coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पशुपतिमा 'आरती' आनन्द

मान्छे! के छ र तिम्रो कहानी।

भन्छ चिताले दनदनी बल्दै पारेँ तिमीलाई खरानी।।

मान्छे, खै तिम्रो त्यो जवानी?

पशुपति प्रागंणमा हरेक साँझ हुने आरतीको सुरुमै गायक धर्मदास बुढाथोकीले यी हरफ गाउँछन्। यिनै हरफले लोकविजय पोखरेललाई मृत्यु नै शास्वत सत्य हो भन्ने महसुस गरायो। चिताले मानिसलाई सोधेको यो प्रश्नले उनी रन्थनिए। चिताले यस्तो प्रश्न गरेपछि उनले सांसारिक चिन्ता छाडे।

बैचेनी र छटपटाहटले घेरिरहेका बेला लोकविजय एउटा यस्तो परिवर्तन चाहन्थे, जसले चञ्चल मनमा शीतलता देओस्, सन्तोषजनकरुपमा जिउने प्रेरणा मिलोस्। त्यो उनले पशुपतिका कुनामा पाए– बाँदरका बदमासीमा, जोगीको एकतमासे धैर्यमा, मन्दिरभित्रबाट आइरहने घन्टाको आवाजमा, मन्त्रमा, जपमा र सधैँभरि माथिमाथि उडिरहने धुँवाका बादलमा।

उनले यस्तो बोध गरे– एकदिन सबै नष्ट हुनेछ, ढिलो होस् या चाँडो। उनीमा हरेक दिन बिहान आँखा खुल्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने अनुभव भयो। अझ शिव ताण्डव स्तोत्र सुन्दा त उनी बिल्कुल फरक मान्छे हुन्छन्। महादेव स्वयं आई अन्तरआत्मामा बास गरेजस्तो हुन्छ, नाचौँ–नाचौँ, उफ्रौँ उफ्रौँ हुन्छ।

'एकछिन भए पनि म 'म' हुन पाउँछु। भित्री आत्माबाट नै छुट्टै ऊर्जा निस्केको महसुस हुन्छ,' उनले भने। आरतीमा गएर भजन सुनेपछि समग्रमा अन्तरआत्मा र अन्तर्मनमा शान्तिको अनुभव हुने र मन शान्त तलाउ हुने उनको अनुभव छ।

काठमाडौं बस्दै आएका लोकविजय एक साँझ पशुपति आरतीमा भेटिए। उनी स्वयंलाई थाह छैन, कतिपटक आरतीको आनन्द लिएँ भन्ने। मानिस न हो जीवनले कहिलेकाहीँ वाक्क लगाउँछ नै। उनलाई पनि कुनै एक दिन जीवनले त्यस्तै दिक्क लगाएको थियो। बैचेनी र छटपटाहटले घेरिरहेका बेला उनी एउटा यस्तो परिवर्तन चाहन्थे, जसले चञ्चल मनमा शीतल देओस्, सन्तोषजनक जिउने केही प्रेरणा मिलोस्। त्यो उनले पशुपतिका कुनामा पाए– बाँदरका बदमासीमा, जोगीको एकतमासे धैर्यमा, मन्दिरभित्रबाट आइरहने घन्टाको आवाजमा, मन्त्रमा, जपमा, र सधैँभरि माथिमाथि उडिरहने धुँवाका बादलमा।

