६ वैशाख २०८१ बिहीबार
विचार

नागरिकसँग नागरिक

‘नागरिकसँग नागरिक’ अन्तरक्रिया कार्यक्रममा नेपालगन्जका विभिन्न क्षेत्रका सरोकारवालाले राखेका धारणाको सम्पादित अंश :

किरण कोइराला
सभापति, नेपाली कांग्रेस
नेपालगन्जको विकासमा अबेला भयो । अब भने विकासका काम हुनुपर्छ । लामो समयसम्म राजनीतिक स्थिरता भएन । अब विकास गर्ने अवसर आएको छ । जो विजयी भएर आए पनि विकासका काम हुनुपर्छ ।

विजय गुप्ता
पूर्वनगर प्रमुख
विकासका लागि राजनीतिक इच्छाशक्ति नै भएन । एउटा उदाहरण, कम गुणस्तरको सडक बनिरहेको छ तर त्यसप्रति आवाज उठाउने कोही छैनन् । यहाँका नागरिक समुदाय सामाजिक मुद्दामा मौैन छन् । विकास जनजीविकासँग जोडिएको कुरा हो । जनसहभागिताको योजना चाहिएको छ । जबसम्म जनताको साथ लिइँदैन, तबसम्म वास्तविक विकास हँुदैन ।

डा. धवलशमशेर राणा
मेयर उम्मेदवार(राप्रपा)
पार्टीभन्दा माथि उठेर चुनाव लड्नुपर्छ । जो व्यक्ति आए पनि विकास गर्ने हो । उपमहानगरपालिकाभित्र हुने संस्थागत भ्रष्टाचार रोकिने हो भने विकासले गति पाउँछ । सबै मिलेर संस्थागत भ्रष्टाचार रोक्नुपर्छ । सुशासन कायम गर्नुप¥यो ।

डा. सुरेश कनोडिया
मेयर आकांक्षी (नेपाली कांग्रेस)
जनतामा ठूलो उत्साह छ, आशा पनि त्यत्तिकै छ । नेपालगन्जको अपेक्षाकृत विकास हुन सकेको छैन । राज्यले नै नेपालगन्जलाई पछाडि पारेको हो । विकासका लागि इमान्दारिता हुनुप¥यो । नेपालगन्जमा विकासको अपार सम्भावना छ, अब त्यो पूरा गर्नुपर्छ ।

रत्न खत्री
सचिव, नेकपा एमाले
समग्र बाँके जिल्लालाई बुझ्न नसक्दा हामी विकासबाट वञ्चित भएका छौं । विकास भनेको बाटोघाटो मात्रै हो भन्ने ठानियो । राज्यले बाँकेलाई कृषिको ऊर्वर भूमि भनिरहेको छ । तर कृषिमा युवालाई संलग्न गराइएको छैन । सबैको इच्छाशक्ति भए बाँकेलाई स्वास्थ्य, शिक्षा र जडीबुटीको हब बनाउन सकिन्छ ।
 
समसुद्धिन सिद्धिकी
मेयर उम्मेदवार (एमाले)
उपमहानगरपालिका बनेपछि नेपालगन्जको समस्या थपिए । नेपालगन्जको इतिहास नबुझीकन यहाँको मुद्दा पनि बुझ्न सकिन्न । त्यसैले वर्षौंपछि आएको विकासको अवसरलाई सदुपयोग गर्नुको विकल्प छैन ।

दामोदर आचार्य
मेयर उम्मेदवार (माओवादी केन्द्र)
यहाँको आर्थिक अजेन्डा पर्यटन र औद्योगिक नगरी हो । यहाँका युवालाई रोजगारी उपलब्ध गराउन पर्यटकीय बेसक्याम्प बनाउनुपर्छ । 

कृष्णराज पाण्डे
मेयर उम्मेदवार(राष्ट्रिय जनमोर्चा)
संस्थागत भ्रष्टाचार नेपालगन्जको प्रमुख समस्या हो । नेपालगन्ज साह्रै दूषित छ । फोहोरमुक्त सहर बनाउनु प्रमुख काम हो । उपमहानगरपालिकाको संस्थागत भ्रष्टाचार रोकिने हो भने आन्तरिक आम्दानी ह्वात्तै बढ्छ ।
 
मिस बाहुल हक अन्सारी
उपमेयर उम्मेदवार (लोकतान्त्रिक फोरम)
नेपालगन्ज नाममात्रको उपमहानगरपालिका बनेको छ । नयाँ वडाका स्थिति नाजुक छ । बर्खा लागेपछि एउटा वडाबाट अर्को वडासम्म जान गाह्रो हुन्छ । ती समस्या समाधान हुनुपर्छ ।

