coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

'फुड स्टेसन' बन्दै वसन्तपुर

वसन्तपुर दरबार क्षेत्रको पूर्वतिर न्युरोड सालिक नजिकसम्म भूकम्पअघि लहरै क्युरियो सामानका पसल थिए। क्युरियो सामानका पसल नभएका सटरमा पस्मिना र हस्तकला उत्पादन सजाएर राखिएका हुन्थे। दुई वर्षअघिको भूकम्पपछि भने यस क्षेत्रमा क्युरियो, पस्मिना र हस्तकलाका पसल एकाएक हराए, तिनको स्थान लिए–रेष्टुरेन्ट, कफी सप र चिया पसलले।

दुई वर्षअघिको भूकम्पपछि भने यस क्षेत्रमा क्युरियो, पस्मिना र हस्तकलाका पसल एकाएक हराए, तिनको स्थान लिए–रेष्टुरेन्ट, कफी सप र चिया पसलले।

भूकम्पपछि सुनसान बनेको वसन्तपुर प्लाजा अगाडि त्यतिबेला चहलपहल सुरु भयो, जब इनायत साहले खोले 'मट्की चाय'। बसेर चिया पिउनका लागि टेबल कुर्सीको व्यवस्था नभए पनि उभिएरै वा पेटीतिर बसेर माटाको कपमा चियाको चुस्की लिनेको भीड लाग्न थाल्यो।

'मैले देखेको ९० प्रतिशत बढी नेपालीको चिया पिउने आदत छ, त्यसलाई अझ परिस्कृत गर्न खोजेको हुँ,' साहले भने। उनको 'जेडवाई' नामक 'मट्की चाय' पसलमा नियमितदेखि घुमन्तेसम्मका ग्राहकको लर्काे लाग्छ।  चिया नपिउनेका लागि कफीको व्यवस्था पनि छ।

'अनि चिकेन बिर्यानी पनि यहाँको सिग्नेचर हो,' 'मटकी चाय' बनाएर ग्राहकलाई दिँदै साहकैमा काम गर्ने शंकर मगरले भने। 'मड्की चाय', कफी र चिकेन ब्रियानीको व्यापारबाट इनायत निकै हौसिएका छन्। 

इनायतको 'मट्की चाय' पसलको छेउमै हालसालै सञ्चालनमा आएको छ, नाङ्लो एक्सप्रेस। रेष्टुरेन्टको 'सेट अप' विदेशी पर्यटकलाई आकर्षित गर्ने खालको छ। 'वेस्टर्न डेकोेरेसन'ले पर्यटक लोभ्याउने विश्वास छ रेष्टुरेन्टका सुपरभाइजर सुरेन्द्र थापालाई। 'नाङ्लो हस्पिटालिटी ग्रुप'ले सञ्चालन गरेको नाङलो एक्सप्रेस चार महिनाअघि मात्र खुलेको हो। 'अहिलेसम्म चहलपहल राम्रै छ, यतातिर अरु रेष्टुरेन्ट पनि खुलिसकेको हुनाले खान र रेस्ट गर्न धाउनेहरू धेरै छन्,' थापा भन्छन्।

चार दशकअघि काठमाडौंमा ममलाई परिचित गराउने काम गरेका थिए, लक्ष्मीनारायण महर्जनले। 'नारायण दाइको मासं गल्लीको फेमस मम' अहिले पनि उहिबेलाकै नामले परिचित छ। मासंगल्ली, कालिकास्थान हुँदै गौशालासम्म सर्दा पनि नारायण दाइको ममप्रति मानिसको उस्तै आकर्षण थियो।

तीन महिनाअघि वसन्तपुरमा पनि नारायण दाइको मम पसल खोले उनका नाती निशान मालाकारले। पसलको भित्तामा लक्ष्मीनारायणको फोटो माला लगाएर टाँगिएको छ। 'नारायण दाइको ममको स्वाद यसै पनि परिचित नै थियो। यहाँ खुलेपछि थाहा नहुनेले पनि थाहा पाएका छन्,' उनी भन्छन्। बफ ममका लागि परिचित भए पनि नयाँ पुस्ताको मागलाई ध्यानमा राखी यहाँ भेज मम समेत बनाइन्छ।

