coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

देउवासँग अपेक्षा र शंका

विश्वभरका जनता अहिले दुई पृथक ढंगको शतवार्षिकी मनाई सम्झना गरिरहेका छन् दुई महापुरूषलाई। दुई पृथक ढंगको राजनीतिक प्रयोगको थालनी भएको थियो एक सय वर्षअगाडि मानव सभ्यतामा। सन् १९१७ रुसमा बोल्सेविक क्रान्तिबाट लेनिन जारशाही समाप्त गरी कम्युनिष्ट पार्टीको सत्ता निर्माण गर्न सफल भएका थिए, यो नयाँ प्रयोग थियो विश्वमा। त्यसपछि कम्युनिष्टहरूमा 'सत्ता बन्दुकको नोकबाट निस्कन्छ' भन्ने विश्वास बढ्यो र झण्डै आधा पृथ्वीमा सत्ता परिवर्तन त्यसैगरी भयो।

प्रम देउवाले स्मरण राख्न जरुरी छ, माओवादी जनयुद्ध उनी प्रथम पटक प्रम भएको समयमा नै सुरु भएको थियो। जनयुद्ध र संसदीय व्यवस्था रक्षाको घम्साघम्सीमा हजारौं नेपाली मारिए।

नेपालसँगै टाँसिएकै बिहारको चम्पारनमा त्यही समय मोहनदास करमचन्द गान्धी अनौठो प्रयोग गर्दै थिए लोकतान्त्रिक र स्वतन्त्रता आन्दोलनको। गान्धीको 'चम्पारन सत्याग्रह' किसानका मुद्दाहरूसँग सम्बन्धित थिए।  गान्धीको त्यो प्रयोग तत्कालीन बृटिस शासनलाई मात्र होइन, नेपालका तत्कालीन शासक राणाहरूका लागि पनि अनौठो र अचम्मित पार्नेखालको थियो। चम्पारन सत्याग्रहको परिघटनाले मोहनदासलाई 'महात्मा' तर्फको यात्रामा पुर्‍यायो, उनले लुगा त्यागे यहीँबाट। गान्धी चम्पारन किसान आन्दोलनको सफलताले मजदुर, दलित र महिला आन्दोलनसँग जोडिए र सफलता पनि पाए। गान्धीका यिनै प्रयासले भारतीय राष्ट्रिय कांग्रेस 'सहरिया क्लबबाट' ग्रामीण जनाधार भएको पार्टीमा रूपान्तरित भयो र भारतको स्वतन्त्रता आन्दोलनसँग जोडियो।      

नेपालमा एकतन्त्रीय राणा शासनविरुद्ध विश्वेश्वरप्रसाद कोइरालाले गान्धीको सत्याग्रहबाट प्रभावित हुँदाहुँदै पनि लेनिनको तरिका अपनाए क्रान्ति गर्न। तत्कालीन विश्व परिवेशमा समाजवादीहरू सत्याग्रहमाथि खासै विश्वास गर्दैनथे र  बिपी पनि भारतको समाजवादी आन्दोलनमा सक्रिय थिए। बिपीले २००७ सालमा राणाशाहीविरुद्ध गरेको सशस्त्र आन्दोलन नेपालमा सत्ता परिवर्तनको स्थायी माध्यमझंै बन्न पुग्यो लामो समयसम्म। कैयन् सफल र असफल सशस्त्र आन्दोलन भए नेपालमा। अझै पनि बन्दुक, बम र बारुद बोकेर हिँड्ने राजनीतिक जमात नेपालको हिमाल, पहाड र तराई सर्वत्र छन्।

शेरबहादुर देउवा विश्व इतिहासको दुई महान् घटनालाई शतवार्षिकी मनाइरहँदा नेपालको प्रधानमन्त्री भएका छन् चौथो पटक। एक सय वर्षअगाडिको त्यो समयलाई आज करोडौं मानिस स्मरण गरिरहेका छन् भने त्यसको कारण अरु केही नभएर सम्पूर्ण मानव सभ्यतामा यी दुई महापुरुषको सत्कर्म नै हो। नेपालको सन्दर्भमा अबको एक सय वर्षपछि सन् २०१७ लाई कसरी सम्झने भन्ने जिम्मेवारी प्रम देउवाको काँधमा छ अहिले। प्रम देउवाको चुनौती र अवसरबारे यतिखेर प्रशस्तै छलफल र बहस भइरहँदा अवसरहरूको इतिहास निर्माण गर्ने नेतृत्व नियतिले देउवाको काँधमा सुम्पेको छ। सन् २०१७ को क्यालेन्डरका प्रत्येक दिन नेपाली जनता देउवासँग अपेक्षा र शंका दुवै गरी अगाडि बढ्नेछन् अब।

