१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सकियो संगीत तथा नृत्य महोत्सव

अशोक सुजन श्रेष्ठ

हेटौंडा- हेटौंडामा तीन दिनसम्म चलेको 'राष्ट्रिय संगीत तथा नृत्य महोत्सव' बुधबार सकिएको छ। समापनमा जेठको चर्को गर्मीको समेत पर्वाह नगरी दर्शकले गीत, संगीत र नृत्यको स्वाद लिएका थिए। क्षेत्रीय कलाकार, सांस्कृतिक कलाकर्मी र स्थानीय कलाकारको सहभागिता रहेको महोत्सवको समापनमा उनीहरूले आ–आफ्ना कला प्रस्तुत गरेका थिए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवको समापनमा गुरुङ, नेवार, तामाङ तथा मगर जातिका नृत्य प्रस्तुत गरिएका थिए। कार्यक्रममा मकवानपुरबाट कमल क्षेत्री तथा मिना निरौला, अशोक राई, स्थानीय कलाकारहरू तुलुकबहादुर लामा, कृष्णगोपाल सिंह, अस्मिता ढकाललगायतले गीत प्रस्तुत गरेका दिए। प्राज्ञपरिषद् सदस्य तथा महोत्सवका संयोजक माधव प्रधानले मेचीदेखि महाकालीसम्मका एक सयभन्दा बढी कलाकारले कला प्रस्तुत गरेको बताए।

समापन कार्यक्रममा साहित्यकार तुलसी थापाले कलाकर्मी राष्ट्रको गहना भए पनि अशक्त, अपांग र बुढ्यौली भएपछि सबैले बेवास्ता गरेकोमा गुनासो गर्दै उनीहरूलाई उपचार र राहत दिनुपर्नेमा जोड दिए। उपकुलपति शम्भुजित बास्कोटाले कलाकारको एउटै जात कलाकार मात्र हुने भन्दै देशलाई एकता राख्न कलाकारले भूमिका खेल्नुपर्ने बताए। सानो कुराले पनि कलाकारको मन दुख्ने बताउँदै उनले कलाकारको दुःख, पीडामा मलहम लगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको दाबी गरे।

महोत्सवको अन्तिम दिन मकवानपुरका पाँचजना कलाकर्मीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा संगीतकार भोला जोशी, प्रमेन्द्र महर्जन, सानुकाजी महर्जन, गायक कृष्णगोपाल सिंह र गायिका सुशीला पाण्डे मानन्धर छन्। प्रतिष्ठानका उपकुलपति बास्कोटाले उनीहरुलाई खादा लगाएर सम्मान गरेका थिए।

महोत्सवको दोस्रो दिन मंगलबार शास्त्रीय संगीतसम्बन्धी अन्तर्त्रि्कयासहित विशेष शास्त्रीय संगीत प्रस्तुत गरिएको थियो। कार्यक्रम अवधिभर सुदुरपश्चिमको छलिया, मध्यपश्चिमको चरिया, पूर्वाञ्चलको गर्रा, जनकपुरको झिझिया, सौराहाको मयुरी, भोजपुरी, मैथिली र थारु गीत तथा नृत्य, धिमा नृत्य देखाइएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७४ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App