४ वैशाख २०८१ मंगलबार
अन्य

जेब्राक्रसमै जान्छ ज्यान

– वैशाख १० गते अनामनगरस्थित बाजेको सेकुवा अगाडि जेब्राक्रसबाट सडक पार गर्दा स्थानीय विकास मन्त्रालयमा पूर्वसचिव पद्मराज सुवेदीलाई बाइकले ठक्कर दियो। अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा७९प ४३९२ नम्बरको यामहा मोटरसाइकलको ठक्करबाट उनको ज्यान गयो।

– यही जेठ ६ गते बानियाँटारबाट मर्निङवाकमा निस्किएका राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक ऋषिराम पण्डितलाई गंगबुबाट आउँदै गरेको बा२ख ५७३० नम्बरको मिनिट्रकको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो। मिनिट्रक चलाउने लक्ष्मण सिटौला सवारी चालक अनुमतिपत्र समेत नभएका सिकारु भएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसैदिन भक्तपुरमा पैदल यात्री गौतम बिकले 'अनटेष्ट' लेखिएको जेसिबी कम्पनीको 'हेभी इक्युपमेन्ट'को ठक्करबाट ज्यान गुमाए।

चालकले तीव्र गतिमा सवारी हुइक्याउँदा मूल सडकका साथै साँघुरा भित्री बाटोमा पैदल यात्रु असुरक्षित हुन थालेका छन्। चालकको लापरवाही र पेटी नभएका साँघुरा सडकका कारण पैदल यात्रीको ज्यान सबैभन्दा बढी दुर्घटनाको जोखिममा पर्न थालेको हो।

– गत आइतबार बसुन्धरा चोकमा जेब्राक्रसबाट सडक पार गर्दा सुनसरीकी रविना चौधरीलाई ना४ख ४२६२  नम्बरको बसले ठक्कर दियो। उनको घटनास्थलमै मृत्यु भयो।

जथाभावी बाटो काट्नेलाई धमाधम कारबाही भइरहेका बेला पैदल यात्रीका लागि सबैभन्दा सुरक्षित मानिएको जेब्राक्रस नै असुरक्षित बनेकोे देखाउने घटना हुन् यी। सवारीचालकको चरम लापारवाही र सरकारी बेवास्ताले उपत्यकामा जेब्राक्रसमै पैदल यात्री असुरक्षित बन्न थालेको यसले इंगित गर्छ। 

चालकले तीव्र गतिमा सवारी हुइक्याउँदा मूल सडकका साथै साँघुरा भित्री बाटोमा पैदल यात्रु असुरक्षित हुन थालेका छन्। चालकको लापरवाही र पेटी नभएका साँघुरा सडकका कारण पैदल यात्रीको ज्यान सबैभन्दा बढी दुर्घटनाको जोखिममा पर्न थालेको हो। उपत्यकाभित्र हुने सडक दुर्घटना र त्यसबाट ज्यान गुमाउने पैदल यात्रीको संख्याले समेत त्यसलाई पुष्टि गर्छ।

सरकारी आँकडा अनुसार उपत्यकाका सडक दुर्घटनामा ज्यान गुमाउने तीनजनामध्ये एक पैदल यात्रु हुने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत पाँच वर्षमा उपत्यकाभित्र ७ सय ३८ जनाले सडक दुर्घटनामा ज्यान गुमाए। त्यसमध्ये ३ सय १ जना (४०.७८) प्रतिशत पैदल यात्रु छन्। गत वर्ष उपत्यकाभित्र ४ हजार ५ सय ६४ सडक दुर्घटना हुँदा १ सय ४८ जनाको ज्यान गएको थियो। त्यसमध्ये ४३ प्रतिशत पैदल यात्रु थिए।

'गाडी चलाउनेले जेब्राक्रसमा नै तीव्र गतिमा हुइक्याउँदा पैदल यात्रुले अनाहकमा ज्यान गुमाइरहेका छन्,' ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, 'राजधानीकै अधिकांश सवारी चालकलाई जेब्राक्रस कसका लागि बनाइएको ज्ञान छैन।' जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन हो। तर, नेपालमा भने जेब्राक्रसमै पैदल यात्रु मारिने गरेका छन्।

'जेब्राक्रसमा बाटो काट्दा पैदल यात्रुको ज्यान जानु चालकको गम्भीर लापरवाही हो, त्यस्ता चालकले उन्मुक्ति पाउँदैनन्,' महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामा भन्छन्, 'जेब्राक्रसमा ठक्कर दिएर मार्ने चालकलाई सवारी ज्यान मुद्दा चलाउन निर्देशन दिएको छु।' उनले जेब्राक्रसमा नै यात्रु असुरक्षित बनेकोमा आफूहरू गम्भीर भएको बताए।