प्रम देउवा कुनै पनि अर्थमा गान्धी र लेनिनको नजिक छैनन्, छेउछाउ पनि छैनन्। तर देउवाले पाएको प्रमको पद र कांग्रेस पार्टीको सभापतिको जिम्मेवारी नेपालका महापुरुष विश्वेश्वरप्रसाद कोइरालाद्वारा सिर्जित सोच र परिश्रमको फल हो। बिपी कोइराला लेनिन र गान्धी दुवैको सोच र विचारबाट प्रभावित व्यक्ति थिए।   

दुई दशकअगाडि भारतको राष्ट्रपति पदमा वैज्ञानिक एपिजे अब्दुल कलाम थिए। त्यही समय नेपालको प्रममा सम्भवतः शेरबहादुर देउवा पनि थिए। कलामले कुनै पनि मानिसको सफलताको कारण के हुनसक्छ भन्ने सन्दर्भमा बढो आश्चर्य लाग्ने र सबैलाई अचम्मित पार्ने उत्तर खोजेका थिए। कलाम भन्छन्– 'कठोर परिश्रम, ज्ञान र टिम भावना भन्दा पनि नेताले आफ्नो असफलताबाट सिक्ने र त्यो असफलता नदोहोरिन व्यवस्थापन गर्न जाने सफलता प्राप्त हुन्छ।' यो सूत्र दिए कलामले। यो सूत्र आज प्रम देउवाका लागि मूलमन्त्र हुनसक्छ राज्य सञ्चालनको लागि, आफ्नो जिम्मेवारी पूरा गर्नका लागि।   

प्रधानमन्त्री शेरबहादुर देउवा गणतन्त्र नेपालमा पहिलो पल्ट प्रधानमन्त्री भएका छन्। दुई दशकअगाडि संवैधानिक राजतन्त्रअन्तर्गत उनी तीनपटक प्रधानमन्त्री भएका थिए। तीनपटक प्रम हुँदा सम्भवत देउवाले थोरै सफलता र धेरै असफलताको अनुभव संगालेको हुनुपर्छ। देउवा तेस्रो पटक प्रम भएको समय र अहिले चौथो पटक प्रम भएको बीच नेपाल र विश्वमा नयाँ युग प्रारम्भ भएको छ।  १२ वर्षमा खोला पनि फर्कन्छ भनेझंै युग पनि पछाडि फर्कंदैछ। नयाँ युग ठीक छ कि बेठीक अहिले भन्न सकिन्न, यसमा व्यापक मन्थन चल्दैछ विश्वव्यापीरूपमा। विश्व नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ नेतृत्वबाट अगाडि बढ्ने तरखरमा छ।

विश्व परिदृष्यमा बहुमतको पहिचानले नयाँ आयाम लिएको छ। बहुमत जातिको राष्ट्रियताको नाराले देशका राजनीतिक सीमाहरूलाई कठोर र एकल जातीय वर्चश्वको बनाइरहेको छ। कहीँ भाषाका नाममा, कहीँ जातिका नाममा र कहीँ धर्मका नाममा बहुलवाद धरापमा पर्दैछ। त्यस्तै विश्व अर्थतन्त्र संरक्षणवादतर्फ जान अमेरिका र बेलायत जस्ता देश जो बजारमुखी उदारवादी अर्थतन्त्रका प्रणेता थिए, पछाडि फर्कंदैछन्। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रम मार्गेट थ्येचरको संयुक्त प्रयासबाट विश्वव्यापीरूपमा विस्तार भएको बजारमुखी अर्थनीति यतिखेर यिनै दुई देशका नेताको सक्रियतामा संरक्षणवादी मार्ग समात्ने दिशामा अगाडि बढ्दैछ।

