७ वैशाख २०८१ शुक्रबार
अन्य

आँटिली अञ्जु

–अनिल यादव

‘मैले तिमीलाई चाहेर पनि
तिम्रो साथ पाउन सकिनँ
जीवनभरि नै आँशु पिउँदा नि
तिम्लाई गुन लाउन सकिनँ’

बिछोडका पीडामाथि गायिका अञ्जु पन्तले धेरै गीत गाएकी छिन् । धेरै दर्शक/स्रोतालाई उनका गीतले छोएका छन् । धेरैले उनका गीतलाई आफूसँग दाँजेका छन् । संगीतकर्मीहरू भन्ने गर्छन्– ‘कतिपय बोलेर भन्न नसकिने कुरा संगीतका माध्यमबाट व्यक्त गर्न सकिन्छ ।’ अञ्जुका कतिपय गीत सुन्दा यस्तै लाग्छ ।

सात वर्ष भइसक्यो, उनी आफ्नो श्रीमान्सँग अलग्गिएर बसेको । बिहे गरेको १० वर्षपछि उनी गायक मनोज राजसँग अलग्गिएकी हुन् । अञ्जु र मनोजको सम्बन्ध विच्छेद हुँदा छोरी परितोषिका नौ वर्षकी थिइन् । अहिले उनी १५ वर्षकी भइसकिन् , १० कक्षामा पढ्दैछिन् ।

‘मेरा जिन्दगीमा दुःखका पहाड धेरै आए, सुनाउने हो भने त किताबै बन्छ । ती पहाडले मलाई बेस्सरी थिच्न खोजे, किच्न खोजे,  तैपनि मैले कहिल्यै हिम्मत हारिनँ, कहिल्यै लड्न छाडिनँ,’ अञ्जु भन्छिन् ।
सम्बन्ध विच्छेद हुँदा उनी बिरामी थिइन् । थुप्रै रोगव्यथाले उनलाई च्यापेको थियो । ‘खुट्टा भाँचिएर कोठामा थलिएकी थिएँ, गला सुकेर गाउनै गाह्रो हुन्थ्यो, आँखा र टाउको चौबीसै घण्टा दुखिरहन्थे, युरिनमा इन्फेक्सन थियो,’ उनी भन्छिन्, ‘मेरो अवस्था देखेर धेरैले ‘अञ्जुका दिन गए, अब ऊ बसी’ भन्थे । तर, म फेरि उठेँ, फेरि तंग्रिएँ ।’

अहिले अञ्जु देशविदेशका स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त हुन्छिन् । नेपाली संगीत क्षेत्रमा उनको बेग्लै पहिचान छ । ‘अहिले काम, नाम र दाम सबै छ मसँग, यो सफलता यसै हात लागेको होइन, दिनरात नभनी मेहनत गरेकी छु,’ उनी भन्छिन्, ‘पाइलैपिच्छे समस्याहरूसँग टकराव हुन्थ्यो, डटेर अघि बढेँ । मबारे नचाहिने गसिप बन्थे, नसुनेझैं गर्थें ।’

आमा पनि मै, बाउ पनि मै
अहिले अञ्जु एक्लै छोरी हुर्काइरहेकी छिन् । ‘छोरीलाई बुबाको अभाव हुन दिएकी छैन, उसका लागि आमा पनि मै, बाउ पनि मै भएकी छु,’ उनी भन्छिन्, ‘उनलाई खुशी र सुखी राख्न कुनै कसर बाँकी राखेकी छैन र राख्ने पनि छैन ।’
उनको संसारै छोरी हुन् । भन्छिन्, ‘स्कुुल जाँदा कपी छुट्यो भने म जति टाढा भए पनि आफैं पुर्याउन जान्छु । स्कुलको बस छुट्यो भने पनि म आफैँ छोड्न जान्छु । उसलाई कतै ठेस लाग्ला कि ? उसको मन दुख्ला कि ? हरदम यही सोच्छु । छोरी मेरा लागि सबथोक हो ।’

