स्याटलाइट निर्माणमा तल्लीन नेपाली

मङ्गलबार, ३० जेठ २०७४, ०८ : ५४ मणि दाहाल  | @maninagarik


काठमाडौं- एक वा दुई साताको अन्तरमा शनिबार वा अन्य बिदाका दिन काठमाडौं विश्वविद्यालको सभा हलमा विद्यार्थीको एक समूह भेला हुन्छ। भेलामा एकअर्काले गरेको कामबारे सुनाइन्छ र एकले अर्कोलाई 'फिडब्याक'  दिइन्छ।

ती विद्यार्थीले सन् २०१८ मध्यसम्म नेपालमै स्याटलाइट निर्माण र प्रक्षेपण गर्ने उद्देश्यका साथ काम गरिरहेका छन्। उनीहरू 'नेपाल पिक्यु वान' नामक स्याटलाइट निर्माणमा तल्लीन छन्।

पिक्यु अर्थात् पकेट क्युब भनिने सानो स्याटलाइटको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ५–५ सेन्टिमिटर हुन्छ। त्यसको तौल पनि निकै थोरै एक पाउभन्दा कम हुन्छ। अर्थात् १ सय ८० ग्राम मात्रै।

यो कार्यमा तल्लीन विद्यार्थीको नेतृत्व अन्तरिक्ष प्रविधिसम्बन्धी सामग्री उत्पादन गर्ने स्विस कम्पनीमा काम गर्दै आएका राकेशचन्› प्रजापतिले गरेका छन्। उनी केयु (काठमाडौं विश्वविद्यालय) का पूर्वविद्यार्थी हुन्। प्रजापतिले यसका लागि 'ओराइन स्पेस' नामक कम्पनी स्थापना गरेका छन्।

'स्याटलाइट बनाउने भन्नेबित्तिकै ठूलो र अर्बौ खर्च लाग्ने आमबुझाइ छ। सानो खालका स्याटलाइट ५ देखि १० लाख रुपैयाँमा बनाउन सकिन्छ र थप २० देखि २५ लाख रुपैयाँ भए प्रक्षेपण गर्न पनि सकिन्छ,' प्रजापतिले भने, 'ठूलाको हकमा भने ठूलै रकम चाहिन्छ। हामीले बनाउने सानो स्याटलाइट हो। जुन प्रविधिको विकास गर्ने हिसाबले निर्माण गरिन्छ।'

प्रजापति अरु कसैले सहयोग नगरे आफूले कमाएको पैसा लगाएरै भए पनि यो काम फत्ते गर्ने योजनामा  छन्।

सन् २०१५ को डिसेम्बरदेखि थालिएको यस परियोजमामा सुरुमा केयुका दुई विद्यार्थी (अविनिशकुमार दत्ता र सञ्जीव हुमागार्इं) जोडिएका थिए तर अहिले २५ भन्दा विद्यार्थी यसमा प्रत्यक्ष सहभागी छन्। यो समूहमा काठमाडौं र त्रिभुवन विश्वविद्यालयबाट इन्जिनिरिङ र भौतिकशास्त्र  अध्ययन गरेका  विद्यार्थी छन्। 'स्याटलाइट डिजाइनको चरणमा छौं। सन् २०१८ को मध्यसम्म यसलाई पूर्णता दिने योजना छ,' परियोजनाका कोअर्डिनेटर दत्ताले भने, 'यसमा संलग्न हुन चाहने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ। अधिकांश विद्यार्थी केयुकै छौं।'

'इपिएफएल' कार्यक्रमअन्तर्गत अन्तरिक्ष प्रविधिमा मास्टर्स गर्न स्विट्जरल्यान्ड पुगेका प्रजापति 'स्विस क्युब' स्याटलाइट निर्माण परियोजनामा संलग्न भएका थिए। १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको सो क्युब (नानो) स्याटलाइटले प्रक्षेपणको सात वर्षसम्म अन्तरिक्षमा चक्कर काटिरहेको छ।  सन् २००९ सेप्टेम्बर २३ मा भारतको श्रीहरिकोटाबाट सो स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

दुई साताअघि नेपाल आएका प्रजापतिले नेपालमा स्याटलाइट निर्माण परियोजनामा संलग्न विद्यार्थीसँग प्रत्यक्ष भेटेर यसबारे आवश्यक फिडब्याक र आगामी दिनमा गर्नुपर्ने कामबारे जानकारी दिएका छन्। 'ग्राउन्ड स्टेसन र एन्टेना निर्माणका केही व्यावहारिक काम गर्‍यौं', उनले नागरिकसँग भने। 'नेपालमा यस परियोजनामा काम गरिरहेका साथीहरूसँग पनि पहिलो पटक प्रत्यक्ष भेट भएको हो,' प्रजापतिले भने, 'यसअघि उहाँहरूसँग फेसबुक वा इमेल, स्काइपबाट सम्पर्क हुने गरेको थियो।'

