१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

श्रेयाको सांगीतिक यात्रा

श्रेया सोताङले चार वर्षअघि 'प्रिल्युड' नामको एल्बम निकालिन्। उसैबेला एल्बममा रहेको 'यो छोरीको रुपै राम्रो..' गीतको म्युजिक भिडियो बनाएकी उनले हालै 'माया हो कि होइन...' गीतको भिडियो रिलिज गरेकी छिन्।

एल्बमकै 'अलि अलि..' गीतको म्युजिक भिडियो दुईवर्ष अघि सार्वजनिक गरेकी श्रेया नयाँ भिडियोमार्फत 'कमब्याक' भएकी हुन्। कलाकार दम्पती उदय र मनिला सोताङकी छोरी उनी दसैँअघि नै नयाँ एल्बम ल्याउने तयारीमा छिन्। 

श्रेयालाई म्युजिक भिडियोको सुटिङ पनि निकै रमाइलो लाग्छ। सुटिङका बेला उनले 'हर्स राइडिङ', 'राफ्टिङङ'जस्ता एडभेन्चर पनि गरेकी छन्। 

'धेरैजसो लभ सङ छन्, यो एल्बममा मेरो बुवाले पनि कम्पोज गर्नुभएको छ, हालै 'माया हो कि होइन...' बोलको गीत रिलिज गरें,' नयाँ एल्बम बारे उनले भनिन्।

श्रेयालाई गीत लेख्न खासै आउँदैन। उनले आफ्नो गीतका 'टार्गेट अडियन्स' को हुन् भनेर सोचेकी छैनन्। 'जस्तो गीत सुनेर श्रोता रमाउँछन् जस्तो लाग्छ, त्यही गाउँछु। आफूले इन्जोय गरेर गायो भने सुन्नेले पनि 'इन्जोय' गर्छ जस्तो लाग्छ,' उनी भन्छिन्। तर उनले अहिलेसम्म गाएका गीतमा राम्रै 'फिडब्याक' पाएकी छन्। नयाँ गीत ढिलो गरी आयो भन्ने श्रोताको प्रतिक्रियालाई सम्बोधन गर्न अलि चाँडो गीत निकाल्ने प्रयास गरिरहेको उनले बताइन्।

श्रेयालाई म्युजिक भिडियोको सुटिङ पनि निकै रमाइलो लाग्छ। सुटिङका बेला उनले 'हर्स राइडिङ', 'राफ्िटङ'जस्ता एडभेन्चर पनि गरेकी छन्। 

स्थापित कलाकारको सन्तानलाई कला क्षेत्रमा संघर्ष सहज हुन्छ भन्ने उनले पनि निकै सुनेकी छन्। आमाबुबा यो क्षेत्रमा हुँदैमा छोराछोरीले संघर्ष गनर्ैैनपर्ने भन्ने चाहिँ उनी मान्दिनन्। 'हरेकको छुट्टै खालको संघर्ष हुन्छ,' उनी भन्छिन्, 'एकपछि अर्को गीतलाई अझ राम्रो बनाउन छुट्टै किसिमको संघर्ष हुन्छ,' श्रेया भन्छिन्। आफ्नो आमाबुबा संगीतको क्षेत्रमा भएकाले धेरै कुरा सजिलो भएको भने उनी स्विकार्छिन्। तर उनलाई कहिल्यै आफ्नो आमाबुबाको छायामा परेजस्तो भने लाग्दैन। 'मलाई कसैले उदय र मनिलाकी छोरी भनेर सम्बोधन गर्दा अझ गर्व लाग्छ,' उनी भन्छिन्। आफूलाई यो पहिचानबाट पृथक् बनाउन जरुरी नभएको पनि उनी बताउँछिन्। आफ्नो मार्गदर्शकको रूपमा आफ्ना आमाबुबा पाएकामा श्रेया आफूलाई भाग्यमानी मान्छिन्। परिवार सांगीतिक पृष्ठभूमिको नभएको भए आफूले यस क्षेत्रमा अलि बढी संघर्ष गर्नुपर्ने उनी महसुस गर्छिन्।

