७ वैशाख २०८१ शुक्रबार
विचार

सहवरणको लालसा

मैथिली भाषाका प्रख्यात रंगकर्मी रमेश रञ्जन सार्वजनिक पद धारण गरेकाले मात्र प्रसिद्धि प्राप्त गरेका लब्धप्रतिष्ठित व्यक्ति होइनन्। बहुप्रचारद्वारा नाम चलाइएको र नाम चलेकाले गर्दामात्र प्रख्यात भएको 'नामीगिरामी' (सलेब्रिटी) हुनुमात्र पनि उनको पहिचान होइन। उनले आफ्नो कृति आफ्नै मेहनतबाट हासिल गरेका छन्। मैथिली भाषा एवं साहित्यको उत्थानमा उनको उल्लेख्य योगदान छ। प्रगतिशील आस्थाका रचनाकार भए पनि उनको सिर्जनामा छटपटी एवं आक्रोशसँगै सौन्दर्यबोध पनि पाइन्छ। कुन्नि के सोचेर हो, रञ्जन हालसालै नेकपा (एमाले) नामधारी राजनीतिक दलसँग आबद्ध भएका छन्। भन्नलाई त उनको राजनीतिक प्रविष्टिलाई घरफिर्ती भनिएको छ तर त्यो सब भन्ने कुरामात्रै हो। उनी जस्ता कैयौं जनजाति, दलित एवं मधेसीले आफ्नो सबभन्दा ऊर्जावान वय खर्चेको वामपन्थी दल र आजभोलिको एकल नृजातीयताका पक्षधर एमालेबीच मिल्दोजुल्दो नामबाहेक अरू कुनै समानता भेट्टाउन सकिँदैन।

आजको मितिमा पूर्वमाओवादीहरू जत्तिको प्रतिबद्ध यथास्थितिवादी दिउँसै बत्ति बालेर पनि खोज्न सकिँदैन।

जस्तोसुकै मधेसी संस्कृतिकर्मी एकाएक 'मधेस विरोधी' सार्वजनिक छवि भएको राजनीतिक दलमा संलग्न हुन पुग्नु ठूलो समाचार थियो। रञ्जन त पदासीन प्राज्ञ नै भए। त्यसैले 'राष्ट्रिय' भनिने कतिपय सञ्चारमाध्यमले त्यस सामान्य घटनालाई सांकेतिक परिघटनाका रूपमा चित्रण गरे। हुन पनि दोस्रो चरणको स्थानीय निर्वाचनको मुखमा कुनै नाम चलेको मधेसी एमालेमा सामेल हुनुको प्रचारात्मक उपयोगिता चानचुने होइन। सिंगो राजनीतिक दलको अनुहारमा लागेको दाग मेट्ने रूमालको भूमिका स्वीकार गर्नु पनि हिम्मतको काम हो। रञ्जन साहसी सर्जक त थिए नै, अहिले भने आँटिला राजनीतिक उद्यमीका रूपमा पनि देखिएका छन्। यसअघि माओवादी केन्›भित्र उनको भूमिका सजावटको मात्र थियो। एमालेले भविष्यमा उनलाई सक्रिय कार्यकर्ता बनाएर मधेसको राजनीतिक रणभूमिमा उतार्न सक्छ।

उपयोगवादी राजनीतिकर्मीहरू नयाँ एवं पुराना दलबीच आवतजावत गरिरहनु अनौठो कुरो होइन। व्यक्तिगत एवं सामूहिकतवरले माओवादी छापनाम (ब्रान्ड नेम) बाट पाउन सक्ने सबै उपलब्धि हासिल गरिसकेपछि बाबुराम भट्टराईले आजभोलि 'नयाँ शक्ति' अवधारणाको सफा रामनामी ओढेका छन्। एमालेबाट माओवादी हुँदै मधेसी जनाधिकार एवं त्यसपछि संघीय समाजवादी फोरमसम्मको उपेन्› यादवको राजनीतिक यात्रामा कमसेकम एउटा निरन्तरता छ– उनले नेपालको स्थायी सत्तासँग घुर्की, लेनदेन वा समन्वयको सम्बन्ध सधैँ कायम राख्ने गरेका छन्। विजय गच्छदारका लागि सबै विकल्प समान छन्। समसामयिक नेपालमा अवसरवादबाहेकका राजनीतिक सिद्धान्तहरू असान्दर्भिक बन्दै गएको निष्कर्षमा पुग्न गहिरो विश्लेषण गरिराख्नुपर्दैन। जुनसुकै राजनीतिकर्मी जुनै दलमा गए पनि सम्बन्धित व्यक्ति वा समाजलाई खासै फरक पर्दैन। संस्कृतिकर्मी, बुद्धिजीवी वा प्राज्ञहरूको सैद्धान्तिक तरलता भने अत्यासलाग्दो लाग्ने रहेछ।

