coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

युवाका 'स्ल्याङ'

'कति ल्याङ हानेको'

'ह्या गिदी नगर न सुड्डो'

'कस्तो तोरी छस् यार'

'नजिस्काउ न भाते'

'नबोल मूला'

'र्‍याग नहान त सोल्टी'

युवाको समूहमा अचेल यस्तै बोलिन्छ। सहरी युवा पुस्ताको ओठ यस्तै वाक्य बोल्न अभ्यस्त बन्दैछन्।

उनीहरुले गफगाफमा बोल्ने शब्द पुरानो पुस्ताले बुझ्दैनन्। केटाकेटा जमघट भएको ठाउँमा त झन् यस्ता शब्दको बाढी लाग्छ। एक अर्कामा आक्रोस पोख्न, माया दर्शाउन, गोप्य कुराको संकेत गर्न युवाले यस्ता शब्द बोलीमा घुसाउन थालेका छन्।

एक अर्कामा आक्रोस पोख्न, माया दर्शाउन, गोप्य कुराको संकेत गर्न युवाले यस्ता शब्द बोलीमा घुसाउन थालेका छन्।

सिधै भन्न सकिने कुरालाई बङ्ग्याएर यस्ता शब्द प्रयोग गर्दा साथीबीच कुरा गर्न सहज हुने यस्तो बोलीमा अभ्यस्त युवा बताउँछन्।

'कहिलेकाँही आफन्तका अगाडि केटासँग कुरा गर्दा यस्ता शब्द प्रयोग गर्छौं,' रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह अध्ययनरत सुमन चन्द भन्छन्, 'सामान्य शब्द प्रयोग गर्दा सबैले बु‰छन्, कहिलेकाही 'सेक्रेट' खोल्नुपर्दा यस्ता शब्द घुसाउँछौं।'

उनी यस्ता शब्द साथीसँग बसेका बेला रच्ने बताउँछन्। चन्द साथीसँग जिस्कदा साइको, हैट, छम्मा, गिदी, तोरी, र्‍याक, मामा, चट, खलास, ल्याङल्याङ, ठिस, मूला,  डल्ले, डल्ली, पुड्की, पासा, जिग्री, गोलमोल, ओल्टाइपोल्टाई, दोस्त, फिस्टे, फिस्टी, दाउरी, दाउरे, डार्लु, डार्लिङ, नानू, कान्छु, मोटु, कालु, तोरी लाहुुरे, मट्याङ्ग्री लगायतका शब्द प्रयोग गर्छन्।

अचेल 'प्लस टु' पुस्ताका किशोरले बोल्ने भाषा सुमनको जस्तै हुन्छ। उनीहरूको भाषा सबैले बुु‰दैनन्। आफूले बोलेको भाषा अरुले नबुझुन् र गोप्य कुरा थाहा नपाउन् भनेर पनि युवाले यस्ता शब्द प्रयोग गर्छन्।

साथी–साथी तथा प्रेमी–प्रेमिकाबीच धेरैजसो यस्ता शब्द प्रयोग हुन्छ। सामाजिक सञ्जालमा पनि यस्ता शब्दले स्थान लिन थालेका छन्। अङ्ग्रेजीमा 'स्ल्याङ' भनिने यस्ता शब्द नेपाली युवा आफंैले बनाउने गरेका छन्। कसैले बनाएको कुनै शब्द साथीको समूह र सामाजिक सञ्जालमार्फत पनि फैलने गरेको छ।

बाल, भेजा, आच्ची/आच्या, बोका, सन्की, बंकी, गफाडी, गधा, झकास, हावा, खुस्क्यो, र्‍याग, सोलिड, बिन्दास, झारपात, घाममा सुकाइदे, च्वाँक, बिल्ला लगायतका शब्दको प्रयोग सामाजिक सञ्जाल धेरै भइरहेको छ।

छोराछोरीले यस्ता शब्द प्रयोग गर्दा बाबुआमा बुझ्ने छाडेका छन्। 'अचेल छोराको भाषा पटक्कै बु‰िदनँ,' अनामनगरका सुरज थापा भन्छन्, 'बाबु यस्तो शब्द नबोल भन्दा उल्टै 'ह्या गिदी नगर्नुस् न बा, कति ल्याङ हानेको' पो भन्छ!' भर्खरै ११ मा पढ्ने छोराले यस्ता शब्दको को प्रयोग गर्दा उनी चिन्तित छन्। 'बोल्दाबोल्दै के–के भन्छ के–के, कहिलेकाहीँ त कुराकानी गर्दागर्दै बोल्नै नहुन शब्द पनि चिप्ल्याउँछ।' छोराले यस्ता शब्द कहाँबाट सिकेर आए थापालाई जानकारी छैन।

आधुनिक पश्चिमी शैली र अङ्ग्रेजी भाषाको प्रभावले युवाले यस्ता शब्द बोल्न थालेको भाषाविद् बताउँछन्। 'आधुनिक शैलीको प्रभाव नयाँ पुस्ताले बोल्ने स्टाइल र प्रयोग गर्ने भाषामा परेको छ,' भाषाविद् चुडामणि गौतम भन्छन्, 'नयाँ पुस्ताले प्रयोग गर्ने भड्किला शब्द नेपाली शब्दकोशमा छैनन्।'

उनी यस्ता शब्द बोलीचालीमा प्रयोग भए पनि लेखेर स्थापित गर्नु नहुने बताउँछन्। उनी अङ्गे्रजी र नेपाली–अङ्ग्रेजी मिसिएका 'स्ल्याङ' बोल्दा नयाँ पुस्ताको नेपाली भाषा कमजोर भएको बताउँछन्।

'प्रविधि विकास र साथी संगतले भर्खरका केटाकेटीले यस्ता शब्द सिक्छन्,' गौतमले भन्छन् 'नयाँ पुस्ताले अनेक भाषा सिकेर आफ्नो मौलिकता नै बिर्सने खतरा बढेको छ।'

समाजशास्त्री मृगेन्द्रबहादुर कार्की नयाँ पुस्तामा नयाँ–नयाँ भाषाको प्रयोग हुनुलाई समाज विकास र आधुनिक समाजको निर्माणका रुपमा हेर्छन्। कार्कीका अनुसार पहिले शास्त्रीय नाम हुन्थे भने अहिले सामाजिक विकासका कारण नयाँ पुस्तामा नयाँ नाम राख्ने, नयाँ भाषाको प्रयोग गर्ने र आफूलाई अरुभन्दा फरक बनाउने सोच विकास भएको छ।

'पहिले मर्यादित र सभ्य भाषाको प्रयोग हुन्थ्यो,' उनले भने, 'अहिलेको पुस्ता आफूलाई कुनै न कुनै ढंगले नयाँ बनाउन चाहन्छन्, त्यसको प्रभाव भाषामा पनि देखिएको हो।' फरक देखिने नाममा गलत शब्द बोल्ने र विकृति ल्याउनु नहुने उनी बताउँछन्।

प्रकाशित: २९ जेष्ठ २०७४ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App