सेनि १६ हजारभन्दा धेरै पर्यटक इलाम घुम्न आउँछन्। मेची पहाडी पर्यटन क्षेत्र पूर्वाधार तथा विकास समितिले दार्जिलिङ आएका ५ प्रतिशत पर्यटकमात्र नेपाल ल्याउन सके इलामको आर्थिक विकासमा टेवा पुग्ने बताएको छ। समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने, 'तेस्रो मुलुकका ती पर्यटक इलाम भित्याउने नाका चाहिँ पशुपतिनगर नै हुँदा धेरै सहज हुन्छ।' स्थानीय र जिल्लास्थित होटल–पर्यटन व्यवसायीले यहाँ अध्यागमन कार्यालय राख्न जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा पटक–पटक अनुरोध गरेका थिए। उद्योगी–व्यवसायी र जिल्लाबासीले पनि पशुपतिनगर नाका खोल्न माग गरेका छन्। उद्योग, वाणिज्यलगायत मन्त्रालय र सरोकारवाला निकायमा दर्जनौंपटक माग गर्दा पनि यो नाका खोल्न कसैले चासो नदिएको उनीहरूको गुनासो गरिरहेका छन्।

पहाडी जिल्लाको ‘सबैभन्दा सुरक्षित' मानिने पशुपतिनगर नाका खुल्दा पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुनेछन्। पूर्व र पश्चिम नेपाल जोड्ने मध्यपहाडी लोकमार्गको फिदिम खण्ड पुग्न यो नाकाबाट नजिक पर्ने भएकाले पश्चिमी जिल्लालाई पनि यसबाट फाइदा पुग्छ। यो नाका आसपासबाट बर्सेनि लाखौं रुपैयाँ बराबरको सामग्री अवैध रूपमा आयात भइरहेको सशस्त्र प्रहरी र भन्सारकै तथ्यांक छ। तर, स्थानीयले भने ‘भन्सार शुल्क तिरेरै सामान आयात–निर्यात गर्न पाउँ' भन्ने माग राखे पनि वर्षाैंसम्म पूरा हुन नसकेको हो।

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष आनन्द कट्टेलले संघ र यसको इलाम शाखामा आबद्ध २ हजार ७ सयभन्दा बढी व्यापारी–व्यवसायीले पशुपतिनगर नाका खोल्न पटक–पटक माग गरेको बताए। जिल्लाकै मंगलबारे, पशुपतिनगर र दानाबारीलगायत व्यापारिक केन्द्रका व्यापारी–व्यवसायीको पनि यो पटक–पटकको माग रहेको उनको भनाइ छ। ‘हामीले पशुपतिनगरबाट सबै प्रकारका भारतीय सामान भन्सार तिरेर ल्याउन पाइयोस् भन्ने वर्षाैंदेखि माग गरेका हौं,' उनले भने, ‘तर, सरकारले ठाडा कान नलगाएकाले इलामसहित पूर्वी पहाडका व्यापारी र उपभोक्ताले सास्ती खेप्नुपरेको छ।'

भन्सार प्रमुख पोख्रेलले इलामलगायत पहाडी जिल्लाका अधिकतर व्यवसायीले पशुपतिनगर नाका भएरै अलैंची, अदुवा, कुचोलगायत सामान निर्यात गर्न चाहेको बताए। उनले नाका खुल्दा आवश्यक पर्ने भवनलगायत भौतिक पूर्वाधारसमेत पुग्दो नै हुने बताए। ‘व्यापारीले बताएअनुसार इलामबाट भारतको सिलिगुडीसम्म १ ट्रक सामान लैजाँदा करिब १ हजार ७ सय रुपैयाँ सस्तो पर्ने रहेछ,' उनले भने, ‘तर, हामीलाई त्यसरी सामान पठाउने अधिकार छैन, न त भारततिर लिने अधिकार नै छ।'

वर्षौं पहिले नेपालबाट अलैंची, कुचोजस्ता सामग्री पशुपतिनगर हुँदै निकासी हुन्थ्यो। त्यसबेला ल्यान्ड कस्टमको काम धेरै थियो। अहिले नेपालबाट चोरी गरेर लगिएका चुरोट र कपडा बरामदको काममात्र हुने गरेको भन्सार कर्मचारीकै भन्ाइ छ। पोख्रेलले भने, 'हामीले नेपालतर्फ अध्यागमन कार्यालय स्थापना गर्नेगरी पूर्वाधार खडा गरेका छौं। भारततर्फ क्वारेन्टाइन स्थापना हुन सक्यो भने हामीलाई सहज हुन्छ।' अध्यागमन कार्यालय र क्वारेन्टाइन स्थापना गराउन राजनीतिक पहलकदमी आवश्यक छ। ३–३ महिनामा दुवै देशका भन्सार अधिकारीबीच हुने नियमित बैठक अब ३ महिनापछि नेपालमा हुने छ। तर, त्यसअगावै अध्यागमन स्थापनाको पहल जुटाउन सम्बन्धित निकायबीचको बैठक बोलाउने तयारी भइरहेको उनको भनाइ छ।

प्रकाशित: ४ श्रावण २०७३ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App