coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

समस्या नभएको सहर बनाउथें : करिश्मा मानन्धर

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो?

घुम्न त धेरै देशका सहर घुमेकी छु। तर, मलाई मनपर्ने सहर काठमाडौं र पोखरा हुन्। यी सहरको हावापानी मनपर्छ। नेपालका सहरका नपाइने केही छैन। बरु अरु देशका सहरमा यहाँको विशेषता भेटिँदैन। सेवा सुविधाले काठमाडौं राम्रो छ। सरकारले अझ व्यवस्थित बनाउने हो भने काठमाडौं उपत्यका सबैको सपनाको सहर बन्न सक्छ। यहाँका हावापानी, वरिपरिका डाँडाकाँडा, मठमन्दिर एकदमै राम्रो लाग्छ। नेपालका सहरको आफ्नैखाले विशेषता छन्।

काठमाडौं कसरी राम्रो बन्ला?

राजनीतिक अस्थिरताले अहिले काठमाडौं अव्यवस्थित बन्दै गएको छ। सहर व्यवस्थित पार्न ल्याएका योजना कागजमै सीमित छन्। ती योजनालाई मूर्त रूप दिने हो भने सहर सुन्दर बन्न सक्छ। अर्को कुरा यहाँ भएका सेवा सुविधालाई देशभित्रकै अन्य सहरमा पनि विकेन्द्रीकरण गर्ने हो भने मानिसको भीडभाड त्यति हुँदैनथ्यो। अग्ला र अव्यवस्थित भवन निर्माण गर्न नदिने र भएका योजनालाई मूर्त रूप दिने हो भने सहर राम्रो बन्न सक्छ। सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुँवाधुलोलाई केन्द्रमा राखेर विकास निर्माण अघि बढाउन जरूरी छ।

उपत्यकाको सबैभन्दा मनपर्ने र मन नपर्ने कुरा के हो?

यहाँको सबैभन्दा मन नपर्ने पक्ष ट्राफिक जाम र अव्यवस्थित पार्किङ हो। भएका ट्राफिक लाइट पनि मर्मत गरिएका छैनन्। नियमलाई बेवास्ता गरिएको छ। सरकारी कार्यालयबीच  विकास निर्माणका विषयमा आपसी समन्वय नहुँदा उपत्यका बिग्रँदै गएको छ। यहाँका मन पर्ने पक्ष पुरानो शैलीका मन्दिर र रमाइलोका लागि जान सकिने नजिकका ठाउँ हुन्।

केहि समयका लागि काठमाडौंको प्रमुख बन्न पाए के गर्नुहुन्थ्यो?

महानगरको प्रमुख बन्न पाए यहाँ भएको सेवा सुविधा विकेन्द्रीकरण गर्थें। सबै सरकारी निकायलाई व्यवस्थित बनाउँथें। यहाँका सबैखाले समस्या समाधान गरी नागरिकलाई सहरको अनुभूति गराउन सक्थें। त्योबाहेक सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाममा ध्यान दिएर विकास निर्माणका कार्य अघि बढाउथें। एक वाक्यमा भन्नुपर्दा समस्या नभएको सहर बनाउथें।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २९ जेष्ठ २०७४ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App