०००

पशुपतिनाथ मन्दिर। काठमाडौंको एउटा कुनामा शताब्दिऔँदेखि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रकको रूपमा परिचित स्थान। पशुपतिनाथ मन्दिर मात्र हैन, यो एउटा स्टेसन हो, एउटा 'हब'। दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ। पापी चोखिन र धर्मात्मा धर्म बढाँउन आउने ठाउँ। मानौँ यो एउटा यस्तो ठाउँ हो, जहाँ पाप र पुण्यको हिसाब–किताब हुन्छ। कर्म र भाग्य एक आपसमा अन्तिमपटक आमनेसामने हुन्छन्। शरीर छाडेर अञ्जान यात्रामा निस्कनुअघिको अन्तिम स्टेसन– 'अ लास्ट डिपार्चर।' जहाँ आफन्त हात हल्लाइरहेका हुन्छन्, आँसुको सहाराले। कोलाहल नै कोलाहलबीच पनि शान्ति भेटिने यो ठाउँ, एउटा धार्मिक गन्तव्य त हो नै, साथसाथै हो आध्यात्मिक प्लेग्राउन्ड। यो सब नियाल्दै, अस्तु बगाउँदै, कतिका ग्लानि बगाउँदै, कतिका पाप बगाउँदै, कतिका खुसी बगाउँदै सुसाइरहन्छ वागमती। एउटा सुन्दर क्यानभास, जसका रंग अस्तव्यस्त छन्, तर सुन्दर छन्, मिलेका छन्।

एकातिर संसारबाट बिदा भएका व्यक्तिको शरीर दनदनी चितामा बलिरहेको हुन्छ, अर्कोतिर कुनै जोगी, कुनै बाबा संन्यासको उत्कर्षमा महानिर्वाण पाउन खोजिरहेझैँ लाग्छ। प्रेमिल जोडी पनि महादेवलाई साक्षी राख्दै आनन्दको सागरमा डुबिरहेका हुन्छन्। बाँदरहरू न अरुलाई चैनसँग पूजापाठ गर्न दिन्छन् न बस्न। अर्कातिर छन् महादेव– शान्त, ग्ाम्भीर, अटल, अडिग र धैर्यवान। कसैले भनेका थिए, 'महादेव इज अ गुड लिसनर।' उनी कहिल्यै बोल्दैनन्। तर उनीसँग कुरा गर्न आउनेको कुनै कमी छैन। महादेव कसैको मूल्यांकन गर्दैनन्। सांसारिक चस्मा लगाएर हेर्दैनन्। मानिसहरू कुरा सुनिदिने कोही भए खुसी हुन्छन्। महादेव चुपचाप मान्छेका कुरा, मनोकामना सुनिदिन्छन्। त्यसैले उनी मानिसहरुबाट घेरिइरहेका हुन्छन् प्रायः। उनको व्यस्ततालाई अलिअलि भए पनि सघाएका छन्, पशुपतिनाथमा हरेक दिन हुने केही क्रियाकलापले। साँझमा वागमती आरती त्यो सूचीमा सबैभन्दा अघि आउँछ।

नेपालगन्ज घर भएका अविरल श्रेष्ठ १५ वर्ष भयो काठमाडौंको चावहिल बस्न थालेको। त्यही साँझ उनीसँग कुरा गर्दा लाग्यो यहाँ धेरै यस्ता मान्छे छन्, जसको जीवनले पलपल परीक्षा लिइरहन्छ। अविरल एक दिन रन्थनिए। उनको जीवनमा अन्धकार छायो। जीवनमा आएको यो मोडले उनलाई नराम्रोसँग गलायो। जीवन अर्थहीन लाग्यो। उनलाई लाग्यो, यही घडी नै अन्तिम हो। मृत्यु नै अन्तिम बाटो हो भन्ने भान हुन थाल्यो। त्यो पीडा सहन नसकेपछि उनी निस्किए। बाटोमा यत्तिकै हिँडे, धेरैबेर। र, भड्किँदै पुगे पशुपतिनाथ। त्यहाँ भर्खर आरती सुरु हुन थालेको रहेछ।