वसन्तपुरमा पहिल्यैदेखि सञ्चालनमा रहेको 'डिएस फुड क्याफे' पनि अहिले नयाँ 'सेटअप'मा खुलेको छ। पुरानाभन्दा नयाँ 'इटरी'ले यहाँको रौनक बढाएको छ। नयाँ क्याफेहरू फरक 'आइडिया'सहित आएको भर्खरै सुरु भएको 'रेष्ट्रो द क्लासिक ब्याम्बु'का सञ्चालक मनोज अधिकारी बताउँछन्।

'द क्लासिक ब्याम्बु' फेमिली रेष्टुरेन्ट हो, जसले भेजिटेरियन खानाको 'प्रोमोट' गरिरहेको छ। 'क्लासिक लुक्स' दिन बेतका कुर्सीको प्रयोग गरिएको छ। बाँसका विभिन्न सजावटका सामग्रीले सजाइएको छ। 'हामीले हलोजुवा राखेर सजाएका छौं, बालबच्चा बोकेर आउने अभिभावकले यसबारे बताउँछन्,' अधिकारी भन्छन्, 'बच्चाले सिक्ने अवसर पनि पाउँछन्।'

हलोजुवा जस्तै परम्परागत रूपमा प्रयोगमा रहेका सामग्रीको प्रयोगले 'क्लासिक एम्बियन्स' सिर्जना गरेको 'ब्याम्बु'मा खाजा खाइरहेकी सिर्जना शिवाकोटीले बताइन्। खानाको कुरा गर्ने हो भने ब्याम्बुले 'डाइनामाइट' 'रेसीपी'लाई 'स्पेसल' भनेर पेस गरेको छ। 'ब्याम्बु स्पेसल' बनाउन यसमा आलु तामाको मेन्यु पनि समावेस छ। 'फ्रेस जुस', दर्जन प्रकारमा 'मकटेल', 'चकलेट सेक' जस्ता 'वेभरेज' 'ब्याम्बु'ले सिफारिस गर्छ। एक तलामाथि भएकोले खाँदै निजी समय बिताउन उपयुक्त ठाउँ हो, 'ब्याम्बु'। 'प्राइभेसी'का लागि उपयुक्त भए पनि मदिरा प्रयोग बन्देज छ। साधारण वर्गलाई लक्षित गरी सेवा शुल्क वा अरु नाममा कुनै पनि अतिरिक्त शुल्क ग्राहकसँग नलिएको सञ्चालक अधिकारीले सुनाए। फाट्टफुट्ट विदेशी पर्यटक आए पनि आफ्नो ग्राहक नेपाली नै रहेको उनले बताए।

वसन्तपुरतिर पुग्दा कफी पिउन रेष्टुरेन्ट छिर्न झन्झट मान्नेका लागि हिमालयन जाभाले 'स्टिमिङ मग' खोलेको छ। तर वसन्तपुरमै हिमालयन जाभाको ठूलो रेष्टुरेन्ट रहेकाले यो सानो कफी पसलको नाम भने 'स्टिमिङ मग' राखिएको यसका इन्चार्ज सञ्जय थापा मगरले बताए। जाभाका कफी र 'कफी अल्टरनेटिभ्स' 'मेन्यु'का साथै उसकै 'पेष्ट्री'को प्रस्तुतिले ग्राहकलाई राम्रै तानिरहेको देखिन्छ। 'स्टिमिङ मग' अचेल झुम्मिने झुण्डको रोजाइ 'ब्लेन्डेड कोल्ड कफी'भएको छ।

'मड्की चाय'देखि हिमालयन जाभाको कफीसम्मले रोज्ने स्थान बनेको छ वसन्तपुरको यो क्षेत्र। परम्परागत स्वदेशी खाद्य र पेयदेखि विदेशीसम्मका रेष्टुरेन्ट, क्याफे र चिया पसल खुलेपछि वसन्तपुर बन्दैछ–एउटा फरक र लोकप्रिय 'फुड स्टेसन'।

प्रकाशित: २ असार २०७४ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App