१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रबलको डिजाइनमा रानीको पोज

तस्बिर : क्वीन रानियाको इन्स्टाग्राम

काठमाडौं–निलो पहिरनमा सजिएर जोर्डनकी रानी रानिया गत मंगलबार रागधान दरबारको प्रांगढमा निस्किइन् । मुसलमानको पवित्र पर्व रमदानका अवसरमा रोजा (व्रत) सकिएपछिको ‘इफ्तर’ पार्टीका लागि उनी बाहिर निस्किएकी थिइन् । कालो रङको सानो ह्यान्डब्याग बोकेकी उनले गलामा चम्किलो गहना पहिरिएकी थिइन् । उनी मुस्कुराउदै आफैले डाकेका मुसलमान महिला भेला भएको स्थानतर्फ लागिन् र उनीहरुलाई स्वागत गरिन् । 

फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका समाजिक सञ्जालमा सक्रिय रानियाको ड्रेसअपको धेरैले प्रशंसा गरे । ट्विटर फलोअर्स ६५ लाखभन्दा बढी भएकी उनको ‘ड्रेस सेन्स’को चर्चा नहुने कुरै भएन । मुसलमान मुलुककी रानी भएर पनि ‘वेस्ट्रन’ डिजाइनको पहिरन पहिरिएकी उनको तस्विरले इन्स्टाग्राममा धेरै लाइक पायो । विदेशी मिडियामा समेत चर्चा पाएको मुसलमान बहुल मुलुककी यी रानीको पहिरन भने बनाएका थिए–नेपाली मूलका डिजाइनर प्रबल गुरुङले । 

गुरुङले डिजाइन गरेका हलिउड सेलिब्रेटीको सूची धेरै लामो छ । यसैमा थपिएकी छिन्–जोर्डनकी रानी पनि । हुनत जोर्डनकी रानीभन्दा अगाडि बेलायती राजकुमारी केट मिडल्टनले पनि गुरुङले डिजाइन गरेको पहिरन लगाइसकेकी छिन् । सेक्टेम्बर २०१२ मा सिंगापुर भ्रमणका बेला केटले चयन गरेको गुरुङले डिजाइन गरेको पहिरनले पनि अन्तर्राष्ट्रिय मिडियामा खुबै चर्चा पाएको थियो । 

जोर्डनकी रानीले आफ्नो पहिरन पहिरिएको तस्विर इन्स्टाग्राममा राखेपछि प्रबल गुरुङले पनि उनको प्रशंसा गरेका छन् । ‘जस्ट पर्फेक्ट फर दा क्वीन, थ्याङ्क यू क्वीन रानिया,’ रानीको पोज देखेपछि उनको इन्टाग्राम तस्विर सेयर गर्दै गुरुङले ट्विट गरेका छन् । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App