धर्मप्रति खासै रुचि नभएका उनी साथीहरूको लहलहैमा पशुपति पुगे पनि मन्दिरमा कहिल्यै छिरेका थिएनन्। तर त्यो दिन अरु बेला जस्तो थिएन। सूर्य अस्ताउँदै थियो। चन्द्रमा उदाउँदै थियो। दिन जब रात हुँदै थियो। नौलो माहोलबीच सुरु भयो, एउटा अविष्मरण्ीाय पल। उनी भजनका शब्द र संगीतमा यसरी डुब्दै गए कि आफ्ना समस्या, पीडाहरू कहाँ–कहाँ विलीन भएजस्तो लाग्यो। मूर्तिबाट भन्दा पनि संगीतको माध्यमबाट भगवान् नजिक चाँडै पुग्न सकिँदो रहेछ भन्ने बुझ्न धेरै समय लागेन। जीवनमा पहिलोपटक आफ्नो नियन्त्रण बाहिरबाट केही हुँदै थियो, त्यो साँझ। त्यसपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नपरेको छैन। जीवनमा समस्या आउन छाडेका छैनन्। तर समस्या केही दिनका पाहुना मात्र हुन्छन्। अविरल अविरल बग्दै छन्, आफ्नो जीवनमा।

खुमलटार बस्ने राजीव न्यौपाने जीवनको अर्थ खोज्दै हिँडेका हजारौँमध्ये एक हुन्। हजारौँको हुलमा उनी पनि मिसिएका छन्, जीवनको परिभाषा खोज्न। जन्म र मृत्युबीचको आयु नै जीवन हो भनेर बताइए पनि उनी ढुक्क हुन सकेका छैनन्। यो छटपटी हरेक दिन बढ्छ। त्यस्तो हुँदा उनी पशुपतिनाथ क्षेत्र पुग्छन्। उनका लागि पशुपति एउटा यस्तो क्षेत्र हो, जहाँ जीवन बुझ्न केही सहज हुन्छ। पशुपतिभरि उनी उत्तर भेटाउँछन्, तर टुक्रा–टुक्राहरूमा। मनको तीर्खा अलिअलि भए पनि मेटिन्छ।

मृत्यु नै अन्तिम सत्य हो कि सत्यको सुरुवात? जन्म नै जीवनको सुरुवात हो कि एउटा स्टेसन मात्र? मरेको मानिस कहाँ जान्छ? त्यो कस्तो यात्रा हुनेछ, जसको टिकट मृत्युपछि मात्र पाइन्छ? मर्दा शरीर छाड्ने त्यो चिज कहाँ लुकेको छ?

यस्ता यावत प्रश्नको उत्तर भेटिने यदि संसारमा कुनै ठाउँ छ भने त्यो पशुपतिनाथ नै हो। 'पशुपतिको आरतीले मलाई योग विज्ञानको पनि अनुभूति दिलाउँछ, जुन बुझ्नुभन्दा बढी महसुस र अनुभव गर्ने कुरा हो,' उनी भन्छन्। हिन्दू धर्मशास्त्रमा शिवलाई शक्तिशाली भगवान्का रुपमा चित्रित गरिएको र पशुपतिले जन्म–मृत्यु र त्यसभन्दा परको जीवनलाई पनि देखाएको न्यौपाने बताउँछन्।

अध्यात्म र धर्ममा लाग्नेहरू प्रायः एउटै कुरा भन्छन्। सुखको मार्ग हिँडेर आनन्दको गन्तव्य पुग्नु छ भने तीन स्टेसन पार गर्नैपर्छ– भक्ति, भजन र सेवा। अरुको सेवामा जुन आनन्द छ त्यो बिरलै कुराबाट पाइन्छ। आरतीमा सेवा गर्दा यस्तै भित्री आनन्द भेट्ने कुरा बताउँछन्, थुप्रै सेवक। १९ वर्षीया गौरी अधिकारी हरेक साँझ पशुपति आरतीमा सेवा गर्न पुग्छिन्। उनको जीवन नै सेवा वरपर घुमेको छ। वाल्मीकि विद्यापीठमा संस्कृत तथा भागवत अध्ययन गर्छिन् उनी। 'कहिले आरती हुने थलो सरसफाइ गरिदिने तर कहिले दियोमा बत्ती राख्ने, पूजाभाँडा माझिदिने, सामान ओसार्ने गर्छु,' उनी भन्छिन्, 'यस्ता सेवा गर्न पाउँदा धेरै आनन्द लाग्छ।' उनी आफ्नो इच्छाले विगत दुई वर्षदेखि यस्तो सेवा गर्दै आएकी छन्।

