coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बजेट सक्न हतारमा कार्यक्रम

काठमाडौं- आपसी कलहले अस्तव्यस्त बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आर्थिक वर्ष सकिनै लाग्दा साख जोगाउन सक्रिय देखिएको छ। कुलपति रागिनी उपाध्याय र सदस्य सचिव नवराज भट्टबीचको आपसी द्वन्द्वले अलपत्र ललितकला आर्थिक वर्षको अन्त्यतिर भने वाष्र्िाक कार्यक्रम सक्ने चटारोमा  छ।

प्रतिष्ठानकी कुलपति उपाध्यायले सबैभन्दा ठूलो कार्यक्रम 'राष्ट्रिय कला प्रदर्शनी' असारको दोस्रो साता गरिने तयारी भइरहेको बताइन्। ‘हामी विभिन्न खालका समस्या र विवादमा थियौं, त्यसैले कार्यक्रम गर्न ढिला भयो,’ उपाध्यायले नागरिकसँग भनिन्, ‘अहिले मिलेका छौं। त्यसैले धमाधम कार्यक्रम भइरहेका छन्।' विवादकै कारण बजेट नआएको उनले खुलाइन्।

 ‘अहिले झगडा मिलेजस्तो भएको छ,’ एक प्राज्ञले भने, ‘बजेट नै नपाउने भएपछि अन्तिम अवस्थामा दुवैको कुरा मिलेको हो।’ उनले भनेझैं आपसी विवाद, गुटउपगुटको राजनीतिले विगत तीनवर्षदेखि ललितकलाको गतिविधि अलपत्र नै रह्यो। प्राज्ञहरूका अनुसार कार्यकाल सकिनै लाग्दा बढेको विवादका कारण संस्कृति मन्त्रालयले झगडा नरोकिएसम्म बजेट नै स्वीकृत नगर्ने जनाउ दिइरहेको थियो। अन्तिम समयमा प्राज्ञहरूले विवाद थाँती राखी मिलेको माइन्युट गरेपछि बजेट स्वीकृत भएको थियो। मन्त्रालयले विवादको छानबिन गरेर झगडालु पक्षलाई तत्कालका लागि थामथुमसमेत पारेपछि रोकिएको बजेट पास भएको प्राज्ञहरूको दाबी छ।

बजेट पास भएपछि जेठको दोस्रो सातादेखि भने हरेक विभागका अलपत्र कार्यक्रम हतारमै सक्न थालिएको छ। ललितकलामा लोककला, चित्रकला, परम्परागत चित्रकला, हस्तकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, मूर्तिकला गरी ६ वटा विभाग छन्। हरेक विभागलाई आठदेखि बाह्र लाखसम्म बजेट आएको थियो।

वास्तु तथा अन्य सिर्जनात्मक कला विभागका संयोजक ज्योती प्रकाश विकले आएको बजेटबाट बुटवलमा कला फोटोग्राफी र भिडियो आर्ट, बुटवलमा ३ दिनको  कार्यशाला गरेको बताए। त्यो कार्यशालामा प्रदेश चार ५, ६ र ७ का कला प्रतिनिधिहरू सहभागी थिए।

‘झगडा मिलाएर बजेट आएपछि कार्यक्रम थालिएको हो,’ उनले

स्वीकार गरे, ‘पहिले झगडा मिलाउनुस्, त्यसपछि बजेट दिने मन्त्रालयले भनेको थियो।’ हस्तकला विभागकी संयोजक सुस्मा राजभण्डारी पनि दुई साता निकै व्यस्त रहिन्। हस्तकलासम्बन्धी तीनवटा कार्यक्रम सक्नैपर्ने भएपछि उनी व्यस्त भएकी हुन्। उनका अनुसार प्रज्ञा प्रतिष्ठान, भक्तपुर र वसन्तपुरमा गरी तीनवटा कार्यक्रम भएका थिए।

