८ वैशाख २०८१ शनिबार
अन्य

एउटी ब्युटिसियनको कथा

ब्युटिसियन मीना गुरुङले ३१ वर्षअघि पोखरामा ब्युटिपार्लर खोलिन् । पोखराको रानीपौवास्थित आफ्नै घरमा उनले ‘हङकङ हर्बल ब्युटिपार्लर’ सञ्चालनमा ल्याएकी थिइन् । आफूले ब्युटिपार्लर खोल्दा अहिलेजस्तो जमाना नभएको उनी बताउँछिन् । ‘मैले ब्युटिपार्लर खोल्दा धेरैले मलाई ‘नक्कली’ को आरोप लगाए,’ उनले भनिन् ।

आफूले पार्लर सुरु गर्दाताका ब्युटिसियन पेशालाई त्यति राम्रो नमानिने उनी बताउँछिन् । ‘पहिला महिलाहरू पछ्यौरीले मुख छोपेर ब्युटिपार्लरमा आउँथे,’ उनले भनिन्, ‘स्कुल र कलेजका विद्यार्थीबाहेक फाट्टफुट्ट मात्रै गृहिणी आउँथे ।’

गुरुङ समुदायमा जन्मेकी मीनाको एसएलसी दिनेबित्तिकै लाहुरेसँग बिहे भयो । त्यतिबेला उनी १५ वर्षकी मात्रै थिइन् । बिहेपछि श्रीमान्सँग उनी हङकङ गइन् । श्रीमान् रिटायर्ड हुने समय भएपछि केही सीप सिकेर नेपाल फर्किनुपर्छ भन्ने उनलाई लाग्यो । मीनाले एक वर्ष हङकङमा ब्युटिसियन तालिम लिइन् । तालिमपछि केही समय अनुभवका लागि पार्लरमा स्वयंसेवी भएर काम गरिन् ।

नेपाल फर्केपछि श्रीमान्को सल्लाहमा पोखरामा पार्लर खोलेको उनी बताउँछिन् । पार्लर खोल्दा धेरैले आफूबारे टीकाटिप्पणी गरेको उनी बताउँछिन् । ‘‘महिला बिगार्ने पेशा गर्ने’ भन्थे मलाई । तर, मैले हिम्मत हारिनँ,’ उनले भनिन्, ‘त्यतिखेर मलाई कुरा सुनाउनेहरू अहिले मेरा नियमित ग्राहक बनेका छन् ।’

अहिले पोखराका अनुभवी ब्युटिसियनमा पर्छिन्, मीना । घरबाट सुरु भएको उनको पार्लर अहिले महेन्द्रपुलमा सरेको छ । थुपै्र महिला आफ्नो पार्लरमा तालिम लिन आउने उनी बताउँछिन् । ‘ब्युटिपार्लर चलाएर आत्मनिर्भर बन्न सकिन्छ । आफूलाई मात्रै होइन अरूलाई पनि रोजगारी दिन सकिन्छ,’ उनले भनिन् । उनको पार्लरमा १० जनाले रोजगारी पाएका छन् ।

दक्ष ब्युटिसियन बन्न चाहनेलाई आफूले सक्दो सहयोग गर्ने उनी बताउँछिन् । आर्थिक स्थिति कमजोर भएका महिलालाई निःशुल्क प्रशिक्षण पनि उनले दिने गरेकी छिन् । ‘महिला सीप सिकेर आत्मनिर्भर भई भने कसैका सामु पैसाका लागि हात थाप्नुपर्दैन,’ उनले भनिन् ।


तस्बिरः उमेश पुन

 

 

प्रकाशित: २८ जेष्ठ २०७४ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App