४ वैशाख २०८१ मंगलबार
अन्य

युवाको कोरिया सपना

पाँचथर- सम्भ्रान्त र आर्थिक रूपले सम्पन्न परिवारका युवा पढाइ र रोगजारीका लागि युरोप, अमेरिकी देश रोज्छन्। धेरैको रुचि, चाहना नै विदेश बन्ने गरेको छ। स्वदेशमा  हुनेखानेहरू राम्रो कामका लागि विदेशिने भएपनि निम्नमध्यम र निम्न वर्गका युवक–युवती श्रममूलक रोजगारीका लागि विदेशिने गर्छन्। कोरिया, साउदी अरेबिया, दुबई, कतारलगायत देशमा नेपालीहरू श्रमका लागि गइरहेका छन्। यीमध्ये निम्नमध्यम र निम्न वर्गको परिवारका युवक–युवती श्रमका लागि दक्षिण कोरिया जान लालायित बन्दैछन्।

 पहिला–पहिला पूर्वी पहाडको गाउँहरूका युवक–युवती एसएलसी पास गरेपछि झोलाभरी अन्नपात बोकेर क्याम्पस पढ्न जान्थे। अहिले कोरियन भाषा पढ्नेको लर्कोले त्यही झल्को दिन्छ। कोरियामा राम्रो आम्दानी हुने भन्दै रोजगारीका लागि भाषा परीक्षा दिन सदरमुकाम र विभिन्न सहरमा गएर यो भाषा पढ्नेको संख्या धेरै छ।

 क्याम्पस पढ्दै गरेका, विभिन्न पेसा, व्यवसायमा लागेकाहरूसमेत यता तानिएका छन्। युवा लोकसेवा आयोग, शिक्षासेवा आयोगको तयारीभन्दा पनि कोरियन भाषाका शब्द, अर्थ र व्याकरण घोकिरहेका छन्। कोरियन भाषा पढाउन खुलेका संस्थाहरूमा बाक्लो भिडभाडले आर्कषणको संकेत गर्छ। राम्रो रोजगारीको गन्तव्य मानिएकाले मध्यवर्गीय परिवारका युवा यतिखेर कोरियाको सपना देख्दैछन्। उनीहरूको सपना साकार हुन रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा पास गर्नैपर्छ।

 लुङरुपा–९, का सुदीप दंगाल विद्याआर्जन मावि, तमाखेमा पढाउँथे। सरकारी कोटामै अंग्रेजी शिक्षकका रूपमा जागिरे दंगाल राम्रो कमाइका लागि भन्दै भाषा सिक्न थाले।  पाँचथर बहुमुखी क्याम्पसमा अंग्रेजी ऐच्छिक विषयमा स्नातकमा कक्षा प्रथम भएका उनले भाषामात्र सिकेनन्, परीक्षा पास गरेर २ वर्षयता कोरियामा काम गरिरहेका छन्।  'जीवनभरी पढाउँदा कमाउने पैसा केही वर्षमै कमाइने रहेछ। केही वर्ष दुःख गर्दा लामो समय सहज हुने भएकाले कोरिया रोजें,’ दंगालले भने, 'खटाइ धेरै छ। कामअनुसारको दाम पाइएको छ।’

 आर्थिक समृद्धि, राम्रो रोजगारीको गन्तव्य तथा सस्तो लगानी हुने भन्दै कोरियातिर आकर्षण बढेको छ। कोरियन भाषा पढाउने भन्दै बाक्लै रूपमा इन्स्टिच्युट खुलेका छन्। पहाडी जिल्लामा कोरियन भाषा सिक्नेको संख्या उलेख्य छ। क्याम्पस पढिरहेकाहरू बढी संख्यामा भाषा सिकिरहेका देखिन्छन्। यसपल्ट असार पहिलो साता हुने परीक्षामा ३ हजार १ सय कोटाका लागि ६० हजारभन्दा बढीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ४ असार २०७३ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App