७ वैशाख २०८१ शुक्रबार
कला

सलोनमाथि शोभितको 'डेब्यु' निर्देशन

काठमाडौं- बाल कलाकार हुँदै नायकका रूपमा फिल्ममा सक्रिय कलाकार सलोन बस्नेतले निर्देशक बाबु शोभित बस्नेतको निर्देशनमा काम गर्ने मौका नै पाएनन्। अन्य निर्माता र निर्देशकको फिल्ममा काम गरेर अभिनयमा स्थापित सलोनको बाबुको एक्सन कटमा काम गर्ने चाहना अबचाहिँ फिल्म 'बाबुकान्छा' बाट पूरा गर्दैछन्।

फिल्ममा बाबुकान्छाकै चरित्रमा देखिन लागेका सलोन शुक्रबारबाट शोभितको निर्देशनमा डेढ महिनासम्म चल्नेछन्। 'मलाई जहिल्यै पनि शुभचिन्तकहरूले शोभित र सलोनलाई सँगै कहिले हेर्न पाउँछौं भनेर सोध्थे। अब त्यो प्रश्नलाई पूर्णविराम लगाउँदै बुवाको निर्देशनमा म फिल्ममा देखिँदैछु,' बिहीबार राजधानीमा आयोजित फिल्मको मुहुर्तमा सलोनले भने, ' नेपाली फिल्म क्षेत्रमा लामो समय बिताउनुभएका हस्तीहरूसँग फिल्ममा सहकार्य गर्दैछु। मलाई डर पनि लागेको छ। दर्शकलाई राम्रो फिल्म दिने हाम्रो प्रयास रहनेछ।' सलोन र शोभितले लक्ष्मण सुवेदी निर्देशित फिल्म 'एउटा साथी' मा भने कलाकारका रूपमा केही दृश्यमा  सँगै अभिनय गरेका थिए।

निर्देशक शोभितले आफ्नो निर्देशनमा छोरालाई अभिनय गराउन पाउँदा खुसी लागेको बताए। 'मैले सलोनकै लागि भनेर दुई तीन वर्षदेखि कुनै पनि फिल्ममा काम नगरी यो फिल्ममा आफूलाई केन्द्रित गरें,' उनले भने, 'हामी बाबुछोराको सहकार्यलाई दर्शकले पक्कै रुचाउनुहुनेछ।' फिल्मका लेखक तथा निर्मातासमेत रहेका शोभितले प्रेमकथाको फिल्मले गाउँले र सहरिया दुवै परिवेश देखाउने बताए।

शोभितले नारायण पुरीको निर्देशनमा बनेको  फिल्म 'तपस्या' मा अभिनेता सरोज खनालको पछाडि बन्दुक बोक्ने चरित्रमा पहिलो पल्ट अभिनय गरेका थिए। उनै सरोज खनाललाई पहिलो पल्ट फिल्ममा निर्देशन गर्न लागेका शोभितले त्यो दिन गर्वका साथ स्मरण गरे।  'नाटक र टेलिफिल्ममा काम गरिसकेको हुनाले मलाई फिल्ममा पनि काम गर्ने रहर थियो । जस्तोसुकै भूमिकामा अभिनय गर्ने भनेपछि नारायण दाइले मलाई सरोज दाइको पछाडि बन्दुक बोकेर उभिने भूमिकामा अभिनय गराउनुभयो,' शोभितले भने, 'फिल्म निर्देशक भएपछि सरोज दाइलाई लिएर फिल्ममा काम गर्ने लामो समयदेखिको सपना यसपटक पूरा हुँदैछ।' जवाफमा अभिनेता खनालले आफ्नो पछाडि उभिने केटा अगाडि बढेको देखेर सधैं खुशी लाग्ने गरेको बताए। 'मेरो पछाडि उभिने एउटा केटाले यति धेरै प्रगति गरेर आज म उसको पछाडि उभिन पाउँदा गर्व लागेको छ,' खनालले भने।  सरोजले फिल्ममा आफ्नो चरित्र के हो भन्ने थाहा नभए पनि निर्देशकले राम्रो चरित्र दिएकोमा आफू विश्वस्त रहेको जनाए।

फिल्ममा सलोनसँगै रितिक शाही, करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, गीता अधिकारी र सुशान्त श्रेष्ठको अभिनय रहनेछ। यसै फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले अभिनेत्रीको रूपमा डेब्यु गर्दैछन्।

फिल्मका अर्का कलाकार रितिक शाहीले आफूले स्कुलमा पढ्दाखेरि फिल्ममा देखिने कलाकारसँग एउटै पर्दामा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले अनमोल केसी अभिनित फिल्म 'गाजलु' मा सलोनकै साथीको रूपमा अभिनय गरेका थिए।

चितवन, काठमाडौं र दुबईमा खिचिने फिल्ममा रवि अधिकारी कार्यकारी निर्माता छन्। सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, टंक बुढाथोकी र अल्मोडाको संगीत र बाबु श्रेष्ठको छायांकन छ।

प्रकाशित: २ असार २०७४ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App