७ वैशाख २०८१ शुक्रबार
अन्य

'गुरुजी'का गुड्ने सपना

राजधानीका सडकमा गुडिरहेका ट्याक्सी केवल ट्याक्सी मात्र होइनन्, चालक सिटमा बसेर सपनाहरूले यात्रा गरिरहेका हुन्छन्।

'गुरुजीको घर कता पर्‍यो नि?' प्रायः यही प्रश्नसँगै उनीहरूसँग वार्तालाप सुरु हुन्छ। ट्याक्सी चढ्ने मानिसले कुरा नथाली धेरैले आफूलाई अगाडि प्रस्तुत गर्दैनन्। बोलैया खालका यात्रु परे भने ट्याक्सी मात्र अघि बढ्दैन सँगै योजना र सपनाको बिस्कुन लगाइदिन्छन् तिनले।

सपनाले डोहोरिएका यी गुरुजीहरूका निम्ति काठमाडौं त्यति सहज गन्तव्य होइन। पहिलो खतरा उनीहरूका निम्ति यात्रुहरू नै हुन्। कतिपयले मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गर्ने र भाडा नदिर्ने अवस्था पनि तिनले भोग्छन्। धेरैजसोले तिनलाई दिनुपर्ने जति इज्जत दिँदैनन्।

पछिल्लो पटक विमानस्थलबाट घर जाने क्रममा रमाइला खालका ट्याक्सी चालक निमबहादुर मगर फेला परे। सुरुमै उनले विमानस्थलबाट कपन जान सात सय भने। आनाकानी गरेपछि पाँच सयमै लगिदिन तयार भए।

ट्याक्सीको ढोका खोल्दै उनले बस्न आग्रह गरे। 'कपनतिरै जाने अरु भेटिए हालौं है?' राजधानीको प्रतिस्पर्धात्मक वातावरणमा बाँच्न उनले यति उपक्रम गरिरहँदा पनि अनुहारमा निर्दोषपन भने छचल्किरहेको थियो।

काँधको झोला बिसाउँदै नबिसाई उनले अर्को यात्रु खोजुञ्जेल प्रतीक्षा गर्दा पनि नरमाइलो लागेन। एकछिनमा उनी कोही नपाएपछि हात हल्लाउँदै फर्केर आए। ट्याक्सी अगाडि बढाउँदै भने, 'म धेरै भन्दिनँ, बरु धेरै टि्रप गर्नतिर ध्यान हुन्छ। धेरै मागेर पनि कसले दिन्छ र?'

'बरु कसैले जाऊ भन्नासाथ हँसिलो अनुहार साथ ट्याक्सी अघि बढाउने बानी गरे यात्रु खुसी हुन्छन्,' आफूलाई बेलाबेलामा ट्याक्सी खोज्दाको झन्झट सम्भि्कँदै भनेँ, 'खुसी भएका यात्रुले सोचेभन्दा बढी नै दिन्छन्।'

दुई वर्षअघिदेखि मात्र ट्याक्सी चलाउन थालेका यी तीन सन्तानका बाबुले यसअघि लामो दूरीका बस मात्र होइन, टिपर समेत चलाइसकेका छन्। 'ठूलो गाडी छोडेर यति सानो के आँखा लाग्ला र?,' मन चोर्न यति भन्नासाथ उनले भने, 'छाप्राको भात खाँदाखाँदा वाक्कै भइयो।'

'थोरैथोरै यही ट्याक्सीबाट पैसा जम्मा गर्छु,' उनले सन्तुष्ट हुँदै भने।

कहिलेकाहीं त गजबकै यात्रु पर्छन्। हङकङ जान लागेका नेपाली महिला यात्रुहरूले भर्खरै उनलाई विमानस्थल जाँदा कति भाडा दिने भनेर सोधेछन्। रामेछापबाट आएर राजधानीमा संघर्षरत यी बोलैया गुरुजीले फ्याट्ट भनेछन्– 'अस्ति एअरपोर्टबाट जाँदा जति दिनु भएको थियो, त्यति दिए भइहाल्यो नि।'

अँध्यारामा हानेको तीर ठ्याक्कै लाग्यो। तिनले खनखनी गनेर १२ सय रूपैयाँ दिए। मिटरमा भने एक सय ३५ मात्र उठेको थियो। 'मिटरमा जति उठेको छ, त्यति दिन्छु भनेको भए पनि फरक पर्ने थिएन,' उनले भने, 'मैले खुसीसँग राखेँ।'