'जुन वातावरणमा म हुर्कें, त्यो एकदमै सांगीतिक थियो। संगीतकै बारे कुरा हुन्थ्यो। गीत गाइराख्ने माहोल थियो, त्यसमै मेरो झुकाव भयो,' उनी भन्छिन्। सांगीतिक क्षेत्रमा लाग्छु भन्ने कहिल्यै नसोचेको तर पारिवारिक माहोलकै कारण थाहै नपाई यसमा लाग्न पुगेको उनी बताउँछिन्।

कक्षा ११ मा पढ्दा उनले 'समर्पण तिमीलाई' कलेक्सन एल्बमका लागि गाउन शब्द पाइन्। उनले अलिअलि संगीत घरमै सिकेकी थिइन्। त्यसकै आधारमा त्यसको कम्पोज गरिन्। श्रेयाको पहिलो सोलो गीत त्यही एल्बमको  'आँखाभरि आँसु दियौ' बोलको थियो। त्यसो त उनलाई सुरुसुरुमा आफ्नो स्वर अलि असहज नै लाग्थ्यो। 'सबैले राम्रो छ भनेपछि म प्रोत्साहित भएँ। बुवाआमाले पनि गाइड गर्नुभयो। ब्याचलर सकाएपछि आफ्नै गीत निकाल्छु भन्ने सोचेँ र पहिलो एल्बममा 'पोल्छ मुटु' गीतको भिडियो निकालेँ,' उनी भन्छिन्। त्यो गीतले उनको आत्मविश्वासको तह बढायो र त्यसपछि उनले हिट्स एफएम, अन्नपूर्ण, इमेज अवार्डलगायत अवार्ड पनि पाइन्।

श्रेयाले चलचित्रका लागि पनि गीत गाउँछिन्। उनले प्रेमगीत २ को शीर्ष गीत गाएकी छन्। आफ्नो गीत गाउनु र चलचित्रका लागि गाउँदा फरक हुने उनी बताउँछिन्। 'आफैँले गाउँदा जसरी इन्जोए गरिन्छ, त्यसरी गाउँछु तर मुभीका लागि गाउँदा भने म्युजिक निर्देशकअनुसार गाउनुपर्ने हुन्छ। विभिन्न फिल ल्याउनुपर्ने हुन्छ,' उनी भन्छिन्। गीतको पृष्ठभूमि कस्तो अवस्थामा बनेको छ भनेर सोच्नुपर्ने र शब्दको उच्चारण पनि सोच्नुपर्ने उनी बताउँछिन्।

सांगीतिक यात्रामा कलाकारले हरेक दिन केही न केही सिकिरहेकै हुने श्रेयालाई लाग्छ। यस्तै यात्रामा उतारचढाव हुने र धेरै क्षण बिर्सन नसक्ने भएर रहने उनी बताउँछिन्। नाम्चेबजारमा गरेको कन्सर्ट उनका लागि एकदमै अविस्मरणीय छ। 'लुक्लाको एयरपोर्टमा ल्यान्ड गरेर दुई दिन हिँड्यौँ, बेलुकी १० बजे पुगेर स्टेजमा गीत गाउँदाको क्षण एकदमै रमाइलो थियो,' उनी भन्छिन्।

संगीत क्षेत्रमा नआएको भए श्रेया शिक्षण पेसामा लाग्थिन् सायद। उनलाई शिक्षण पेसा एकदमै सम्मानजनक लाग्छ। 'हाम्रो जिन्दगीमा गाइड गर्ने अभिभावकबाहेक अर्को व्यक्ति भनेको शिक्षक नै हो,' उनी भन्छिन्। शिक्षण पेसामै नलागेको भए व्यापारमा लाग्न सक्ने पनि उनी बताउँछिन्। उनलाई सामाजिक सेवा पनि उत्तिकै मन पर्छ।  

प्रकाशित: ३ असार २०७४ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App