नेपालको उत्तर छिमेकी चीन उदारवादी विश्व अर्थतन्त्रको नेतृत्वदायी भूमिकामा पुग्ने सम्भावना बढ्दो छ। बन्द राजनीति र खुला अर्थनीतिको साँढे तीन दशकको अभ्यासमा चीनले प्राप्त गरेको आर्थिक समृद्धिको सफलताले विश्व समुदायलाई आकर्षित गरिरहको छ। पुँजीवाद र राजनीतिक उदारवाद रथका दुई पांग्रा हुन् भन्ने पश्चिमा बुद्धिजीवीको अकाट्य विश्वासलाई चीनले ठाडो चुनौती दिएर नयाँ राजनीतिक सिद्धान्त विश्वसामु अगाडि ल्याएको छ। पुँजीवादको विकास खुला लोकतान्त्रिक प्रणालीमा मात्र होइन, नियन्त्रित र निर्देशित राजनीतिमा पनि सम्भव छ भन्ने प्रयोग चीनमा सफल भइरहेको छ। विश्वलगायत नेपालले रेगन र थ्येचरलाई 'मसिहा' ठाने समृद्धिका लागि। तर यी दुईको उदारवादी अर्थनीतिको सोचले पुँजी वृद्धि भयो तर न्यायपूर्ण वितरण नभएर असमानता र द्वन्द्व विश्वभर विस्तार भयो अहिले। अमेरिका र बेलायतमा त्यही भएर संरक्षणवाद अगाडि आइरहेको छ। अब नेपालमा के गर्ने?   

   राजनीतिलाई बहुमत जाति र धर्म अहंकारले नाजिवादतर्फ डोराएको छ। भारत त्यसको उदाहरण हो। उत्तर र पश्चिम भारतमा धर्मले राजनीतिको दिशा निर्धारण गर्दैछ भने दक्षिणमा जातीय र भाषिक कारणले। नेपालमा त्यसको प्रभाव परेको छ, दुर्भाग्यले अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने कम्युनिष्ट पार्टीले त्यो सोच मलजल गर्दैछ नेपालमा।

विश्व राजनीतिमा पुँजीवादमा आएको संकटसँगै राजनीतिमा पनि संकट छाएको छ। नयाँ आर्थिक, सामाजिक र राजनीतिक घटना र परिघटना विश्वमा भइरहँदा नेपाल पनि दुई दशकदेखि यसको प्रभावबाट अछुतो रहन सकेन। उदारवादी अर्थराजनीतिसँगै नेपालको ग्रामीण क्षेत्रमा माओवादी जनयुद्ध सुरु भयो। जनयुद्ध विस्तारित भएर तीन दशकको संघर्षपछि प्राप्त संसदीय व्यवस्था धरापमा पर्‍यो। प्रम देउवाले स्मरण राख्न जरुरी छ, माओवादी जनयुद्ध उनी प्रथम पटक प्रम भएको समयमा नै सुरु भएको थियो। जनयुद्ध र संसदीय व्यवस्था रक्षाको घम्साघम्सीमा हजारौं नेपाली मारिए, अरबौंको क्षति भयो। नेपालमा गृहयुद्ध भयो।

देउवा प्रथमपटक प्रम भएको समयमा सुरु भएको गृहयद्ध दोस्रो र तेस्रो पटक प्रम हुँदासम्म यसले अन्तर्राष्ट्रिय आयाम लियो र भारतको मध्यस्थतामा १२ बुँदेबाट एक दशकअगाडि निकास पायो। यहाँनेर प्रम देउवाले आफ्नो  विगतको प्रम कार्यकाललाई समीक्षा गर्न जरुरी छ र सफलताको सूत्र वैज्ञानिक राष्ट्रपतिबाट सिक्न सक्छन्। १२ बुँदेपछि नेपालको राजनीतिक घटनाक्रम अत्यन्तै वेगवान र सबैको सोचभन्दा पर गयो। वास्तवमा नेपालका राजनीतिक दल र तिनका नेताभन्दा नेपाली जनताले गणतन्त्रको आन्दोलन सडकबाटै गरिदिए र सबै दल र तिनका नेतालाई चकित पारे।

