७ वैशाख २०८१ शुक्रबार
अन्य

बधाई छ है बधाई!

(सुरुमै भनौँ, यस घटनाका पात्र तथा घटना सबै काल्पनिक हुन्। कसैसँग मेल खान गए त्यसलाई दुर्भाग्य ठान्नुहोला।)

वरिष्ठ राजनीतिक विश्लेषक झलक सुवेदीको मोबाइल अचानक बिहानै बज्यो। कुनै दुःखद् समाचार सुनाउनुपरे मात्रै उहाँको मोबाइल बिहान बज्ने गर्थ्यो। मोबाइलको घन्टी सुनेपछि उहाँलाई पनि लाग्याथ्यो, लौ आज कुन दुःखको कुरा सुन्नुपर्ने होला! तर यसपालि उहाँको मोबाइल कुनै दुःखको कुरा नभएर सुखको कुरा सुनाउन बजेको रहेछ।

उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'

मोबाइलमा उहाँले हेलो भन्न पाउनुभएको थिएन, उताबाट पुरानो ठेकेदार साबको स्वर सुनियो, 'लौ झलकदाइ बधाई छ है बधाई! मुटुदेखि नै बधाई!'

अचानक पाएको बधाईले विश्लेषक झलक सुवेदी झस्किनुभयो। आजभोलि बधाई पाइने कुनै काम गरेको त थिइन, तैपनि कहाँबाट आएछ यो बधाई? त्यो पनि नामै बिर्सिसकेको पुरानो ठेकेदारबाट। कुनै बेला झलक सुवेदीको मामाको घर बनाउँदा यही ठेकेदारले काम गरेको थियो। आज कहाँबाट सम्भि्कएछ यसले?

'केको बधाई हो ठेकेदार सा'ब? मैले त कुरो बुझिनँ नि,' सुवेदीले रनभुल्ल परेर सोध्नुभयो।

'लौ आजको पत्रिका हेर्नुभएन?' ठेकेदार साबले सम्झाए, 'हजुरलाई त सुप्रसिद्ध राष्ट्रदीप प्रज्ज्वल प्रथम भन्ने मानपद्वी दिएको रहेछ नि। पत्रिकामा पढेर धेरै खुसी लाग्यो। त्यही भएर हतरपतर मामासँग फोन नम्बर मागेर कल गरिहालेको। बधाई छ है!'

पदवीको नाम सुनेर सुवेदी झनै छक्क पर्नुभयो। सोध्नुभयो, 'के पदवी रे ठेकेदार साब?'

ठेकेदारले भने, 'उही पहिले–पहिले गोरखा दक्षिणबाहु भन्ने गर्थ्यो नि, त्यस्तै पदवी हो रे नयाँ आएको। पदवी जेसुकै होस् न, तपाईंलाई दिएकोमा चाहिँ धेरै खुसी लाग्यो।'

सुवेदीजी सोच्न थाल्नुभयो, मलाई यो पदवीबारे कुनै खबर छैन। कसरी दिएछ पदवी? उहाँले शंकालु स्वरमा जवाफ दिनुभयो, 'त्यो झलक सुवेदी अर्कै होला ठेकेदार साब। मलाई त त्यस्तो पदवीबारे कुनै खबर पनि आएको छैन।'

'हे हे हे' ठेकेदार साब हाँस्नुभयो, 'खबर त पत्रिकामा आई नै सक्यो नि। अरु के खबर चाहियो तपाईंलाई? ल बधाई, बधाई!'

ठेकेदार साबले बधाई दिएको दियै गर्न थालेपछि झलक सुवेदी पनि दिक्क हुनुभयो। के भन्ने अब? 'लौ ठीकै छ त अब ठेकेदार साबले एकाबिहानै दिनुभएको बधाई पनि ग्रहण गरेँ। तर पनि म एकचोटि...।'

'यो तर र फरको कुरै नगर्नुस्, दिइसकेको पदवी खुरुक्क थापिहाल्नुस्, कुरै सकियो,' ठेकेदार साबले बोल्नै दिएन, 'बरु दाइसँग एउटा कुरा गरिहालुँ भनेर पनि फोन गरेको।'

'के कुरा?' सुवेदीका कान ठाडा भए।

'हे हे हे' म त अब ठेकेदार काम गर्ने मान्छे परेँ, कुरो ठेकेदारीकै हो। यसमा तपाईंको एउटा सानो सहयोग मिल्यो भने मेरो ठूलै काम बन्नेवाला छ। त्यही भएर।'

