काठमाडौं- नेपाल सरकारद्वारा वागमती नदी महासफाइ अभियानका लागि सद्भावना दूतका रूपमा नियुक्त गरिएकी बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले अभियानमा सहभागी हुन पाउँदा आफू उत्साहित र प्रतिबद्ध रहेको प्रतिक्रिया दिएकी छिन्।
मनिषाले शनिबार टि्वटरमा नदी सफाइ गरिरहेका मानिसको तस्बिर पोस्ट गर्दै आफू उत्साहित र प्रतिबद्ध रहेको टि्वटेकी हुन्। 'वागमतीलाई सफा राख्न सबै मानिसको प्रयासले प्रतिबद्ध र उत्साहित छु,' उनले टि्वटेकी छिन्, 'केही रचनात्मक कामका लागि फलदायी सहयोगको अपेक्षा गरेकी छु।'
मनिषाले आफ्नो तस्बिर र नेपाल सरकारले पठाएको आधिकारिक पत्र पनि टि्वटरमा राखेकी छिन्। 'अब सुरु गर्नका लागि तयार हुनुहोस्। धेरै प्रयास पहिलेदेखि भएका छन् र अब झन् धेरै प्रयास हुनेछन्। तर, हामी आफ्नो तर्फबाट पूरा इमान्दारिताका साथ काम गर्नुपर्छ,' उनले टि्वटेकी छिन्।
मनिषा अभिनित फिल्म 'डियर माया' हाल प्रदर्शनरत छ। माया देवी चरित्रमा देखिएकी मनिषाले फिल्ममा प्रेमका लागि सबै कुरा त्यागेकी महिलाको भूमिकामा अभिनय गरेकी छिन्।
प्रकाशित: ४ असार २०७४ ०४:३१ आइतबार