अभिग्रहणको अभिप्सा

भनिन्छ, निम्न सोच भएकाहरू अन्य व्यक्तिका बारेमा चियोचर्चो गर्ने गर्छन्। औसत स्तरका सामान्यजनको चासो समाजमा घटित भइरहेको गतिविधिमा हुन्छ। उच्च मस्तिष्कहरू भने चिया वा अन्य त्यसभन्दा बढी प्रभावकारी पेयपदार्थको चुस्कीसँंगै विभिन्न विचारका बारेमा विमर्श गर्न रूचाउँछन्। दैनिक जीवनको यथार्थ त्यतिविघ्न खण्डित हुँदैनन्। व्यक्ति, घटना एवं विचार एकअर्कासँग नछुट्टिने गरी जोडिएका हुन्छन्। प्राज्ञ रञ्जनको एमाले प्रवेश अवसरको खोजीमा रहने कुनै एउटा पात्रको व्यक्तिगत निर्णय हो। जुनसुकै समाजमा सत्तासँग जोडिन चाहने महात्वाकांक्षी बुद्धिजीवीहरूको सामान्य प्रवृत्तिको परिचायक पनि हो। त्यसका साथै अधीनस्थ समुदायका प्रख्यात व्यक्तिहरूमा यदाकदा देखिने मूलधार मोहको वैचारिक पक्ष पनि कमजोर छैन। राजनीतिक, सामाजिक, सांस्कृतिक वा आर्थिक उपलब्धिमार्फत उल्लेख्य हैसियत हासिल गरेका सफल व्यक्तिहरूमा सभ्रान्त पंक्तिमा पुग्ने चाहना उर्लेर आउँदो रहेछ। सभ्रान्त स्वीकृतिले मात्र व्यक्तिगत उपलब्धिले सार्वजनिक सफलताको मान्यता पाउँछ। त्यस्तो छनोटले सम्बन्धित समुदाय, वर्ग वा लिंगलाई समग्रमा खासै फाइदा हुँदैन। पहिचानसंँग जोडिएको प्रवर्गको दृश्यता (भिजिबिलिटी) भने केही बढ्छ।

अवधारणाहरूको व्याख्या अतिशयोक्तिमार्फत सजिलो हुन्छ। अमेरिकी स्वतन्त्रताको घोषणा सन् १७७६ तिरै भइसकेको हो। दासताको उन्मूलन पनि सन् १८६५ मै सम्पन्न भयो। तर अहिले पनि श्यामवर्णको एउटा अमेरिकी अमीर पात्र गोरो नश्लको कुनै मध्यमवर्गीय व्यक्ति जत्तिको सामाजिक सम्मान पाउने अपेक्षा राख्न सक्दैन। भारतमा कम्तीमा तीन मुसलमान व्यक्ति राष्ट्रपति पदमा आसीन भइसकेका छन्। भारतीय कार्यकारी प्रमुखहरूमा सबभन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा एउटी महिलाको नाम लिने गरिन्छ। सामान्य मुसलमान एवं औसत महिलाको सामाजिक हैसियत भने अहिले पनि खासै बदलिएको छैन। यी र यस्ता उदाहरण नश्ल, धर्म वा लिंगसँग मात्र सम्बन्धित छैनन्। एकल नृजातीयताद्वारा निसृत सांस्कृतिक पुँजीका सन्निहित कमजोरी यस्तै प्रकारका हुन्छन्। सफल व्यक्ति स्वीकृत भए पनि सामान्यजनलाई खासै फरक पर्दैन। तर मूलधारमा समाहित हुन चाहने अधीनस्थ व्यक्तिहरूको चिरस्थायी चाहनाका पछाडि अलिकति लोकानुरागी भाव पनि रहेको हुन्छ। मूलधारको मान्यताले सीमान्तीकृत समुदायको व्यक्तिलाई आत्मघृणा (सेल्फ लोदिंग) बाट मुक्त हुन सघाउँछ।

