एक ‘रिटायर्ड सम्पादक’सँगको जम्काभेट

मङ्गलबार, २३ जेठ २०७४, १३ : १३ उजिर मगर


होचो कद। रंगाएको कालो जुँगा र लरक्क पारेको कपाल। सबैले– ‘योगेश दाइ अलिकति थप्नुस्’ भन्दै एक पेग पिउन उक्साइरहेका थिए। काठमाडौंमा प्रतिष्ठित मदिरा मानिने रेड लेबल प्लास्टिकको कपमा 'सर्भ' भइरहेको थियो। केएफसीका परिकार प्लास्टिककै प्लेटमा थिए। वरपर दुई-चार जना नेपालीसँग गफिँइरहँदा यी रातोजुँगे योगेश दाई कहिले घुरेर हेर्थे त कहिले मुसुक्कुराउँदै विगत सम्झेर टोलाउथेँ।

कार्यक्रम मे ५ र ६ तारिख २०१७ का दिन डिसीमा थियो। कार्यक्रम तयारी गरिरहेको हलमा ४ तारिख राती सवा ११ बजेतिर योगेश दाई अर्थात् योगेश उपाध्यायसँग भेट भएको थियो।

समयको फरक, झण्डै २२ घन्टाको हवाई यात्राको थकाईले चुर भइरहँदा अचानक योगेश दाइसँग मेरो भेट भएको थियो। त्यसपछि मेरो मन, मस्तिष्कमा खुशीको सञ्चार भएछ। योगेश दाइसँगको भेटले थकाई र अनिदो बिर्सिएँ। भेट्नासाथ गम्ल्याङ्ग अंगालो मारे। ‘तँ मोरा आइपुगिस्’, (हिहिहि..) योगेश दाइले गालामा छोटा औंलाले प्याट्ट हान्दै भने– ‘आरामै आइपुगिस् नि ? १० वर्षपछि भेट भयो तँसँग।’

‘अँ त्यो नारायण वाग्ले ४ महिनाअघि यतै आको थियो रे। एक महिना जति बस्यो भन्ने सुनेको थिएँ। तर, मलाई फोन पनि गरेन भेट्न पनि आएन। उसको असाध्यै माया लाग्छ । सोधेको छ भनेर खबर सुनाइदिनु’, पुराना सम्पादकले मलाई एउटा असाइनमेन्ट दिए।

२०४६ पछि नेपालमा विकास भयो भने मिडिया क्षेत्रकै हो भन्ने तथ्यका प्रत्यक्ष साँक्षी हुन योगेश दाई। दश वर्षअघि नेपाल छोडेदेखि उपाध्याय स्वदेश फर्किएका छैनन्। ‘दश वर्ष भयो यता आएको। अब, जाने हो नेपाल’, उनको नेपालप्रति माया छ।

नेपाली मिडिया क्षेत्रले कसरी ‘कर्पोरेट’ आकार लियो ? उनी सबै भन्दा बढी बुझ्दछन्। हेमराज ज्ञवालीको अध्यक्षतामा कान्तिपुर पव्लिकेशन्स्को उकालो यात्रा तय गर्दा बेलाका एक कुशल सम्पादकीय लिडर हुन्— उपाध्याय। कान्तिपुर स्थापना कालदेखि ७ वर्ष सम्पादक बनेका उपाध्यायबारे धेरै किस्सा छन्। उनीसँग प्रत्यक्ष भेट भएर उन ताकाको सन्दर्भ केलाउँदा थाहा भयो काठमाठौंका एक एक तत्व र व्यक्ति र तिनका प्रवृत्ति उनले अझै बिर्सिएका रहेनछन्। नेता, पत्रकार, व्यापारी, कर्मचारीका आनिबानी, कार्य क्षमताबारे फरर्र बताए।

‘फलानो यस्तो थियो। त्यो त्यस्तो थियो। अहिले के गरिराखेको छ ? उसको क्षमता भनेको त्यो थियो। अहिले के गरिखाएको छ’, थुप्रैको नाम लिंदै योगेश दाइ अपडेट हुन खोजे। ती व्यक्तिहरु बारे सक्दो जाने÷बुझे अनुसार योगेश दाइलाई अपडेट गराएँ।

‘न्यूजरुम कस्तो हुनुपर्छ तँलाई थाहा छ नि? मैले छोडेपछि तिमीहरुले कान्तिपुरमा काम गर्‍यौं। कम्तिमा एउटा व्यवासियक पत्रकारिताका लागि न्यूजरुम कस्तो हुनुपर्छ भन्ने नमूना हो त्यो’, उपाध्यायले कान्तिपुरको न्यूजरुमलाई स्मरण गर्दै भने। नेपाली सञ्चारमाध्यबारे जानकार नभएका त होइनन् उपाध्याय। उनले धेरै आफूभन्दा जुनियर र समकालीन बारे पनि सोधे।

‘किशोर के गर्दैछ ? एउटा किताब पनि लेखेको छ रे’, उनले सोधे– ‘नेपालमा थप मिडिया चल्ने सम्भावना छ?’ गफिँदै जाँदा उनले एउटा खबर सुनाइदिनु भने ।

‘के दाइ ?’