लोककला विभागका संयोजक एससी सुमनले पनि आफ्नो भागको कार्यक्रम हतारमै सकेको बताए। ‘प्रिन्ट मेकिङमा लोककला र कार्यशालाको पाँचदिने प्रदर्शनी गोष्ठी गरियो,’ उनले भने ,‘हरेक कार्यक्रमका लागि एक देखि सबालाखसम्म बजेट आएको थियो।’

प्राज्ञ नारदमणि हार्तमछालीले ललितकलाको बजेट करिब साढे चार करोड रहेको बताए। 'आधा प्रशासनिक खर्चमै जान्छ,' उनले भने, 'बाँकी निसर्त र ससर्त कार्यक्रममा खर्च हुन्छ ।' यस वर्ष हुन नसकेको कार्यक्रम भने धेरै रहेको उनले खुलाए। ‘अरनिकोको मूर्ति बनाउने भनेर पचास लाख छुट्याएको दुई कार्यकाल भयो,’ उनले खुलाए, ‘त्यो नसकिँदा लाजमर्दो भएको छ।’ उनका अनु्सार पहिलेको कार्यकालको चार वर्ष अनि अहिलेको तीन वर्ष त्यो बजेट सार्र्नेमात्र काम भएको छ।

आन्तरिक विवाद र जग्गामा परेको मुद्दा विवादले गर्दा गर्नैपर्ने काम अलपत्र परेको उनले बताए। भूकम्पपछि प्रतिष्ठानको अस्थायी टहरा बनाउने बजेट पनि त्यसै रहेको छ।  ‘त्यो पनि बनाउन सकिएन, डेढ करोड बजेट थियो,’ हार्तमछाली भन्छन्,‘ कला क्षेत्रको अनुसन्धान गर्न झन्डै तीस लाख बजेट छुट्टयाएको थियो। त्यो काम पनि गर्न सकिएन।’

उपकुलपतिको नेतृत्वमा रहेको अनुसन्धान विभागको काम पनि यो वर्ष थाँती नै रहेको छ। एउटा अनुसन्धानलाई राम्ररी गर्दा एक डेढ वर्ष लाग्न सक्छ। ‘समयमा कार्यक्रम लिन र निर्णय गर्न नसक्नु अनि समयमा व्यवस्थित रूपमा निकासा दिन नसक्नु हाम्रो कमजोरी हो’, उनी प्रष्ट्याउँछन्। वास्तुकलामा अर्जुन खालिङले सुरु गरेको एउटा अनुसन्धान बीचमै उनको निधन हुँदा अलपत्र परेको उनले बताए। केही विवरणात्मक अनुसन्धान भने आएको उनले बताए। यो वर्ष मूर्तिकलाको केही कार्यक्रम पनि त्यसै खेर गएको छ। मूर्तिकलाको काम अलिक समय दिनुपर्ने भएकाले यस आर्थिक वर्षमा भ्याउन नसकिने भएपछि थाँती रहेको हो। चित्रकलाअन्तर्गत भने राम्रै कार्यक्रम भएको दाबी उनले गरे।

जेठमा मात्र २५ लाख बराबरको कार्यक्रम सकिएको उनले बताए। अब असारभित्रमा गर्न सकिने कार्यक्रम सक्दा पनि सबै बजेट भ्याइने अवस्था छैन। करिब डेढ करोड बजेट ललितकलाको यो वर्ष फ्रिज हुने अवस्थामा पुगेको प्राज्ञहरूले बताए।

उनीहरूका अनुसार भने ललितकलाको बजेट सक्नकै लागि मिलेको देखिए पनि भित्रभित्रै शीतयुद्ध भने चलिरहेको छ। अब केही दिनमा हुने पार्षद बैठकमा रुष्ट सदस्य सचिव नवराज भट्ट नोट अफ डिसेन्ट लेख्ने तयारी गरिरहेको प्राज्ञहरू नै बताउँछन्। यसले पनि साख जोगाउन गरिएको मिल्ती एकमहिना पनि नटिक्ने अवस्था सिर्जना भएको उनीहरू उल्लेख गर्छन्।

प्रकाशित: ४ असार २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App