एकल नृजातीयता हावी रहेको समाजमा भौतिक सफलता हासिल गरे पनि अधीनस्थ समुदायका व्यक्तिहरू सदैव मानसिक दबाबमा रहन्छन्। तिनले पाइलैपिच्छे आफ्नो 'राष्ट्रियता' सावित गरिरहनुपर्ने हुन्छ। तिनका सबै उपलब्धि योग्यता, गुणवत्ता एवं परिश्रमको फल हो भन्ने कुरा बारम्बार दर्शाइरहनुपर्छ। निरन्तर स्वयंलाई योग्य देखाउने अनवरत प्रयत्नले आत्मविश्वाश कमजोर बनाउँछ। अनि त्यसपछिको असुरक्षा भावबाट जोगिन बाह्य अभिपोषण (एक्सटर्नल वैलडैसन)को आवश्यकता महसुस हुन्छ। वर्चस्वशाली समुदायले मान्यता दिएपछि निरन्तर आफ्नो औचित्य स्वयं आफँैलाई सम्झाइरहनुपर्ने मान्यताबाट मुक्ति मिल्छ। त्यसैले केही पाउने लोभ वा प्राप्त उपलब्धि गुमाउन सक्ने डरबाट माथि उठिसकेका सफल अधीनस्थहरू पनि स्थायी सत्तासँग जोडिन लालायित रहने गर्छन्। आत्मअनुगमन एवं स्वेच्छिक निगरानीद्वारा स्वयंलाई नियन्त्रणमा राख्ने कठिन जिम्मेवारीबाट फुत्कने सबभन्दा सहज बाटो आत्मसमर्पण नै हो। त्यसपछि विवादास्पद मुद्दाबारे बहस हुँदा विषय परिवर्तनद्वारा छलफलबाट उम्कनुपर्ने बाध्यता समाप्त हुन्छ। कुरा अंगीकृत विवाहित महिलाको भइरहँदा 'विद्यापति पदावलीमा वर्गीय चिन्तन' जस्तो बौद्धिक विमर्शतिर वार्तालापलाई मोड्नुपर्ने आवश्कता रहँदैन।

आधुनिक शासन प्रणालीको स्थायित्वबारे फ्रान्सेली चिन्तक मिसेल फुकोले शासित मनोवृति (गभर्नमेन्टैलिटी) अवधारणा प्रस्तुत गरेका छन्। विगतमा जस्तो सत्ताले विरोधीलाई अब डर देखाएर तह लगाउनु पर्दैन। आफ्ना समर्थकलाई लोभ र लाभको डोरीले बाँधेर राख्न पनि पर्दैन। स्वअनुशासनका सामाजिक एवं राजनीतिक संरचनाहरूको बनोटले गर्दा व्यक्ति स्वयं राज्यको चाहनाअनुसार समनुरूप बन्ने प्रयत्नमा रहन्छ। मूलधारबाट बाहिर बस्ने निर्णयका जोखिम भौतिकभन्दा पनि मानसिक बढी हुने भएपछि अधिकांश अधीनस्थ समुदायका व्यक्तिहरू अनुसारक (कन्फर्मिस्ट) बन्न पुग्छन्। आत्मसमर्पण पनि एक प्रकारको स्वतन्त्रता हो। भगवान कृष्णले भक्तिमार्गलाई मुक्तिको सबभन्दा सहज एवं उत्तम विधि ठहर्‍याएका त्यसै होइनन्।