लामाले जेब्राक्रसमा पैदल यात्रुलाई प्राथमिकता नदिने सवारी साधनलाई कारवाही थालिने जानकारी दिए। महाशाखाले मंगलबारसम्म जेब्राक्रसमा पैदल यात्रीलाई पेलेर सवारी चलाउने ४७ सवारी साधनलाई कारवाही गरेको जनाएको छ।

'जेब्राक्रस आएपछि गति नघटाउने सवारीलाई कारबाही थालिसकेका छौं,' डिआइजी लामा भन्छन्, 'यातायात व्यवसायीलाई जेब्राक्रसमा तीव्र गतिमा हाक्ने चालकलाई सचेतना कक्षा दिन आग्रह भनिसकेका छौं, उनीहरूले नगरे  हामी नै सचेतनात्मक कार्यक्रम चलाउछौं।'

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३७ अनुसार पैदल यात्रीले जेब्राक्रसिङ, सब–वे, ब्रिज वा त्यस्तो बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्ने प्रावधान छ। तर, ऐनमा जेब्राक्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने भन्ने प्रष्ट छैन। ऐनको दफा १६१ अनुसार सवारी चालकले जानाजानी दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ। सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था पनि ऐनमा छ।

'राजधानीमा पैदल यात्रुका लागि सहज रूपमा हिँड्ने वातावरण छैन, जुनसुकै बेला जुनसुकै ठाउँमा दुर्घटनामा पर्नसक्ने उच्च जोखिम छ,' ट्राफिक इन्जिनियर गजुरेल भन्छन्। सरकारले सडकमा प्रर्याप्त पूर्वाधार तयार पारेर चालक र पैदल यात्रु दुवैलाई ट्राफिक सचेतना कार्यक्रम चलाउनुुपर्ने उनको सुझाव छ।

विकसित मुलुकमा जेब्राक्रसभित्र पाइला राखिसकेको यात्रुलाई सवारी चालकले रोकेर प्राथमिकता दिने गर्छन्। 'जर्मनीमा जब पैदल यात्रु जेब्राक्रसमा उभिन्छन्, चालकले पैदल यात्रु बाटो नकाटेसम्म सवारी रोकेर उनीहरूलाई प्राथमिकतामा दिएको देखिन्छ,' उनले भने।

चालकको लापारवाहीले जेब्राक्रसमा नै असुरक्षित महसुस गरेको पैदल यात्री बताउँछन्। 'जेब्राक्रसबाट बाटो काट्नु बटुवाको अधिकार हो, त्यही असुरक्षित भएपछि कहाँबाट बाटो काट्ने?' कोटेश्वरका अनिल शर्मा भन्छन्, 'लापरवाही गरेर गाडी चलाउनेलाई कडा कारवाही हुनुपर्छ।'

उपत्यकाभित्रका कतिपय सडकमा जेब्राक्रसको जानकारी दिने सेता धर्सा छैनन् भने भएका ठाउँमा पनि मेटिइसकेका छन्। सडक मर्मत र रेखदेखको जिम्मा पाएका निकायबीच समन्वय नहुँदा मेटिएका जेब्राक्रस बनेका छैनन्। सडक विभागका प्रवक्ता दयाकान्त झाले उपत्यकाका अधिकांश सडकमा जेब्राक्रस तथा लेन चिह्न मेटिएको स्वीकार गर्छन्। 'धुलो र अत्यधिक सवारी चापले सेता धर्सा तत्कालै घोटिएर जाने भइरहेको छ,' उनले भने, 'सडक विभागले बजेट र स्रोत साधन अनुसार सडक चिह्न बनाउँदै आएको छ।'

२० हजार पैदल यात्री कारबाहीमा

सरकारले गत जेठ १६ गतेदेखि उपत्यकामा जभाभाबि बाटो काट्ने पैदल यात्रुलाई कारवाही थालेको छ। हालसम्म करिब २० हजार पैदल यात्रु कारवाहीमा परिसकेका छन्। ट्राफिक प्रहरीले जेब्राक्रसबाट बाटो नकाट्नेलाई दुई सय जरिवाना वा ३ घण्टा अनिवार्य सचेतनामूलक कार्यक्रममा सहभागी गराउने गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App