‘अँ त्यो नारायण वाग्ले ४ महिनाअघि यतै आको थियो रे। एक महिना जति बस्यो भन्ने सुनेको थिएँ। तर, मलाई फोन पनि गरेन भेट्न पनि आएन। उसको असाध्यै माया लाग्छ । सोधेको छ भनेर खबर सुनाइदिनु’, पुराना सम्पादकले मलाई एउटा असाइनमेन्ट दिए।

मे ५ र ६ तारिखमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)को एघारौं साधारणसभा थियो। जसको सल्लाहकारमा रहेर उनले अविभावकको भूमिका निर्वाह गरिरहेका छन्। ‘ओई आँखामा आँखा जुधाएर मन ठूलो गराएर कुरा गर मेरो भाइ। जिन्दगी यस्तै हो’, मलाई सम्झाउँदै भावुक देखिए योगेश दाई। आँखा पिलपिल पार्दै एक्कासि भक्कानिए उनी। ‘मैले के सोचेँको थिएँ तर मेरो छोरा....’ योगेश दाइले एकाएक पुत्र वियोगको कुरा सम्झिएका रहेछन्। टेबुल वरपर बसेका हामी मुखामुख हेरी मात्र रह्यौं। वातावरणमा पुरै सन्नाटा छायो।

कोही नबोलेपछि मैले नै स्थितिलाई सहज पार्ने प्रयास गरेँ। केही छिनअघि उनैले सिकाएको शैलीमा योगेश दाइतिर आँखा जुधाएँ– ‘दाइ जिन्दगी यस्तै हो। तपाईंको पीडा थाहा छ। तपाईंका छोरा सरह हामी छौं नि। तपाईंले नै बनाएको न्यूजरुममा काम गरेर यहाँसम्म आइपुगेका।’ उपाध्याय एक्कासि फ्यास्स हाँसे। ‘यो मोराले मान्छे फकाउन त जानेको छ’, हाँसोमा फर्किदैं उपाध्यायले फेरि प्लास्टिकको गिलासमा रेडलबल थपे।
नेपालमा छँदा एउटा ब्रोडसिट दैनिकको उम्दा सम्पादक योगेश दाइको दैनिकी अमेरिकामा व्यस्त रहेछ। पुत्र वियागले उनको जीवनलाई नराम्रोसँग हल्लाएको थाहा भयो।

योगेश दाईसँग गफिनु मलाई केही अप्ठ्यारो कुरा होइन। मैले अझ प्रस्ट हुन सोधेँ, ‘दाइ गुजरा कसरी चलेको छ त ?’ ‘यहाँ काम नगरी खान पुक्दैन। यसो ट्रान्सलेशनहरुको काम गर्छु। त्यसैले जीवन चलिरहेको छ। अब, नेपाल आउने हो’, योगेश दाइ मन भित्रको कुरा सुनाए।

उनको गफ सुन्दा यस्तो लाग्यो कान्तिपुरका यी पूर्व सम्पादकलाई नेपाल फर्किने तीब्र चहाना छ। पत्रकारितामा रिटायर्ड भन्ने त हुँदैन। तर योगेश दाइ फेरि नेपाल आएर सम्पादक होलान् वा नहोलान्?









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मनसुनमा के खाने के नखाने ?

मनसुनमा के खाने के नखाने ?

सहरमा मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि...

भुटानबाट लखेटिँदा...

भुटानबाट लखेटिँदा...

बलराम पौडेलको पुख्र्यौंली घर इलामको साबिक माइमझुवा– १, याङ्मा (हालको सन्दकपुर गाउँपालिका) हो । दक्षिण भुटानको साम्ची जिल्लास्थित बाँडा ब्लक...

गायिका गुरुआमा

गायिका गुरुआमा

हान ४ बजेको ‘अलार्म’ बजेस“गै रञ्जना प्रधानको दैनिकी सुरु हुन्छ अचेल । योगाभ्यास, दैनिक पूजाआराधना र चियानास्ता सक्दा खाना पकाउने...

चर्चामा ‘कारखाना’

चर्चामा ‘कारखाना’

आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कारखाना’ अहिले चर्चामा छ । ‘मायाले बोलेको...’ बोलको यो चलचित्रको गीत युट्युबमा लाखौंले हेरिसकेका...