चन्द्रकला उप्रेती
द्वन्द्वपीडित
समाज महिला हिंसाले जगडिएको छ । प्रहरीले केस दर्ता गर्नै मान्दैन । द्वन्द्वपीडितका समस्या उस्तै छन् । सरकारले बनाएको आयोगले काम नगर्दा पीडित परिवार निराश छन् । निर्वाचनपछि आउने प्रतिनिधिले सबैका समस्या समाधान गरुन् ।
 
कृष्णप्रसाद श्रेष्ठ
केन्द्रीय सदस्य, उद्योग वाणिज्य महासंघ
बाँकेको विकासका लागि हामीले विगतमा धेरै अवसर गुमायौं । विकासमा राजनीतिक दलको प्रतिबद्धता हुनुप¥यो । राजनीतिक दलले खेल्ने भूमिका उद्योग वाणिज्य संघले खेलेको छ । 

नन्दलाल वैश्य
अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा डुबान समस्या छ । आगो निभाउन एउटामात्र दमकल छ । सडकको विकास हुन सकेको छैन । पर्यटनको विकास छैन । व्यवस्थित पार्किङस्थलको अभाव छ ।

रेवती सिंह
उद्यमी
बाँके धेरै सम्भावना बोकेको जिल्ला हो । तर यहाँ विभिन्न समस्या छन् । सरसफाइको समस्या छ । आज सरसफाइ गर्याे, भोलि फोहोर भइहाल्छ । बर्खा लाग्यो भने दुई महिना जति सास्ती खेप्नुपर्छ । घुम्ती शौचालयको व्यवस्था छैन ।

मुस्तफा अहसन कुरैसी
उर्दु साहित्यकार
नेपालगन्ज पुरानो र ऐतिहासिक सहर हो । यो सहर समस्याहरूबाट गुज्रिएको छ । हरेक क्षेत्रमा समस्या देखिन्छन् । 

शरद पौडेल
अधिकृत, जिल्ला समन्वय समिति
बाँकेमा सरसफाइको कमी छ । सडक र विद्युत् विकासका आधार हुन् । विद्युत् नभएको ठाउँमा उज्यालो कार्यक्रम चलाएका छौं । विकासका लागि पाँच वर्षे आवधिक योजना निर्माण गरेका छौं । यसले आउने जनप्रतिनिधिलाई मार्गदर्शन हुनेछ । विपत् योजना निर्माण गरेका छौं । पर्यटन विकासका लागि पाँच वर्षे रणनीति बनेको छ ।

विश्वजीत तिवारी
कानुन व्यवसायी
विकास निर्माणमा खर्च हुने बजेट पारदर्शी छैन । राज्यले जनतालाई सूचनाबाट वञ्चित गरिरहेको छ । सेवाप्रदायक निकायविरुद्ध अदालतले गरेको आदेशको पालना नै हँुदैन ।

साहिदा साह
अधिकारकर्मी
हरेक निकायमा राजनीतिक दलका कार्यकर्ताको दादागिरी छ । अबको चुनावपछि यो समस्या समाधान होस् । शिक्षाको गुणस्तर घट्दै गएको छ । अञ्चल अस्पतालको सामाजिक सेवा एकाइमा गरिब जनताको पहुँच छैन । बाँकेमा बहुविवाह, तलाक समस्या छ ।

पोषण केसी
पूर्वमहासचिव, पत्रकार महासंघ
विकासमा राजनीतिक दल गैरजिम्मेवार बने । मिडियाले उठाएको विषयलाई राजनीतिक दलले गम्भीरपूर्वक लिएनन् । मिडियाले त मुद्दा उठाइदिनेमात्रै हो । बनेको सडक भत्कन लाग्दा पनि राजनीतिक दल बोल्न सक्दैनन् । विकास निर्माणमा राजनीतिक दलको इच्छाशक्ति देखिएन ।

हेमन्त कर्माचार्य
पत्रकार
नेपालगन्ज यस्तो बजार हो, जो बिनायोजना बनेको छ । ढल, सडक, घर योजनाबिना निर्माण भएका छन् । विकासमा विषयमा नागरिकले आवाज उठाउन सक्दैनन् । यहाँका नागरिक सुतेका छन् । चोट पुगेको बेलामात्र दुखाई महसुस गर्ने प्रवृत्ति छ । सरसफाइले अहिलेसम्म सार्थकता पाउन सकेको छैन ।
 
तुला अधिकारी
पत्रकार
नेपाली पत्रकारिता घटनामा मात्रै केन्द्रित भयो । मुद्दाकेन्द्रित समाचार सामग्री आउनुपर्याे । नेपालगन्जले हरेक सम्भावना बोकेको छ । यी सम्भावनालाई एक सूत्रमा बाँध्न मिडियाले समन्वयकारी भूमिका खेल्नुपर्छ ।

प्रस्तुति : अर्जुन ओली 

 

प्रकाशित: २१ जेष्ठ २०७४ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App