प्रम देउवालाई पश्चिमको विचार, सोच र सम्पर्क भएको भनी नेपाली समाजमा चित्रण गरिएको छ। माथि पश्चिमको समाजमा आएको परिवर्तन, नयाँ सोच र विचारलाई संक्षिप्तमा उल्लेख गर्दै नेपालको गणतन्त्रबारे चर्चा गर्नुपर्र्ने कारण अरु केही नभएर प्रम देउवाको नयाँ रूपान्तरणको खोजी हो। व्यक्ति देउवाको चर्चा गर्नुपर्ने कारण केही थिएन, छैन।  तर प्रम र कांग्रेस सभापति देउवालाई इतिहास समयक्रमसँग जोडेर चर्चा गर्नुपर्ने कारण यथेष्ठ छन्। 

देउवा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेताको हैसियतबाट प्रधानमन्त्री हुन पुगेका छन्। नेपालको सार्वभौम संसद्को झण्डै दुई तिहाई मत प्राप्त गरी देउवा प्रम भए। अब संविधानतः माघ ७, २०७४ सम्म तीनवटा निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको काँधमा छ। देउवालाई  कांग्रेस पार्टी, नेपाली कांग्रेस संसदीय दल र संसद्मा उपस्थित एकीकृत मार्क्सवादी लेनिनवादी पार्टी अर्थात एमालेबाहेक अधिकांश साना/ठूला सबै दलको समर्थन प्राप्त भएको देखिन्छ । यस्तो अभूतपूर्व भरोसा र विश्वास कांग्रेस सभापति देउवालाई किन र के उद्धद्दश्य प्राप्तिका लागि भएको होला? देउवाले सबैतिरबाट पाएको अपार विश्वास र समर्थनलाई कसरी साकार पार्न सक्छन्? यी मननका विषय भएका छन्। यिनलाई बुँदागतरूपमा हेर्नु सान्दर्भिक होला।

सर्वप्रथम सबैले प्रम देउवा रूपान्तरित भएको हेर्न चाहेका छन्। यसको सन्देश प्रवाह गर्ने काम देउवा स्वयम् र उनको टिमको हो। दोस्रो संयुक्त सरकार निर्माण गर्न र चलाउन सक्षम छु भनी विश्वास र भरोसा दिलाउने जिम्मेवारी पनि प्रम देउवाको नै हो। तेस्रो, नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध राख्दै भावी तीनवटा निर्वाचनमा पार्टी सभापतिको हैसियतले समर्थन क्षेत्र विस्तार र विजय गराउने नेतृत्वदायी भूमिका पनि देउवाकै हो। चौथो, क्षेत्रीय मुद्दाहरूले राष्ट्रिय मुद्दाहरूलाई गौण बनाइरहेका छन्। सबै क्षेत्रीय मुद्दालाई राष्ट्रिय भावधारासँग जोडेर अखण्ड र सार्वभौम नेपालको गौरवशाली इतिहास जोगाउने काम पनि यतिखेर इतिहासले देउवाको काँधमै सुम्पिएको छ। पाँचौँ, असन्तुलित हुँदै गएको भूराजनीतिलाई सन्तुलित पार्ने र भारतबाट नेपालको संविधानलाई स्वीकार्य गराउने कूटनीतिक पहल पनि देउवाले गर्नसक्नुपर्छ र अन्तमा सरकार छ र देशमा कानुनी शासन पनि छ भन्ने प्रत्याभूति गरी जनविश्वास जित्ने काम पनि देउवाको सत्तरी वर्ष नाघेको काँधमा आइपरेको छ।

अन्तमा, प्रम देउवाले गर्ने गल्तीले देश र समाजले अपूरणीय क्षति बेहोर्नुपर्छ, लोकतन्त्र खतरामा पर्छ।  केही दिनअगाडि नेपालको संसद्मा सांसदहरूलाई बडो सारगर्भित तरिकाले चिन्तक प्रदीप गिरिले उर्दुको एउटा शेर सुनाए। प्रम देउवाको सत्संग चिन्तक गिरिसँगै बाक्लै होला। देउवाले गिरिको ओजिलो स्वरमा त्यो शेर सुनेको हुनुपर्छ। शेर यस्तो छ– तारिख के इन राहो.मे जव्र भी होते देखा है, लम्हे ने खता की थि शदियौं ने सजा पाई।   

प्रकाशित: ३० जेष्ठ २०७४ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App