स्वाधीनताको चाहना परित्याग गरेर मूलधारमा समाहित हुने बाटा विभिन्न छन्। नेपालमा भने 'राष्ट्रवाद' सबैथरी उपलब्धिको मुख्य मापक भएकाले जतिसुकै सफल अधीनस्थ व्यक्तिले पनि राजनीतिक स्वीकृति खोज्ने रहेछन्। नेपालको एकमात्र 'डलर अरबपति' विनोद चौधरी एवं घरानियाँ मारवाडी व्यापारी राज्यलक्ष्मी गोल्छाको राजनीतिक छनोट नाममा कम्युनिस्ट, मार्क्सवादी एवं लेनिनवादी झुण्डिएको दल पर्छ। सन् १९९० पछि अत्यधिक फस्टाएको गैसस उद्यम एवं मानवाधिकार व्यवसायमा एकाध अपवादबाहेक एमाले सम्बद्ध पेशाकर्मीको एकाधिकार छ। व्यापारिक गिरोह एवं सेवा व्यवसायका गुटबन्ध (कार्टेल) मात्र होइन, श्रम संगठनहरूमा समेत मालिकसम्बद्ध दलले नियन्त्रण कायम राखेको छ। यस्तो अवस्थामा अधीनस्थ समुदायका प्रभावशाली व्यक्तिहरूलाई स्थायी सत्ताको आमुख दलसँग परहेज हुनुपर्ने हो। तर पूर्ण प्रभुत्वअन्तर्गत बाँचिरहन स्वतन्त्र परिकल्पनालाई समेत परित्याग गर्नुपर्ने हुन्छ। संघर्ष भन्दा समर्पण सहज लाग्ने एउटा मुख्य कारण वर्चस्वले बाँधेको सुझबुझको स्थापित परिधि पनि हो।

सोचको परिसीमा

संसारमा राष्ट्रवादिताको सबभन्दा असन्तुलित एवं महँगो मूल्य नेपालका सामान्यजनले तिर्नुपरिरहेको छ। विपन्नहरू पश्चिम एसियाका देशमा खुनपसिना बगाउँछन्। तिनको कमाइले व्यापार गर्नेहरू कर छली गर्न कत्ति पनि धक मान्दैनन्। भूकम्पपीडितहरू बालबच्चा अरूलाई सुम्पेर वा मिर्गाैला बेचेर गुजारा चलाउँछन्। दूरभी सन्धिद्वारा राज्यकोष भागबन्डा गरेर खाने बानी परेकाहरूलाई भने जनतालाई गोली हानेर भए पनि संविधान जारी गर्ने हतारो हुन्छ। खोक्रो राष्ट्रवादको परिभाषा खोज्न धेरै टाढा जानुपर्दैन, दिनभर त्रिभुवन विमानस्थल वा गड्डाचौकीका उदास अनुहार नियाले पुग्छ। पोटिलो राष्ट्रवाद नाफा क्षेत्रका शिक्षा, स्वास्थ्य, निर्माण, पर्यटन, आयात र वितरण व्यापार, बैङ्क एवं बिमा क्षेत्रका व्यवसायीहरूको रातोपिरो अनुहार तथा तिनका वातानुकूलित कारमा देख्न सकिन्छ। यस्तो रूअसन्तुलित सन्तुलन' कायम राख्नैका लागि पनि शक्ति सन्तुलनमा परिवर्तन जरूरी छ। त्यस्तो हुनसक्ने सम्भावना भने देखिँदैन। राजनीतिक गन्जागोलले सामाजिक ऊर्जा पनि नष्ट गरिरहेको छ। वर्चस्ववादको विस्तारले अधीनस्थहरूलाई निरीह बनाएको छ। त्यो कुरा तिनको राजनीतिक छनोटमा पनि देख्न सकिन्छ।