निमबहादुरजस्ता गुरुजीहरू नानीहरूको पढाइलेखाइका लागि राजधानीमा संघर्षरत छन्। प्रायःले आफ्नै ट्याक्सी राखेका छन्। निमबहादुरको पनि आफ्नै छ। डेराको बास भने घरमा सार्न सकेका छैनन्। परिवारसँगै बस्न पाइने भएकोले पनि यो पेशा उनलाई मन परेको छ।

'बुढो पनि भइसकियो नि,' उनले ठटि्टँदै भने, '३५ वर्ष भइसकेँ।'

कमल चौलागाईं भर्खर २२ वर्षका भए तर एउटा ट्याक्सीका मालिक भने भइसकेका छन्। यिनले सानैमा गाडी चलाउन सिके। १६ वर्षकै उमेरमा उनको सवारी लाइसेन्ससमेत बन्यो। भर्खका केटा भए पनि यिनलाई ट्याक्सी चलाउने र आफ्नो पेशा अघि बढाउन बेफुर्सद छ।

एक दिन यिनकै गाडीमा हिँडेदेखि निरन्तर साँझबिहान फोन गर्दा पनि यिनी आइपुग्छन्। केही अघि ट्याक्सी लाइन छाडेर ठेलामा सेकुवा, ससेज आदिको व्यापार पो गरौं कि? भन्ने द्विविधामा भएका उनी अहिले पूरै व्यस्तताका साथ आफ्नो गाडी लिएर हिँडेका छन्।

ट्याक्सी अलि थोत्रो छ। तर, भूकम्पपीडितलाई सरकारले दिने भनिएको ट्याक्सी आइपुग्नेबित्तिकै उनले त्यसलाई खरिद गर्नेछन्। 'आखिर भूकम्पपीडितसँग ट्याक्सी चलाउने क्षमता हुँदैन र त्यसलाई किन्न पनि सक्दैनन्,' उनले आफ्नो योजना बुने।

यिनी यति सजिला छन्, जुनसुकै बेला बोलाए पनि आउँछन्। एकजना चर्चित सेलिब्रिटीको गाडी दिउँसो चलाउनुपर्ने भएपछि उनी रातिराति भने आफ्नो ट्याक्सी लिएर पनि हिँडिरहेका छन्। 'आखिर निद्रा उनलाई अफिसमा पुर्‍याएपछि त्यही गाडीमा पुगिहाल्छ,' उनी भन्छन्।

सपनाले डोहोरिएका यी गुरुजीहरूका निम्ति काठमाडौं त्यति सहज गन्तव्य होइन। पहिलो खतरा उनीहरूका निम्ति यात्रुहरू नै हुन्। कतिपयले मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गर्ने र भाडा नदिर्ने अवस्था पनि तिनले भोग्छन्। धेरैजसोले तिनलाई दिनुपर्ने जति इज्जत दिँदैनन्। ट्याक्सी चालक गुरुजीहरूले प्रायः हेपिएको महसुस गर्छन्।

केही अघि एकजना सुर्खेततिरबाट काठमाडौंमा भर्खरै आएका एकजना ट्याक्सी चालकले त आफूलाई काठमाडौं फिटिक्कै मन नपरेको बताएका थिए। भर्खरै काठमाडौं आएका उनलाई ठमेलमा एकजना प्रहरीले भने, 'नमस्कार गर्नु पर्दैन?'

उनले दुई हात जोडेर नमस्कार गरे। प्रहरीलाई मन परेन। यसरी पनि नमस्ते गर्ने हो? उल्टै प्रहरीले हप्काए।

तिनले अर्का ट्याक्सी चालक साथीलाई सोधे– 'होइन काठमाडौंमा नमस्ते गर्ने कसरी हो?' भुक्तभोगी साथीले जवाफ दिए, 'लाटा त्यसरी नमस्ते गर्ने हो त? हातको बीचमा पैसा वा रिचार्ज कार्ड राख्ने अनि नमस्कार गर्ने। तिनले नमस्ते भन्दै हात समाउँछन्, खुसी हुन्छन्।'

प्रकाशित: २ असार २०७४ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App