८ वैशाख २०८१ शनिबार
अन्य

प्रतिनिधिलाई प्रश्न- 'सबै वडालाई बराबर बजेट'

कृष्णहरि थापा, प्रमुख, कागेश्वरी मनहरा नगरपालिका

तपाईका नगरक्षेत्रमा सडक भत्किएका छन्, सुधारका लागि के गरिरहनुभएको छ?

नगरक्षेत्रको मुख्य समस्या नै बाटो हो। भर्खरै पदभार समालेका छौं। नगरपालिकाको पहिलो बैठकले नै प्रत्येक वडाका बाटोमा खाल्डाखुल्डी पुर्ने, नाली बनाउने र गाभ्रेल गर्न प्रत्येक वडालाई १० लाख रूपैयाँ छुट्टाएका छौं। बाटो मर्मतसम्भार गर्न ९ वटै वडालाई समान रूपमा बजेट छुट्टाएका छौं।

खानेपानीको समस्या पनि उस्तै छ नि?

नगरक्षेत्रमा खानेपानीको अभाव कायमै छ। पानीको जोहो गर्न लागिपरेका छौं। मेलम्चीको पानी हाम्रै नगरक्षेत्रबाट नै आइरहेको छ। तर, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई पहिलो चरणमा नै मेलम्चीको पानी कागेश्वरी मनहरा क्षेत्रमा वितरण गर्नुपर्छ भनेर ताकेका गरिरहेका छौं। एक साताअघि पनि निर्देशनालयमा गएर वितरण सञ्जाल तत्कालै  विस्तार गर्न अनुरोध गरिसक्यांै। मेलम्चीको बाहेक अन्यत्रबाट पनि पानीको स्रोत खोज्ने प्रयास गरिरहेका छौं। तत्कालै नयाँ संरचना बनाउन नसके पुरानै संरचनाबाट भए पनि पानी वितरण गर्न पहल गरिरहेका छौं।

नगरपालिका कार्यालय नै छैन, कसरी सेवा प्रवाह गर्नुभएको छ?

अहिलेसम्म नगरपालिकाको आफ्नो भवन छैन। पक्कै पनि आफ्नो भवन नहुँदा जनतालाई दिने सुविधामा केही असहज हुन्छ। चार वटा वडामा पनि कार्यालय छैनन्। त्यसका लागि भवन खोजिरहेका छौं। अहिले वडा नम्बर ८ र ९ को एउटै कार्यालयबाट सेवा दिइरहेका छौं।

नक्सापास गर्दा सेवाग्राहीले निकै झन्झट पाउँछन् रे नि?

पहिलो बैठकले पञ्जीकरण सेवालाई अनलाइनमार्फत गर्ने निर्णय गरेका छौं। दैनिक कामकाज सहज पार्न यस्तो निर्णय गरिएको हो। पुरानो नक्साले केही समस्या ल्याएको छ। नक्सापासलाई व्यवस्थित गर्ने प्रयत्न गरिरहेको छु। साविकको गाविस मापदण्डलाई सुधारेर वडालाई व्यवस्थित गर्न जमर्काे गरिराखेको छु। वडाका सम्पूर्ण घरवासीको सर्भे गरेर व्यवस्थित गर्नतर्फ लागेको छु।

तपाईंको नगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अलपत्र परेको छ, त्यसबारे केही गरिरहनुभएको छ?

लामो समयदेखि मूलपानीको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान ओझेलमा परिरहेको छ। अब क्रिकेट मैदानलाई विशेष प्राथमिकतामा राखेर निर्माण सम्पन्न गर्नेछु।

तपाईंको नगरलाई कस्तो बनाउने सपना देख्नुभएको छ?

कागेश्वरी मनहरा, शंकरापुर र गोकर्णेश्वर नगरपालिकालाई समेटेर बृहत् पूर्वी काठमाडौं बनाउने योजना बनाएको छु। काठमाडौं उपत्यका विकास समितिले १ लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने घोषणा गरेको छ। त्यसलाई कार्यान्वयन गरेर अघि बढाउने प्रयत्न गर्नेछु। पूर्वी काठमाडौंलाई पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने मेरो सपना छ।

 प्रस्तुति :  हिमाल लम्साल

प्रकाशित: २ असार २०७४ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App