नेपाली कांग्रेसभित्र प्रजातान्त्रिक चरित्ररूपी हिंग नभए पनि हिंग बाँधेको टालो अद्यापि बाँकी छ। राप्रपाको हिन्दुत्ववादको आकर्षण अधीनस्थ समुदायमा देखिनु अस्वाभाविक होइन। असुरक्षितलाई लठ्याउन धर्म जत्तिको प्रभावशाली अफिम कुनै हुँदैन। माओवादीप्रतिको मोह पनि यथास्थितिसँग विरक्तिएकै परिणाम हो, यद्यपि आजको मितिमा पूर्वमाओवादीहरू जत्तिको प्रतिबद्ध यथास्थितिवादी दिउँसै बत्ति बालेर पनि खोज्न सकिँदैन। तर एकल नृजातीयताको देशाहंकार, एउटै भाषा लाद्ने अठोट, एउटा समुदायिक पोशाकको दम्भ, एकैथरी जीवनशैलीको प्रभुत्व एवं एउटामात्र जातिको हालीमुहाली भएको नेकपा (एमाले) जस्तो पार्टीमा मधेसी, जनजाति वा दलित कसरी अटाउँछन्? यस प्रश्नको उत्तर भेट्टाउन सजिलो छैन। सामान्य अवस्थामा कुनै मधेसी एमाले हुनु भनेको कुनै हिन्दु वा इसाई तालिवान हुने जस्तैको विरोधालंकार (आक्सीमोरण) हुनुपर्ने हो जस्तो लाग्छ। तर त्यस्तो किन छैन? त्यस प्रश्नको उत्तर खोज्न फेरि पनि अधीनस्थ समुदायहरूबाट निरन्तर भइरहेको बौद्धिकता एवं सिर्जनात्मकताको पलायन प्रक्रियामै फर्किनुपर्ने हुन्छ।

एकल नृजातीयताले निर्माण गरेको समसोचको अन्तर्निहित विशेषता नै के हो भने विसम्मतिलाई मूलधारले सोझै देश›ोह ठहराइदिन सक्छ। दशकौंसम्म नेपाली कांग्रेसका हर्ताकर्ताहरू 'भारतीय दलाल' एवं 'अराष्ट्रिय तत्व' रहिरहे। माओवादीहरू त टाउकाको मूल्य तोकिएका एवं अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको आतंकवादी सूचीमा चढेर आएका राजनीतिकर्मी हुन। यसबीच व्यक्ति हत्या गरेको प्रमाणित अपराधमा जेल सजाय भोगेका एमालेका राजनीतिकर्मीहरूको छवि भने राष्ट्रवादी रहिरहनुमा सोच उत्पादन उद्योगको ठूलो भूमिका छ। फुकोझैं अर्का फ्रान्सेली चिन्तक पियरे बौर्दियुले सांस्कृतिक पुँजीको सर्वव्यापकतालाई मिहिनसँग अध्ययन गरेका छन्। उनको निष्कर्षले भन्छ– परिकल्पनाको सीमा तय गर्ने एकाधिकार स्थापित गरिसकेपछि सानातिना नियमित विवादमा अल्भि्करहन पर्दैन। अधीनस्थ समुदाय स्वचालितरूपमा वर्चस्ववादीहरूको अधिपत्य स्वीकार गर्छ।

सोपाणतन्त्र एवं जातीयताको राजनीतिमा स्थान सुरक्षित गर्ने मनसाय, महेन्›माला जपेरमात्र राष्ट्रवादी होइने भ्रम, पहिचानजनित जुगुप्सा एवं असन्तोष तथा लघुताभाषको स्वयीकरण (इन्टर्नोलाइजेसन अफ इनफेरिअरिटी) जस्ता बाध्यताले प्राज्ञ रञ्जन जस्ता अधिकांश अधीनस्थ बौद्धिकलाई अन्ततः एमालेको शरणमा पुर्‍याउँछ। उनी जस्ता सर्जकको परिवर्तनकारी खेमाबाट पलायन चौधरी, गोल्छा वा महासेठ जस्ता धनिमानीहरूको आबद्धताभन्दा पनि जोखिमपूर्ण परिस्थिति हो। पहिचान संकथनद्वारा निर्माण गरिन्छ एवं त्यसको निरन्तर विनिर्माण पनि भई नै रहन्छ। वैकल्पिक परिकल्पनाहरू प्रस्तुत गर्ने क्षमता भएका व्यक्ति सहवरणद्वारा वर्चस्वशाली समूहमा सामेल भइरहेसम्म अधीनस्थ समुदायले जस्तोसुकै राजनीतिक नेतृत्व प्राप्त गरे पनि यथास्थितिको फलामे जकडबाट मुक्त हुन सक्ने सम्भावना साह्रै कम छ।

प्रकाशित: २ असार २०७४ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App