झापा- विद्यालय तहमा बंगाला भाषालाई अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारको निर्णयविरुद्ध आन्दोलन चर्किएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ। यसक्रममा शनिबार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङ पहाडमा चर्किएको आन्दोलनलाई 'आतंकवादी' गतिविधि भनेर तिखो रूपमा आलोचना गरिरहँदा अलग राज्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भइरहेको छ। भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार केही दिनअघि सुरक्षाकर्मीले गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको हो। घटनामा बिजनबारी कैजलेका सुनिल राई, कमजेरका विमल शासंकर र रेलिङका महेश क्षेत्रीको मृत्यु भएको छ। राई र शासंकरको घटनास्थल क्षेत्रीको सिंहमारीमा र क्षेत्रीको सिलिगुढीमा उपचारका क्रममा ज्यान गएको हो। दोहोरो झडपका क्रममा प्रहरीका किरण तामाङ पनि गम्भीर घाइते छन्।
एक सातादेखि जारी आन्दोलनको अगुवाइ गरिरहेको गोर्खा जनमुक्ति मोर्चाको पातलेबासस्थित कार्यालयमा छापा मारेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तामाथि सेनाले गोली बर्साएको हो। मोर्चाका नेताहरूले प्रदर्शनमा उत्रिएका आफ्ना नेताकार्यकर्तामाथि सेनाले अन्धाधुन्ध गोली बर्साएको आरोप लगाएका छन्। सेनाले मान्छे नै ताकेर गोली प्रहार गर्दा मोर्चाका कयौं कार्यकर्ता घाइते भएको दार्जिलिङका पत्रकार राजु भण्डारीले बताए। सेनाको गोली प्रहारबाट मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि दार्जिलिङ पहाड तनावग्रस्त भएको छ। कालेबुङमा पनि प्रदर्शन चर्किएको छ।
यसैबीच, दार्जिलिङ प्रहरीले मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि आक्रमण गरेको जनाएको छ। प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताका आक्रमणमा इन्डियन रिजर्भ बटालियनमा कार्यरत किरण तामाङ गम्भीर घाइते भएका छन्। मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण शनिबार छैटौं दिन पनि दार्जिलिङ पहाड र तराई क्षेत्रको जनजीवन प्रभावित भएको थियो। सरकारी स्कुलमा बंगाली भाषा अनिवार्य गर्ने राज्य सरकारको निर्णयविरुद्ध आन्दोलन थालेको मोर्चाले ६ दिनदेखि विरोध प्रदर्शन गरिरहेको छ।
राज्य सरकारले नेपालीभाषी बाहुल्य क्षेत्रमा षड्यन्त्रपूर्वक नेपाली भाषा हटाएर बंगाली भाषा 'थोपर्न' लागेको भन्दै मोर्चाले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङमा सातायता आन्दोलन चर्काइरहेको छ।
पश्चिम बंगालका विद्यालयमा कक्षा–१ देखि १० सम्म नेपाली, अंग्रेजी र हिन्दी भाषा अनिवार्य छ। चौथो भाषाका रूपमा बंगाली, नेपाली, उर्दुलगायतका भाषा पढ्ने व्यवस्था छ। तर करिब दुई साताअघि पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीले पहाडी क्षेत्रमा पनि बंगाली भाषा अनिवार्य गर्ने भाषण गरेका थिए। शिक्षामन्त्रीकै शैलीमा मुख्यमन्त्री ममता बेनर्जीले पनि बंगाली भाषा अनिवार्य गर्ने मन्तव्य दिएकी थिइन्।
त्यसको विरोधमा विभिन्न क्षेत्रमा आन्दोलन चर्किएपछि केही दिनअघि मिरिक र जुन ८ मा दार्जिलिङमा आयोजित बेग्लाबेग्लै समारोहमा मुख्यमन्त्री बेनर्जीले बंगाली भाषालाई ऐच्छिक राख्न चाहेको बताए पनि नेपालीभाषी त्यसमा सन्तुष्ट छैनन्। शिक्षामन्त्रीले दिएको मन्तव्य अमान्य भएको भन्दै मोर्चाले पश्चिम बंगाल सरकारले अहिलेकै व्यवस्था यथावत् राखेको जनाएर लिखित सम्बोधन गर्न पश्चिम बंगाल सरकारलाई दबाब दिइरहेको छ। भाषा विषयमा लगातार आन्दोलन हुन थालेपछि दार्जिलिङमा बासिन्दा र व्यवसायी त्रसित बनेका छन्। अझ शनिबारको हिंसात्मक घटनापछि त अवस्था झनै सकसपूर्ण बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित: ४ असार २०७४ ०२:०७ आइतबार