अन्तरिक्षमा रहेको विकिरण नाप्ने उद्देश्यले बनाउन लागिएको नेपाली स्याटलाइट पृथ्वीको सतहभन्दा करिब ६ सय किमिमाथि राख्ने योजना रहेको कार्यक्रम संयोजक दत्ताले बताए। 'यस्तो भयो भने झन्डै डेढ वर्षदेखि २ वर्षसम्म चल्ने छ', प्रजापतिले भने।

परियोजना अघि बढाउन विद्यार्थीका अलगअलग समूह र जिम्मेवारी तोकिएको छ। 'स्पेस सिस्टम्स इन्जिनियरिङ संसारभर यस्तैगरी चल्छ,' दत्ताले भने, 'यसका लागि धेरै वर्कसप गर्नुपर्छ।'

विद्यार्थी कम्युनिकेसन, माइक्रो कन्ट्रोलर, सोलारबाट ब्याट्री चार्ज विषयको प्रोग्रामिङ जस्ता समूह विभाजन गरेर काम गरिरहेका छन्। स्याटलाइट र ग्राउन्ड स्टेसनबीचको कम्युनिकेसनका लागि एमेच्येरो रेडियो (ह्याम) अपरेटर तथा  वृहस्पति विद्या सदनका निर्देशक प्रवीणराज जोशीले सहयोग गर्दै आएका छन्। 'निर्धारित समयमै निर्माण गरेर प्रक्षेपण गर्ने योजना छ। यो परियोजना सफल भए नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ,' जोशीले भने, 'अहिलेसम्म हामी अरुको प्रविधि किन्दै आएका छौं। हाम्रो परियोजना सफल भए हामी आफैं प्रविधि निर्माण गर्न सक्नेछौं।'

सिनियर टेस्ट इन्जिनियर प्रजापति पनि यसको सफलतासँगै प्रविधिको क्षेत्रमा नेपालले ठूलो फड्को मार्ने विश्वासमा छन्। 'यसले अरुलाई पनि कार्यक्रम चलाउन आत्म विश्वास दिनेछ', उनले भने, 'चारपाँच वटा इन्जिनियरिङ कलेज मिल्दा २५–३० लाख रुपैयाँ खर्च गरेर यस्तो स्याटलाइट बनाउन र प्रक्षेपण गर्न नसक्ने भन्ने हुँदैन।' संसारमा यस्तो परियोजनालाई सहयोग गर्ने धेरै कार्यक्रम  र संस्था पनि छन्।

नेपालमा बनाइने स्याटलाइट प्रक्षेपण भारतीय रकेटको सहयोगमा गर्ने योजना रहेको प्रजापतिले बताए।

'स्विस क्युब ल्याएर भारतमा प्रक्षेषण गरिएको थियो', प्रजापतिले भने, 'भारतीय र चिनियाँको प्रक्षेपण विश्वनीय र सस्तो पनि छ।' भारतले व्यावसायिक रुपमा यो काम गर्दै आएको छ। गत महिना मात्रै भारतले १ सय ४ वटा स्याटलाइट एउटै रकेटबाट प्रक्षेपण गरेको थियो। 'भारतले त्यस समयमा पठाएका सबै स्याटलाइट ठूला होइनन्,' प्रजापतिले भने, 'केही ठूला र अधिका साना स्याटलाइट हुन्। भारत र चीनले व्यावसायिक रुपमा  अन्तरिक्ष प्रक्षेपण कार्यक्रम चलाइरहेका छन्।'

संसारमा सानो–सानो स्याटलाइट बनाउन भर्खरभर्खरु सुरु भएको हो। 'भविष्यका लागि यो ठूलो बिजनेसको विषय हो। अहिले सानो स्याटलाइट प्रक्षेपण गर्ने रकेट नभएर केही समस्या भएको हो', उनले भने, 'अब त्यस्तो अवस्था नहोला।'

विद्यार्थीका यस्ता परियोजनालाई  जापानको किबोक्युब भन्ने कार्यक्रमले पनि सहयोग गर्दै आएको छ। यो कार्यमअन्तर्गत एसियाली देशका विद्यार्थीले बनाउने स्याटलाइटलाई प्रक्षेपण गर्न सहयोग गरिन्छ। प्रजापतिले अन्तरिक्षसम्बन्धी कार्यक्रम सञ्चालनका लागि नेपाल पनि सम्भावना भएको देश रहेको बताए।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्डनमा नेपाली पहिरन

लन्डनमा नेपाली पहिरन

निर्माता तथा फेसन डिजाइनर पुनम क्षेत्री गौतमले डिजाइन गरेका नेपाली डिजाइन लन्डनमा प्रदर्शित भएका छन् । ‘एसएम ग्लोबल क्याटवाक फेसन...

डेटिङमा कल्की

डेटिङमा कल्की

निर्देशक अनुराग कश्यपसँग विवाह गरेर चोट पाएकी बलिउड अभिनेत्री कल्की कोचिलिनले मल्हम लगाउने साथी पाएकी छिन् । कल्कीले फिल्म ‘एयरलिफ्ट’...

ओस्कारमा 'सेतो सूर्य'

ओस्कारमा 'सेतो सूर्य'

ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ।...

'मोडल हन्ट'मा र्‍याम्प शो

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका...