६ वैशाख २०८१ बिहीबार
अन्य

युट्युबमा करोड दर्शक कटाउने नेपाली गीत

पहिले गीत सुनिन्थ्यो मात्र। टेप रेकर्डरमा क्यासेट हालेर सुन्ने चलन गएको धेरै भएको छैन। प्रविधि विकाससँगै सिडी र डिभिडीमा गीत सुन्ने चलन समेत कम भइसकेको छ।

अहिले गीत सुन्ने मात्र होइन, हेर्ने पनि भएको छ। अब युट्युबमा भिडियो हेरेर मजा लिनेहरु बढ्दैछन्। गायक गायिका समेत पहिले जस्तो ५ वा १० गीत भेला पारेर एल्बम निकाल्न हतार गरिहाल्दैनन्। एउटा गीत रेकर्ड गर्ने र भिडियो बनाएर युट्युबमा अपलोड गर्नेहरु बढ्न थालेका छन्।

म्युजिक भिडियो नबनाउनेले पनि गीतको शब्दमात्र राखेर 'लिरिकल भिडियो' आपलोड गर्छन्। अरुले गाएका गीतको 'कभर भर्सन'लाई नयाँ भिडियामा युट्युबमा राख्नेहरु पनि उत्तिकै छन्।

म्युजिक भिडियो नबनाउनेले पनि गीतको शब्दमात्र राखेर 'लिरिकल भिडियो' आपलोड गर्छन्। अरुले गाएका गीतको 'कभर भर्सन'लाई नयाँ भिडियोमा युट्युबमा राख्नेहरु पनि उत्तिकै छन्। यस्ता भिडियोका दर्शक संसारभर छन्। युट्युबमा अपलोड गरिएका केही नेपाली गीतका भिडियो लाख होइन, करोड पटक हेरिसकिएका छन्। करोडमाथि हेरिएका पाँच नेपाली गीत :  

'सुर्के थैली खै...'

अगस्त ६, २०१५ मा अपलोड गरिएको चलचित्र वडा नम्बर–६ को 'सुर्के थैली खै...' बोलको गीत अहिलेसम्म युट्युबमा एक करोड ९४ लाखभन्दा धेरैपटक हेरिएको छ। राजनराज शिवाकोटीको रचना र संगीत रहेको यो गीत उनले अन्जु पन्त र राजु विश्वकर्मासँग गाएका हुन्। यो गीतको आधिकारिक भिडियोमा २६ हजारभन्दा धेरैले 'लाइक' र ६ हजारले 'डिस्लाइक' गरेका छन्।

'ठमेल बजार...'

एकतारे र कालीप्रसाद बाँस्कोटाले लेखेको चलचित्र 'लुट २' को 'लैजाऊ घुमाउन मलाई ठमेल बजार...' भन्ने गीत युट्युबमा हालसम्म १ करोड ६८ लाखभन्दा धेरै पटक हेरिएको छ। अक्टोबर २१, २०१६ मा अपलोड गरिएको यो गीतको आधिकारिक भिडियोमा करिब ६० हजार 'लाइक' र ५ हजार 'डिस्लाइक' छन्। बाँस्कोटाले संगीत दिएको यो गीत उनीसहित मीना निरौला र भानुभक्त ढकालले गाएका हुन्।

'पूर्व पश्चिम रेल...'

चलचित्र 'छक्कापन्जा'को 'पूर्व पश्चिम रेल...' बोलको गीत अहिलेसम्म युट्युबमा एक करोड ५० लाखभन्दा धेरै पटक हेरिएको छ। मे २८, २०१६ मा अपलोड गरिएको यो गीतको आधिकारिक भिडियोमा ३६ हजारभन्दा धेरै 'लाइक' र ५ हजारभन्दा धेरै 'डिस्लाइक' आएका छन्। राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीतमा शिवाकोटी र अन्जु पन्तले स्वर दिएका छन्।

'काले दाइ...'

दुई साताअघि रिलिज भएको चलचित्र 'पर्व'को 'काले दाइ...' बोलको गीत जनवरी १३, २०१७ मा अपलोड भएयता अहिलेसम्म एक करोड २१ लाख पटकभन्दा धेरै हेरिएको छ। कोशिस क्षेत्रीको संगीत र दिनेश राउतले शब्द रहेेको यो गीत निश्चल बस्नेत र मीना निरौलाले गाएका हुन्। अहिलेसम्म युट्युबमा यसको आधिकारिक भिडियोलाई ४४ हजारभन्दा धेरैले 'लाइक' र चार हजारभन्दा धेरैले 'डिस्लाइक' गरेका छन्।

'सुन साइँली...'

सुरुमा 'लिरिकल भर्सन' ल्याएर म्युजिक भिडियो सार्वजनिक भएको 'सुन साइँली...' बोलको गीतको म्युजिक भिडियो अहिलेसम्म युट्युबमा एक करोड २० लाखभन्दा धेरै पटक हेरिएको छ। कालीप्रसाद बाँस्कोटाको संगीतमा हेमन्त राणाले गाएको यो गीत हिमाल साउद र कालीप्रसाद बाँस्कोटाले संयुक्त रुपमा लेखेका हुन्। फेब्रुअरी १०, २०१७ मा युट्युबमा अपलोड भएको यो गीतको आधिकारिक भिडियोलाई एक लाख ४७ हजारभन्दा धेरैले 'लाइक' गरेका छन् र पाँच हजारभन्दा धेरैले 'डिस्लाइक' गरेका छन्।

प्रकाशित: २ असार २०७४ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App