८ वैशाख २०८१ शनिबार
अर्थ

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

काठमाडौं- नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्यमध्ये एक कतार छिमेकी मुलुकबाट एक्लो पारिएपछि त्यसको असर नेपालमा समेत पर्ने देखिएको  छ। अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स वृद्धिदर घटेको बेला कतारमा समस्या भएपछि नेपालको अर्थतन्त्र झनै प्रभावित हुने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।

पछिल्ला वर्ष इन्धन बिक्री गरेर राम्रो आर्थिक प्रगति गरेको कतारलाई सोमबार छिमेकी मुलुकले एक्लो बनाउँदै वर्तमान सम्बन्ध तोड्ने निर्णय गरेका थिए। सरसर्ती हेर्दा कतारमा देखिएको संकट आन्तरिकजस्तो देखिए पनि त्यसले नेपालसम्म दीर्घकालीन असर पार्ने अर्थशास्त्री बताउँछन्। वैदेशिक रोजगार विभागमा लामो समय निर्देशकको रूपमा काम गरी सेवानिवृत्त भएका मधुविलास पण्डित कतार समस्या लम्बियो भने त्यसको असर नेपालसम्म पर्ने बताउँछन्। 'एकाएक देखिएको समस्या केही दिनमै समाधान भयो भने खासै असर नपर्ला,' उनले भने, 'समस्या लम्बियो भने नेपाल पनि अछुतो रहन सक्दैन।'

पछिल्लो समयमा मलेसिया र साउदीमा देखा परेका विभिन्न आर्थिक समस्यापछि ठूलो संख्यामा नेपाली युवा कतार जाने क्रम बढेको थियो। सन् २०२२ मा कतारले आयोजना गर्ने विश्व कप फुटबल प्रतियोगिताका लागि तयार गनर्ुुपर्ने भौतिक पूर्वाधारले थुप्रै रोजगारी सिर्जना गरेपछि कतार झनै आकर्षक गन्तव्यको रूपमा विकास भइरहेको थियो।

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्। कामदारको सेवा, सुविधामा सहजता होस् भनेर नेपालसँग श्रम सम्झौता गरेका कारण पनि कतार नेपाली युवाको रोजाइमा पर्दै आएको छ। साउदी अरबसँग नेपालले लामो समयदेखि श्रम सम्झौताको प्रयास गरे पनि साउदीले विभिन्न कारण देखाउँदा श्रम सम्झौता हुन नसकेको श्रम तथा रोजगार मन्त्रालयका अधिकारी बताउँछन्।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म कतार जान साढे १० लाख नेपालीले श्रम स्वीकृति लिएका छन्। यतिखेर कम्तीमा चार लाख नेपाली कतारमा रहेको अनुमान छ। विभागले वैदेशिक रोजगारीमा जाने कामदारको मात्रै विवरण राख्ने तर फर्कनेको  विवरण राख्ने गरेको छैन।

म्याननपावर व्यवसायी नारायण पराजुली छिमेकी मुलुकबाट एक्लो पारिएपछि कतारमा पहिलो संकट कामदारले तिर्नुपर्ने हवाई भाडामा वृद्धि हुने बताउँछन्। 'कतार जाने थुप्रै हवाई कम्पनीले उडान नगर्ने भएपछि तुरुन्तै भाडा वृद्धि हुने देखिन्छ,' उनले भने, 'कामदारको हकमा भने कस्तो समस्या पर्छ भनेर अहिले नै केही अनुमान गर्न सकिएको छैन।' कतारका रोजगारदाताले  कामदार पठाउने क्रम जारी राख्न आग्रह गरेको उनले बताए। कतारका रोजगारदाताको भनाइ उद्धृत गर्दै उनले छिमेकी मुलुकसँगको सम्बन्धविच्छेदले कतारलाई खाद्यान्न आपूर्तिमा कुनै समस्या पार्ने छैन। कतारका अधिकारीले खाद्यान्न आपूर्तिमा समस्या नहुने दाबी गरे पनि खाद्यान्न आपूर्ति गर्न साउदीको मार्ग प्रयोग गर्नुपर्ने भएकाले समस्या हुन सक्ने धेरैको अनुमान छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ को नौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स बढेको देखिए पनि दुई वर्षअघिको वृद्धिसँग तुलना गर्दा यो वर्ष रेमिट्यान्स घटेको छ। पछिल्लो नौ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स थोरैले बढी देखिए पनि वृद्धिदर भने उत्साहपूर्वक हुन नसकेको विभागले जनायो । आर्थिक वर्ष २०७१/७२ को नौ महिनामा चार अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५० करोड रुपैयाँ वैदेशिक रोजगारीमा रहेका व्यक्तिले पठाएका छन्।

आर्थिक वर्ष २०७१/७२ मा १३ दशमलव ६१ प्रतिशतको रेमिट्यान्स वृद्धिदर आर्थिक वर्ष २०७२/७३ मा ७ दशमलव ७ प्रतिशतमा खुम्चिएको थियो। चालू आर्थिक वर्षको आठ महिनामा चार खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ, जुन वृद्धिदर ५ दशमलव ३  प्रतिशतमात्र हो। हाल नेपालले प्राप्त गर्ने रेमिट्यान्समा कतारको मात्रै ७ देखि १० प्रतिशत योगदान रहेको विज्ञको भनाइ छ।

वैदेशिक रोजगारीमा जाने युवामध्ये करिब ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेका छन्। हालसम्मको तथ्यांक हेर्दा नेपाली युवाकेा कतार दोस्रो ठूलो गन्तव्यका रूपमा रहेको छ। मलेसिया जाने कामदारको संख्या कतारको भन्दा थोरैले मात्र बढी छ। विभागका अनुसार हालसम्म करिब साढे १० लाख युवायुवती श्रम स्वीकृति लिएर कतारमा जाँदा मलेसिया जानेको संख्या १२ लाखजति छ। त्यस्तै अहिलेसम्म करिब साढे आठ लाख नेपाली रोजगारीका लागि साउदी पुगेका छन्।

विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गत पुसमा संस्थागतर्फ २७ हजार नौ सय ३३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा सबभन्दा बढी १० हजार ५८ जना कतारमा गएका छन्। मलेसिया र साउदी अरेबिया जानेको संख्या क्रमशः ६ हजार आठ सय ५९ र पाँच हजार चार सय ३३ रहेको विभागले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App