रूपा माली यही हुलको एक अर्की पात्र हुन्। उनी पनि वाल्मीकि क्याम्पसमा संस्कृत अध्ययन गर्ने तयारी गर्दै छन्। भन्छिन्, 'मलाई केही थाह छैन, यहाँ किन आउँछु। केही कुराले त अवश्य तान्छ मलाई। थाह छैन केले तर यहाँ आउँदा आफूलाई बिछट्टै आनन्द महसुस हुन्छ। यहाँको आभामण्डल नै बेग्लै हुन्छ।'

उनीमा भक्तिभाव र सेवाभाव जागेको छ। भक्तिभाव जागेपछि मान्छेमा एक प्रकारको पागलपन नै सवार हुँदो रहेछ क्यार। २३ वर्षीया उनी योग पनि सिक्छिन्। यहाँ विगत तीन वर्षदेखि आरतीमा सेवा गर्दै आएकी छन्। भक्तजनहरू आएर नाचेको देख्दा उनलाई धेरै खुसी लाग्छ।

हरेक गोधुलिमा करिब एक घन्टा पशुपतिनाथ मन्दिरपछाडि विशेष चहलपहल हुन्छ। पशुपति आसपासका मात्र नभई उपत्यकाका अन्य विभिन्न ठाउँका मानिस पनि साँझमा पशुपति पुगेर भजन र आरतीमा मुग्ध हुन्छन्। वागमती नदीको पूर्वतर्फ दैनिक हुने यो भक्ति सत्संगमा दिनमै सयौँ भक्तजन सामेल हुन्छन्।

काठमाडौंको मैतीदेवीकी अजिता उपाध्यायलाई यसै पनि पशुपतिनाथको मन्दिर, त्यहाँको मूर्ति, सुनको गजुर र त्यहाँ वरपरको दृश्यले निकै मोहित पार्छ। श्लेष्मान्तक वन र स–साना मन्दिर। बाँदरहरूको चहलपहल र धुप अगरबत्तीले भरिएको हावा। आरतीले वृद्धवृद्धा मात्र नभई तन्नेरीलाई पनि उत्तिकै आकर्षण गरेको छ। छटपटिएको तन्नेरी पुस्ताले आरतीमा आन्नद भेटेको छ। 'आरती र शिव ताण्डव सुन्दा आउने आनन्द सायदै अरु कुनै कुरामा आउँछ। त्यहाँ गाइने शिव ताण्डव र आरतीले आ–आफ्नो दुःख पीडा भुलाई आफू छुट्टै संसारमा रहेको अनुभूति हुन्छ,' उपाध्याय भन्छिन्। यसले केही समयका लागि मात्र भए पनि मलाई शान्ति मिल्ने उनी बताउँछिन्। हरेक साँझ पशुपति क्षेत्रमा आरती र शिव ताण्डवले नेपालको संस्कृति र कलालाई बचाउन पनि ठूलो मद्दत पुगेको उनी बताउँछिन्।

जडिबुटी बस्ने बालमुकुन्द हुमागाईं आफूलाई कुनै रुपमा धेरै काम भएमा वा बोझ धेरै भएको महसुस भएमा शान्तिका लागि पशुपतिको आरती पुग्छन्। त्यहाँ पुगेपछि उनलाई तनावमुक्त भएको महसुस हुन्छ। 'त्यहाँको बत्ती, संगीत र मेरो वरपरका व्यक्तिको भावनाले मलाई सम्पूर्ण र भरिपूर्ण भएको महसुस गराउँछ। म मेरो शैक्षिक, व्यावसायिक र भावनात्मक आशक्तिलाई बिर्सन्छु,' उनी भन्छन्। हरेकपल्ट त्यहाँ पुगेर फर्कंदा आफूलाई एकदम हल्का र पुनर्ताजगी सञ्चार महसुस गर्ने हुमागाईं बताउँछन्।

प्रकाशित: २७ जेष्ठ २०७४ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App