coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रतिभाको सहयोगार्थ मैत्रीपूर्ण खेल

काठमाडौं– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई सहयोग गर्न राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेलेको छ।

बन्द प्रशिक्षणमा भएका १७ खेलाडीले नेपाल नीलो र नेपाल रातो टिमबाट सोमबार नयाँ बसपार्कमा वेस्ट अफ फाइभमा खेले। राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङले नेतृत्व गरेको नीलोले रातोलाई ३–१ सेटले हरायो। रातोको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान बिनिता बुढाथोकीले गरेकी थिइन्।

महिला टोली साउन १३ र १४ मा भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणरत छ।

प्रतिभा पनि बन्द प्रशिक्षणमा छन् । साउन ६ मा हुने अवार्डको उक्त विधामाप्रतिभाले टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दिप लामिछाने, फुटबलका नवयुग श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। विजेताको टुंगो एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा हुने भएकाले प्रतिभाका लागि सम्बन्धित खेल संघले अभियान चलाइरहेको छ ।

आइतबार ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरले राष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण खेलमार्फत आर्थिक संकलन गरेको थियो । खेलबाट ३१ हजार रुपैयाँ संकलन गरिएको छ ।

उपकप्तान मञ्जुले मैत्रीपूर्ण खेलले ‘प्रतिभालाई जिताउँ’ अभियानमा थप सहयोग पुगेको बताइन् । उनले भनिन, ‘अवार्डको मनोनयनमा पर्नु भलिबलका लागि गर्वको कुरा हो । हामीले वर्षमा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मुस्किल छ । यस्तो अवस्थामा स्पोर्टस अवार्डमा भलिबल खेलाडी पर्नु हाम्रा लागि खुसीको कुरा हो ।’ मञ्जुले २०६५ सालमा सोही अवार्ड जितेकी थिइन् । भलिबलकै सिपोरा गुरुङ, रमिला तण्डुकार र सरस्वती चौधरीले पनि उक्त अवार्ड जितिसकेका छन्।

प्रतिभालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिले पनि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्रतिभाले पछिल्लो समय भलिबलमा प्राप्त गरेको सफलताको कारण आर्थिक सहयोग गरेको काठमाडौं जिल्ला खेकलुद विकास समितीका अध्यक्ष ध्रुवराज न्यौपानेले बताए । आइतबार न्यौपाने र कार्यालय प्रमुख लिलाराम बस्नेतले मालीलाई रकम प्रदान गरेको थिए ।

प्रकाशित: ४ श्रावण २०७३ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App