८ वैशाख २०८१ शनिबार
अर्थ

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

काठमाडौं- रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो। 

छिमेकी मुलुकले विभिन्न आरोप लगाउँदै सम्बन्धबिच्छेद गर्दा त्यसले अनेक समस्या निम्तिने भन्दै कतार जाने कामदार र श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभागलाई नियमित काम सुरु गर्ने/नगर्नेबारे अन्योल सिर्जना भएको थियो।

छिमेकी मुलुकको सम्बन्धबिच्छेदपछि कतारका लागि रोकिएको श्रम स्वीकृति बुधबारदेखि सुरु।

सोमबार छिमेकी मुलुकले कतारसँगको सम्बन्ध तोडेपछि मंगलबार कतार जाने कामदारको श्रम स्वीकृति प्रदान नगरेको वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयले बुधबारदेखि पुनः श्रम स्वीकृति सुरु गरेको जनाएको छ। 'पहिलो दिन प्राविधिकलगायतका समस्याले श्रम स्वीकृति जारी हुन सकेन,' विभागको काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेले भने, 'बुधबार सबैतिर सोधीखोजी गरेपछि पुनः श्रम स्वीकृति जारी गर्‍यौं। सबै काम नियमित भएको छ।'

उनले बुधबार संस्थागततर्फ ३ सयजनाको अन्तिम श्रम स्वीकृति जारी गरिएको बताए। त्यही दिन पूर्वस्वीकृति भने ९ सयले लिएका छन्।  कतारको अवस्था सामान्य रहँदा संस्थागततर्फ रोजगारीमा जानेमध्ये दैनिक तीनदेखि ४ सयले अन्तिम स्वीकृति लिने गर्थे।

प्राकृतिक ग्यास बिक्री गरेर राम्रो आर्थिक उन्नति गरिरहेको कतारमा पछिल्ला वर्ष रोजगारीका लागि जाने नेपाली बढिरहेका छन्। सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता गर्ने तयारीमा जुटेकाले समेत यतिखेर कतारको निर्माण क्षेत्रमा रोजगारीका थुप्रै अवसर बढेको म्यानपावर व्यवसायी बताउँछन्।

छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेको घोषणापछि विभिन्न सञ्चारमाध्यमले यतिखेर कतारमा खाद्यान्न संकट सिर्जना हुने र त्यसको पहिलो मार आप्रवासी कामदारले खेप्नुपर्ने समाचार सम्प्रेषण गरिरहेका छन्। विभागले जारी गर्ने श्रम स्वीकृति लिएर हालसम्म करिब साढे १० लाख युवायुवती कतार गएका छन् जसमध्ये हाल करिब ४ लाख नेपाली त्यहीँ रहेको अनुमान छ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको विवरण राख्ने तर फर्कनेको विवरण नराख्ने गरेकाले कतार गएकामध्ये कति फर्किए र कति उतै छन् भन्नेबारे यकिन विवरण पाउन गाह्रो छ। पाण्डेले कतारमा रहेका करिब ४ लाख नेपाली आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। 'कतारस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा आत्तिनुपर्ने अवस्था नरहेको जानकारी पाएका छौं,' पाण्डेले भने, 'त्यसैले अब नियमित काम पनि सुरु गरेका हौं। अन्योलमा परेका कामदारका परिवारलाई चिन्ता नलिन आग्रह गछर्ौं।'

हालसम्मको तथ्यांकमा नेपालले श्रम स्वीकृति जारी गर्ने विश्वका १ सय ८ देशमध्ये कतार दोस्रो ठूलो गन्तव्य हो। नेपाली कामदारको पहिलो गन्तव्यको रूपमा रहेको मलेसिया जाने कामदार संख्या कतारको भन्दा थोरैले मात्र बढी छ। विभागका अनुसार हालसम्म करिब साढे १० लाख युवायुवती श्रम स्वीकृति लिएर कतारमा जाँदा मलेसिया जानेको संख्या १२ लाख जति छ। त्यस्तै अहिलेसम्म नेपाली कामदारको तेस्रो नम्बरको गन्तव्यमा रहेको साउदी अरबमा करिब साढे ८ लाख नेपाली रोजगारीका लागि पुगेका छन्।

विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गत पुसमा संस्थागततर्फ २७ हजार ९ सय ३३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा सबैभन्दा बढी १० हजार ५८ जना कतार गएका छन्। मलेसिया र साउदी अरब जाने क्रमशः ६ हजार ८ सय ५९ र ५ हजार ४ सय ३३ छन्।

रोजगारीका लागि कतार पुगेका आप्रवासी समस्यामा परे त्यसको मार नेपालले पनि खेप्नुपर्ने अर्थविदले सचेत गराइरहेका छन्। अन्य गन्तव्यको तुलनामा नेपाली कामदार कतारमा कम ठगिने गरेको म्यानपावर व्यवसायी बताउँछन्। कतारसँगको श्रम सम्झौता गरेकाले पनि रोजगारदाताद्वारा कामदार कम ठगिएका हुन्। नेपालले अन्य ठूला गन्तव्य मलेसिया र साउदीसँग पनि श्रम सम्झौता गर्न खोजे पनि अझै कुरा मिलेको छैन।

अर्थविदका अनुसार नेपालले प्राप्त गर्ने रेमिटेन्समा कतारको योगदान ७ देखि १० प्रतिशत छ। चालू आर्थिक वर्ष १० महिना (साउन–वैशाख) सम्म नेपालमा ४ खर्ब ५० अर्ब रेमिटेन्स भित्रिएको छ। अघिल्लो वर्ष ६ अर्ब ६५ अर्ब भित्रिएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७४ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App