अञ्जुले आफ्ना कथा–व्यथा सुनाइरहँदा वरिपरि उनकी छोरी, आमा र दुईजना दिदी पनि थिए । छेउमै बसेकी छोरीले उनको कुरामा सहमति जनाइन् । ‘मेरो ममी–ड्याडी दुवै उहाँ नै हो,’ अञ्जुलाई देखाउँदै उनले भनिन्, ‘उहाँले मलाई सबै माया दिनुभएको छ । मैले उहाँको संघर्ष देखेको छु, दुःख देखेको छु । रातदिन नभनी गरेको काम देखेको छु । मेरा लागि उहाँ संसारकै ‘बेस्ट मदर’ हो ।’

अञ्जु सानो हुँदा उनको लक्ष्य शिक्षक बन्ने थियो । ‘मेरै नाम गरेको मिस हुनुुहुन्थ्यो । म अञ्जु म्यामजस्तै बन्छु भन्थेँ,’ अञ्जुले सम्झिइन् । यता अहिले उनकी छोरीले डाक्टर बन्ने लक्ष्य लिएकी छन् । ‘डाक्टर बन्ने सपना छ,’ छोरी परितोषिकाले आफ्नो लक्ष्यबारे यस्तो भनेपछि अञ्जु मुस्कुराइन् । ‘म डाक्टर भएर हजुर बुढी भएपछि रोगव्यथा लाग्छ, त्यतिबेला निको पार्छु भन्छ ,’ अञ्जुले छोरीको प्रेम झल्काइन् । छोरीले पाँच वटा भाषामा गीत गाउन सक्ने पनि उनले बताइन् ।

आमाको आमा अञ्जु  
‘म चाहिँ उसको छोरीजस्तो, ऊ चाहिँ मेरो आमाजस्तो छे,’ छेउमै रहेकी आमा मनु पन्त अञ्जुबारे यस्तो टिप्पणी गर्छिन् । ‘धेरै बुज्झकी छे, घरमा सबै व्यवस्था आफैँ मिलाउँछे,’ उनले भनिन् ।
डिभोर्स भएको एक वर्षपछि अञ्जुले काठमाडौँको कपनमा एक तलाको घर किनेकी थिइन् । अहिले त्यही घरलाई बढाएर अढाई तलाको बनाइसकिन् । उनका दुई दिदी मञ्जु र यमुना पनि उनीसँगै बस्छन् । ‘उमेरले त म जेठी हुँ,’ अञ्जुकी दिदी यमुनाले भनिन्, ‘तर, हाम्रो घरको आमा ऊ नै हो । सबैको रेखदेख गर्ने स्वभाव छ उसको । ऊ घरमा नहुँदा, कार्यक्रमका लागि बाहिर गएको छ भने घरै शून्य हुन्छ । चाँडै आइदिए हुन्थ्यो भन्ने लाग्छ ।’ अञ्जुकी माइली दिदी मञ्जुको कुरा पनि उस्तै थियो । ‘हाम्रो समाजमा पुरुष नभई घर चल्दैन भन्छन्,’ उनले भनिन्, ‘तर, हाम्रो घर महिला नभई चल्दैन । महिला भनेको अञ्जु !’
हिम्मतै ठूलो
अञ्जु जीवनमा सबैभन्दा ठूलो कुरो हिम्मत भएको बताउँछिन् । ‘हिम्मत गरे जिन्दगीमा आइपरेका जस्तासुकै दुःखकष्ट, बाधा–व्यवधानलाई हटाउन सकिन्छ,’ उनले भनिन् ।
मनु आफ्नी  छोरीको आँट र हिम्मत देखेर छक्क पर्छिन् । गर्व पनि गर्छिन् । ‘अञ्जु आँटिली छे । जस्तासुकै समस्या र चुनौतीको सामना गर्ने आँट र हिम्मत छ ऊसँग ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २४ जेष्ठ २०७४ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App