८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंमा दुर्व्यसन बढ्दो

काठमाडौं- हत्या प्रयासको अभियोग पुष्टिसँगै ८ वर्ष जेल सजाय भोगेर मुक्त भएका गौतम थापा लागुऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन्। पत्रकार पद्म ठकुराठीको हत्या प्रयासको अभियोग पुष्टिसँगै उनी ८ वर्ष जेलमा पुगेका थिए।

जेल सजाय काटेर मुक्त भएपछि उनले भारतीय नागरिकसँग मिलेर लागुऔषधको धन्दामा संलग्न रहेको आरोपमा लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पक्राउ गरेको हो। ब्युरोले उनलाई मैतीदेवीको डेराबाट ब्रुपिनोर्फिन, डाइजेपाम, फेनारगन, नाइट्राजेपाम नाइट्राभेटसहित पक्राउ गरेको हो।

प्रहरी कारबाही हेरोइन र चरेसको कारोबारमा केन्द्रित भएपछि पछिल्लो समय बु्रपिनर्फिनजन्य लागुऔषधको प्रयोगको क्रम बढेको छ।

बुप्रेनोर्फिन र डाइजेपाम र फेनारगन २६० पिस फेला परेको थियो। उनको कोठाबाट ४ हजार ६ सय ८० ट्याब्लेट नाइट्राजेपाम र नाइट्राभेट फेला परेको ब्युरोले जानकारी दिएको छ। लागुऔषध बजारमा उनीबाट फेला परेको लागुऔषधको पाँच लाख मूल्य पर्ने ब्युरोले जानकारी दिएको छ।

ब्युरोले उनी कहिलेदेखि लागुऔषधको कारोबारमा संलग्न रहेको खुलाएको भने छैन। ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणमा उनी 'लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको' उल्लेख छ।

ब्युरोका अनुसार काठमाडौंको मैतीदेवीमा बस्दै आएका थापाले भारतीय सीमावर्ती क्षेत्रमा सक्रिय लागुऔषध कारोबारीसँग मिलेर लागुऔषधको जालो चलाउँदै आएका थिए। उनले वीरगन्जलाई आधार क्षेत्र बनाएर काठमाडौंमा लागुऔषध भित्र्याउने र विभिन्न सहरमा पठाउने गरेको ब्युरोका एसएसपी धिरु बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार थापाले भारतको  सीमावर्ती क्षेत्रका कारोबारीसँग मिलेर ठूलो मात्रामा लागुऔषध भित्र्याएर आफ्नै कोठामा राख्ने गरेका थिए। उनले भारतीय कारोबारीलाई आइएमइमार्फत भुक्तानी दिन्थे। काठमाडौं भित्रिएको लागुऔषध यहाँका 'स्ट्रिट पुसर' मार्फत बिक्री गर्ने गरेका थिए।

मुख्य स्रोत भारत

ब्युरोको तथ्यांकअनुसार सन् २०१६ मा नेपालमा २५ हजार एम्पुल ब्रुपिनर्फिन, ३४ हजार नौ सय एम्पुल डाइजेपामसँगै एमफेटामाइन, यावा र एलएसडीलगायतका लागुऔषध बरामद गरेको थियो।

सन् २०१५ मा प्रहरीले बरामद गरेको बु्रपिनर्फिन र डाइजेपामको संख्या घटेको थियो। ब्युरोको तथ्यांक अनुसार १८ हजार एम्पुल बु्रपिनर्फिन र २५ हजार एम्पुल डाइजेपाम बरामद भएको थियो। २०१४ मा भने ह्वात्तै बढेर ब्रुपिनर्फिन ३७ हजार एम्पुल र डाइजेपाम ४४ हजार एम्पुल बरामद भएको थियो।

लागुऔषध अनुसन्धानमा संलग्न अधिकारीका अनुसार नेपालमा रहेका दुर्व्यसनीहरू एकै प्रकृतिको लागुऔषधमात्रै प्रयोग नगरी 'मल्टीपल' प्रयोगकर्ता रहेको बताउँछन्। प्रहरीले जुन लागुऔषधको कारोबारमा कडाइ गर्छ, प्रयोगकर्ता तत्काल विकल्पमा जाने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ।

खैरो र सेतो हेरोइनको कारोबारमा प्रहरी केन्दित भएसंगै प्रयोगकर्ताले डाइजेपाम र बु्रपिनर्फिनलगायतका लागुऔषधको प्रयोग गर्दा कारोबारी सक्रिय हुने गरेको र बरामदको मात्रा समेत बढेको ब्युरोका अधिकारीको विश्लेषण छ। प्रहरी अनुसन्धानमा काठमाडौं, पोखरा, हेटौडालगायत सहरमा फेला पर्ने लागुऔषधको मुख्य स्रोत भारत देखाएको छ।

काठमाडौंमा धेरै दुर्व्यसनी

गृहले २०६९ मा लागुऔषध प्रयोगकर्ताबारे गरेको अध्ययनमा काठमाडौंमा धेरै दुर्व्यसनी देखिएको थियो। तथ्यांकअनुसार काठमाडौंमा ३६ हजार दुर्व्यसनी छन्। दोस्रोमा सुनसरी छ, जहाँ ७ हजार छन्।

कास्की, झापा, मोरंग, रुपन्देही, चितवन, बाँके, पर्सा र मकवानपुरमा समेत दुर्व्यसनीको संख्या उच्च छ। उमेर आधारमा ३० वर्षमुनिका प्रयोगकर्ताको संख्या उच्च छ। त्यसमा पनि २० देखि २४ उमेर समूहकाहरूको बाहुल्य देखिन्छ।

प्रकाशित: ४ असार २०७४ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App