८ वैशाख २०८१ शनिबार
अर्थ

दुनै सडकले जोडिन अब साढे आठ किलोमिटर बाँकी

काठमाडौं- कर्णाली अञ्चलको डोल्पा सडकको राष्ट्रिय सञ्जालमा जोडिन अब आठ किलोमिटर मात्र बाँकी रहेको छ। केही दिनअघि नेपाली सेनाले डोल्पाको बालात्रिपुराकोट नगरपालिकाको खदाङसम्म सडक निर्माणको काम सम्पन्न गरेपछि दुनैसम्मको निर्माण कार्य अब साढे आठ किलोमिटरमा छोटिएको हो।

हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएका कर्णालीका डोल्पा र हुम्लामा आगामी आर्थिक वर्षभित्र सडक विस्तार गरिसक्ने सरकारले लक्ष्य लिएको छ। अबको एक वर्ष भित्र दुई जिल्लालाई सडक सञ्जालमा जोड्न सरकारले ३० करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ। सेनाले भने जाजरकोट–डोल्पा सडक खण्ड सरकारले लिएको लक्ष्य भन्दा अघि नै सक्ने गरी काम गरिरहेको छ। '२०७५ वैशाखभित्रडोल्पा सदरमुकाम दुनैलाई जसरी पनि सडकको राष्ट्रिय सञ्जालमा जोड्ने गरी निर्माण कार्य जारी राखेका छौं,' उक्त सडक खण्डको नेतृत्व गरेका कार्यदलका संयोजक तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले भने, 'जनताको वर्षौदेखिको मोटर चढ्ने आशा जतिसक्दो छिटो पूरा गर्ने प्रयासमा छौं।'

नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक खण्डको एक सय १७किलोमिटरमध्ये अब साढे आठ किलोमिटर बाँकी रहेपछि डोल्पाबासी निकै हर्षित हुन थालेका छन्। सरकारले सडक सञ्जाल विस्तार नभइकन डोल्पामा दुई नगरपालिका घोषणा गरेकाले सेनालाई काममा तीव्रता दिन थप दबाब परिरहेको थियो। 'स्थानीय तहको निर्वाचनसम्म बालात्रिपुराकोट नगरपालिकालाई सडक सञ्जालमा जोड्ने  ६ महिना अघि नै घोषणा गरेको थियौं,' पहाडीले भने, 'डटेर निर्माण कार्यमा जुट्दा स्थानीय तहको निर्वाचन हुँदासम्म त्यो प्रतिबद्धता पूरा गरी बालात्रिपुराकोटको सीमाना खडाङसम्म सडक निर्माण गर्न सक्यौं।'डोल्पामा अर्को भेरी नगरपालिका पनि छ। जुन सदरमुकाभित्र पर्छ।

ठूला ठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योलता कायम रहेको बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याएपछि वर्षौदेखिको आशा पूरा हुन लागेको भन्दै स्थानीय हर्षित भइरहेका छन्।

'डोल्पा सदरमुकाम दुनैसम्म मोटरबाटो पुर्‍याउने २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक पाँच सय केजी विस्फोटक पदार्थ खपत गरिरहेका छौं,' सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक निर्माण कार्यदलकाप्रमुख पहाडीले भने, 'यतिखेर सैनिक कार्यदलको ध्यान जतिसक्दो चाँडो डोल्पा सदरमुकाम दुनैसम्म सडक पुर्‍याउने छ।' आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको उनको भनाइ छ।

पहाडीले सडक निर्माण कार्यलाई अझै तीव्र पारिने बताए। आउँदो महिना डोल्पाको त्रिपुराकोटमा अर्को बेस क्याम्प थप गर्ने उनले जानकारी दिए। हाल सडक निर्माणका लागि छ वटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक पाँच सयदेखि सात सय श्रमिक काममा जुटिरहेका छन्। पहाडीका अनुसार सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यस अघि नै उक्त सडकको निर्माण कार्य समाप्त भइसक्ने थियो। यो सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा बस्ने सर्वसाधारण पनि लाभावन्ति हुनेछन्।

यतिखेर सेनाले दुनैतर्फको त्रिवेणी–खदाङ खण्डमा निर्माण कार्यलाई केन्द्रित गरेको छ। जिरो प्वाइन्ट (जाजरकोटको पासागढ) देखि रुकुमको अन्तिम सीमानासम्मकोसडक निर्माण सकिएपछि गत साउन २३ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त्यस खण्डको उदघाट्न गरेका थिए । उक्त सडक खण्डमध्ये साढे ३०किलोमिरट रुकुम र ४६.७ किलोमिटर जाजरकोटमा पर्छ। डोल्पामा पर्ने साढे ३१ किलोमिटरमध्ये अब साढे आठ किलोमिटर मात्र सडक निर्माण गर्न बाँकी छ।

पहाडीलाई प्रबल जनसेवाश्री

दुर्गम क्षेत्रमा बसेर निरन्तर सडक निर्माणका खटिएबापत सरकारले जाजरकोट–डोल्पा सडक खण्डका प्रमुख तथा प्रमुख सेनानी पहाडीलाई प्रबल जनसेवाश्री पदकले सम्मान गरेको छ। जेठ १२ गते उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पदक लिए। पहाडी विगत १२ वर्षदेखि रुकुम, सल्यान, जाजरकोट र डोल्पाको सडक निर्माण कार्यमा खटिँदै आएका छन्। माओवादी सशस्त्र द्वन्द्वमा समेत उनी सडक निर्माणमै क्रियाशील थिए।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App