coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पार्क पुस्तकालयका अभियन्ता

जेठ १३ गते पेप्सिकोला टाउन प्लानिङस्थित कपुर गार्डेनमा पार्क पुस्तकालयको शिलान्यास हुँदा अभियन्ता नवराज आचार्य निकै खुसी देखिन्थे। खुसी नहुन् पनि किन? उनको सपना जो पूरा हुँदै थियो।

०००

नेपालमा पार्क पुस्तकालय निर्माण अभियानमा लागेका नवराजको पुस्तकसँगको नाता धेरै लामो छैन। सन् २०११ यता मात्रै उनको पुस्तकसँग प्रेम बसेको हो।

इजरायलमा घरेलु कामदारका रूपमा कार्यरत नवराजलाई अनलाइनमा पढेको एक समाचारले मन छोयो। सन् २०११ मा पर्वत, शालिग्रामकी अपांगता भएकी बालिका आशा तामाङ शुल्क तिर्न नसक्दा विद्यालयबाट निकालिएको समाचारले उनलाई केही दिन निकै छटपटी भयो। ती बालिकालाई कसरी सहयोग गर्नेबारे उनी दिनरात सोच्न थाले। केही दिनपछि उनको दिमागमा आइडिया फुर्‍यो– नेपालबाट साहित्यका किताब ल्याएर बेच्ने। ती किताब बेचेको आम्दानीबाट गरिब तथा असहाय बालबालिकालाई सहयोग गर्ने।

'नेपालमा अझै पनि सहज रूपमा पुस्तक पढ्न पाउने ठाउँ छैन। पठन संस्कृति बढाउन पुस्तकालय निर्माण थालेको हुँ।'

त्यसपछि उनी नेपालबाट किताब मगाएर विदेशमा रहेका नेपालीलाई बेच्न थालेका हुन्। ‘यो कामले फुर्सदको समय सदुपयोग मात्र होइन, सामाजिक कार्यमा लगानी गर्न सके,' उनले भने। यसबाट विदेशमा रहेका नेपाली पाठकलाई सहज भएको उनी बताउँछन्। सुरुमा उनी छुट्टीको दिन पार्कमा किताब बेच्थे। अहिले भने उनी सामाजिक सञ्जालमार्फत किताब बेच्ने गरेका छन्।

‘पछिल्लो समय सामाजिक सञ्जालमै पुस्तकको माग आउँछ,’ नेपाल आएका बेला नवराजले सुनाए, ‘तर, माग अनुसारको पुस्तक दिन सकिएको छैन। अहिले त नचिनेका पनि खोज्दै किताब किन्न आउँछन्।' साहित्यिकसँगै सकारात्मक सन्देश दिने खालका किताब बिक्री गर्ने गरेको उनी बताउँछन्।

उनले पहिलो पटक 'खान पुगोस् दिन पुगोस्' किताब बेचेका थिए। उनी विदेश आउने नेपालीसँग अनुरोध गरेर किताब मगाउँछन्। अहिलेसम्म झण्डै तीन हजार पुस्तक बेचेका उनले नाफा रकम सामाजिक कार्यमा खर्चिएका छन्।

उनले ग्राहकबाट किताबको मूल्य भन्दा थोरै बढी रकम लिने गरेका छन्। नाफाको रकम उनी सामाजिक कार्यमा खर्चिन्छन्। अहिलेसम्म डेढ दर्जन भन्दा बढी सामाजिक संस्थालाई सहयोग गरेको उनी बताउँछन् । ‘भूकम्पबेला धेरै सामाजिक संघसंस्था तथा व्यक्ति मार्फत सहयोग गरेँ,’ उनले भने, ‘भूकम्पले क्षती पुराएको गोरखामा एक र ओखलढुंगामा एक गरी दुई वटा अस्थायी विद्यालय पनि बनाएँ।’

उनको अभियानमा कयांैले सहयोग गरेका छन्। अहिलेसम्म करिब ८५–९० लाख रूपैयाँ सहयोग पाएको उनी बताउँछन्। सहयोगीमध्ये अधिकांश सामाजिक सञ्जालमा भेट भएको साथीहरु रहेको उनले बताए। 'साथीहरुको सहयोग र पुस्तकबाट आएको नाफा गरेर अहिलेसम्म एक करोड भन्दा बढी रकम सामाजिक क्षेत्रमा खर्चिएको छु,' उनले भने।

उनले ‘मेरो प्रयास र सहयोग गतिविधि’ नामक क्लोज फेसबुक ग्रुप बनाएका छन्। सामाजिक अभियानका क्रियाकलाप उनी यही गु्रपमा पोस्ट गर्छन् र, आय–व्यय सार्वजनिक पनि। यसैले त उनले गरेको कार्यमा विश्वास बढ्दै गएको छ। उनको अभियानमा सहयोगी हातहरु थपिदै गएका छन्। सहयोगी हातको मात्रै भर नपरेर अभियानमा रकम अपुग भए आफै बेहोर्ने गरेको उनले सुनाए।

०००

इजरायलमा किताब बेचेर सामाजिक अभियानमा लागेका नवराजलाई नेपालमा केही सम्भि्कन लायक सामाजिक काम गर्ने इच्छा जाग्यो। यसैको उपज स्वरुप पार्क पुस्तकालयको अवधारणमा नवराजले अगाडि बढाएको बताए। 'नेपालमा अझै पनि सहज रूपमा पुस्तक पढ्न पाउने ठाउँ छैन,' पार्क पुस्तकालय निर्माण योजनाबारे उनले सुनाए, 'पठन संस्कृति बढाउन पुस्तकालय निर्माण थालेको हुँ।' पुस्तकालय नहुँदा पढ्न चाहनेले पनि नपाएको उनको बुझाइ छ।

पुस्तकालय निर्माण समिति अध्यक्ष बिकु लामा पठन संस्कृति बढाउनसँगै व्यवस्थित बस्तीका लागि पार्क पुस्तकालय आवश्यक रहेको बताउँछन्। 'पुस्तकालय बनेपछि पठन संस्कृति बढ्नेछ,' उनले भने, ‘पढन संस्कृती बढ्नु भनेको समाज परिपक्कतामा लम्कनु हो।’

काठमाडौं, पेप्सीकोला घर भएका नवराजको अभियानमा टोलवासीको पनि साथ छ। उनीहरूको संयुक्त प्रयासबाट पार्क पुस्तकालय निर्माण सुरु भएको हो। पुस्तकालय निर्माणमा करिब ५० लाख लाग्ने अनुमान गरिएको छ।

दुई वर्षमा पुस्तकालय निर्माण सक्ने उनको योजना छ। तोकिएको समयमै निर्माण पूरा गर्न उनी रकम जुटाउन तल्लिन छन्। पुस्तकालय निर्माण भए पठन संस्कृति बढाउने उनको विश्वास छ।

खोटाङ, दिप्लुङमा २०३४ सालमा जन्मिएका नवराजको बाल्यकाल दुःखमै बित्यो। कोदोसँग जिन्स पाइन्ट साटेर लगाएको याद उनीसँग ताजै छ। रोजगारीका लागि इजरायल पुगेपछि भने उनको आर्थिक स्थिति सुधि्रँदै गयो।

‘अरुलाई प्रेरणा मिलोस् र पछिसम्म सम्भि्कने काम गर्न सकियोस् भनेर यो काम थालेको हुँ,' नवराजले पुस्तकालय निर्माण तथा सामाजिक कार्यमा लाग्नुको योजना सुनाए।  

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App