झलक सुवेदी पुनः झस्किनुभयो, 'ठेकेदारीको कामका म के सहयोग गर्न सक्छु र ठेकेदार साब! ठेकेदारीसँग त मेरा टाढा–टाढासम्म पनि कुनै साइनो छैन।'

ठेकेदार साबले भने, 'ठेकेदारीसँग साइनो नभए पनि प्रधानमन्त्रीसँग त तपाईंको राम्रै साइनो रहेछ नि। त्यो भए पुगिहाल्यो नि। अस्ति भर्खर प्रधानमन्त्रीज्यूले फास्ट ट्र्याकको शिलान्यास गर्नुभयो नि। ह˜˜ त्यो फास्ट ट्र्याकका लागि चाहिने रोडाको ठेक्का मलाई मिलाइदिनुपर्‍यो क्या! तपाईंले प्रधानमन्त्रीलाई यसो कुरो मात्रै उठाइदिए पनि पुग्छ। बाँकी म मिलाउँछु।'

अहिले भने झलक सुवेदी झस्किनुभएन। उहाँको पूरै जिउ काँप्यो। उहाँले काँपेको स्वरमा भन्नुभयो, 'हैन ठेकेदार साब, तपाईं यो के कुरा गर्दै हुनुहुन्छ हँ? कहाँ प्रधानमन्त्री, कहाँ म। न चिन्नु, न जान्नु। मेरो के पहुँच छ र प्रधानमन्त्रीसँग यस्तो कुरा गर्न जानलाई?'

'हे हे हे ठट्टा नगर्नुस् न दाइ तपाईं पनि,' ठेकेदारको मुड भने पहिलेजस्तो थियो अहिले पनि त्यस्तै छ, 'तपाईंको पहुँच कहाँसम्म छ भन्ने त त्यसै थाहा भइहाल्यो नि। प्रधानमन्त्रीसँग तपाईंको पारिवारिक सम्बन्ध लुकाएर लुक्छ? अरुलाई लुकाए पनि मलाई लुकाउनुपर्दैन दाइ।'

'पारिवारिक सम्बन्ध रे?' झलक सुवेदीको सातो उड्यो,  'प्रधानमन्त्रीसँग मेरो के पारिवारिक सम्बन्ध छ र ठेकेदार साब? यो त तपाईंले अनौठो कुरा गर्नुभयो।'

'सम्बन्ध छैन र? उसो भए राष्ट्रपतिसँग पारिवारिक सम्बन्ध छ होला। हैन त?'

'ए बाबा, तपाईं के कुरा गर्दै हुनुहुन्छ ठेकेदार साब। राष्ट्रपतिसँग मेरो कसरी पारिवारिक सम्बन्ध हुन्छ र भन्या? यस्तो वाहियात कुरा नगर्नुस् त तपाईं।' अहिले भने झलक सुवेदीको पारो चढ्न थालेछ।

'वाहियात कुरा त म होइन तपाईं पो गर्दै हुनुहुन्छ झलकदाइ,' ठेकेदार साबको पनि स्वरमा थोरै गर्मी चढ्न थाल्यो, 'भएको सम्बन्धलाई किन लुकाउनुहुन्छ तपाईं? बरु मेरो ठेकेदारीमा सहयोग गर्नुहुन्न भने सीधै गर्दिन भन्नुस् न। सम्बन्धको कुरा किन लुकाउनुहुन्छ?'

'ए बाबा हुँदै नभएको सम्बन्धलाई मैले किन लुकाउनु?'

'तपाईंले सम्बन्ध छैन भन्दैमा म पत्याउँछु? सम्बन्ध छैन भने तपाईंलाई त्यो यत्रो मानपदवी किन दिइयो त? पारिवारिक सम्बन्ध नभए दिइन्थ्यो? अरुसँग कुरा लुकाए पनि मसँग नलुकाउनुस् न दाइ। मलाई पनि थाहा हुन्छ के अलिअलि भित्री कुरा। मैले त्यही सम्बन्धका कारण अलिकति कुरा चलाउँ पो भनेको त। बरु लिनुस् न तपाईं पनि फाइभ पर्सेन्ट। किन सम्बन्धै छैन भनेर झुटो बोल्नुहुन्छ तपाईं? तपाईंजस्तो विद्वान् मान्छेले यसरी झुटो बोल्न मिल्छ?'

अब भने झलक सुवेदीजीले आफ्नो टाउको समाउनुभयो। हरे शिव! के भइरहेछ यो? कस्तो चाहिँ मानपदवीमा नाम निस्केछ आफ्नो? त्यो निस्केको नाम आफ्नो होइन, यो कुनै अरु नै झलक सुवेदी हुनुपर्छ। उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'

प्रकाशित: २० जेष्ठ २०७४ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App