१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबलमा प्रतिभाको लहरिँदो प्रतिभा

काठमाडौं– नेपालले दुई वर्षअघि प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको तयारी गरिरहेको थियो । घरेलु कोर्टमा नेपाली महिला टोली १५ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैथ्यो। टोलीको बन्द प्रशिक्षणमा थिइन् १३ वर्षे प्रतिभा माली ।

न्यु डायमन्ड स्कुलको टिमबाट खेल्ने प्रतिभा बन्द प्रशिक्षणमा परे पनि अन्तिम टोली छनोट गर्दा प्रशिक्षक सुदेशकुमार रिमाल निकै दबाबमा थिए ।  प्रशिक्षणकै बेला १२ वर्ष पूरा गरेर १३ वर्ष लागेकी प्रतिभालाई टिममा राख्ने कि नराख्ने भन्नेबारे नेपाल भलिबल संघको नेतृत्वसम्म चर्चाको विषय बन्यो ।

अन्ततः उनी १३ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा पर्न सफल भइन् । त्रिपुरेश्वरमा खेल भइरहँदा मुख्य स्पाइकरले अपेक्षा गरेजस्तो खेल्न नसकेपछि प्रशिक्षक रिमालले प्रतिभालाई कोर्टमा उतारे । पहिलो खेलमै उनले प्रशिक्षकको मन जित्ने प्रदर्शन दिइन् । उनी भारत, श्रीलंका जस्तो बलियो टोलीले भाग लिएको प्रतियोगितामा ५६ स्कोर गर्दै सर्वाधिक स्कोर गर्ने खेलाडी बनिन् ।

उनको उच्च प्रदर्शनमा नेपालले श्रीलंकालाई हराउँदै रजत पदक जित्यो, जुन नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो । प्रतिभाको खेलले नेपाली भलिबलमा एउटा आशाको किरण थपेको बताउँछन् न्यु डाइमन्डका प्रशिक्षक कुमार राई । त्यसपछि१२ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउँदा पनि उनी सर्वाधिक अंक जोड्ने स्पाइकर बनिन् ।

उनी १५ वर्षमा टेकेकी छन् तर उनको प्रतिभालाई उमेरले छेकेको छैन । उनी राष्ट्रिय टोलीमा स्थापित भइसकिन् ।

न्यु डायमन्डलाई प्रतिभाशाली खेलाडी उत्पादन गर्ने टोली मानिन्छ। प्रतिभा त्यही डायमन्डकी सदस्य हुन्। एकसमय डायमन्डकी रमिला तण्डुकारले नेपाली भलिबलमा नम्बर एक स्पाइकरको छवि बनाएकी थिइन्। रमिला अमेरिका गएपछि डायमन्ड कमजोर हुने धेरैको अनुमान थियो। तर रमिलाको अनुपस्थिति  प्रतिभाले पूरा गरेकी छन्।

२०७२ सालमा न्यु डाइमन्ड ५ प्रतियोगितामा सहभागी भयो । त्यसमध्ये एकमा च्याम्पियन डायमन्ड चार प्रतियोगिताको फाइनल पुगेको थियो । प्रतिभा तीन प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र दुईमा बेस्ट स्पाइकर भएकी थिइन्।

उत्कृष्ट प्रदर्शन गरेका कारण नै प्रतिभा पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी छन् । सर्वाधिक एसएमएस भोट र फेसबुक लाइकका आधारमा विजेता चयन हुने पिपुल्स च्वाइसमा प्रतिभासहित टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लामिछाने र फुटबलका नवयुग श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

प्रकाशित: ५ श्रावण २०७३ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App