coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पुनर्निर्माणमा सघाउन टोल फ्री सेवा

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलक्षित निःशुल्क हेल्पलाइन (टोल फ्री) सेवा सुरु गरेको छ। आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी जानकारी दिन र गुनासो लिई तत्काल सम्बोधन गर्न प्राधिकरणले यो सेवा सुरु गरेको हो।

गत बुधबार सुरु भएको हेल्पलाइनमा एक हप्तामा एक सय ९५ जनाले गुनासो दर्ता गराएका छन्। हेल्पलाइनमा आएका अधिकांश गुनासो निजी आवास पुनर्निर्माणसम्बन्धी रहेको टोल फ्री सेवाका संयोजक रामप्रसाद भट्टराईले बताए। 'अधिकांशले दोस्रो किस्ता कहिले पाइन्छ भन्ने प्रश्न गरेका छन्,' भट्टराईले नागरिकसँग भने, 'बैंकबाट पाइने सहुलियत ऋणको प्रक्रिया, सामूहिक जमानीको निर्ब्याजी ऋण सुविधा, पहिलो किस्तासमेत नपाएका, नाम छुटेका, नामसारीलगायत विभिन्न विषयमा जानकारी लिन चाहने पनि धेरै छन्।'

नेपाल टेलिकमका प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गरेर आवश्यक जानकारी लिन सक्ने संयोजक भट्टराईले जानकारी दिए। 'हेल्पलाइनमा आएका गुनासाको जवाफ दर्ता भएको भोलिपल्ट फोनबाटै दिने व्यवस्था गरिएको छ। सम्बन्धित अधिकारीबाट भेरिफाई गरेर मात्र जबाफ दिने गरेका छौं,' उनले भने, 'आजसम्म हामीले एक सय ८२ जनालाई टेलिफोन गरेर जवाफ दिइसक्यौं।' हेल्पलाइन सेवा २४ सै घन्टा उपलब्ध हुने पनि भट्टराईले जानकारी दिए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले यो सेवा लाखौं भूकम्प पीडितका लागि उपयोगी हुने बताए। यसले पीडित तथा प्राधिकरणबीच दुईतर्फी सञ्चारमा मद्दत गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

प्राधिकरणले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा यो सेवा सुरु गरेको हो।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App