८ वैशाख २०८१ शनिबार
समाज

नारायणगढ–मुग्लिन सडकमा पहिरोको पिरलो

चितवन- बर्सातसँगै निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोको पिरलो पनि सुरु भएको छ। कालीखोला नजिक पहिरो जाँदा आइतबार सो सडक खण्डमा नौ घण्टा यातायात ठप्प भयो। शनिबार राति  साढे दुई बजे पहिरो जाँदा बन्द भएको बाटो मध्याह्न १२ बजेपछिमात्रै खुलेको थियो । बाटो विस्तारका लागि पहाड काटेको ठाउँबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

                ‘दुई–चार दिनयता लगातार पानी परेका कारण पहाड कमजोर भएर सडकमा पहिरो खसेको हो’ नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । सडक विस्तारका लागि ठाउँठाउँमा पहाड काट्ने काम भएको छ । गत वर्ष वर्षायाममा पनि पहाडबाट पहिरो खसेर निकै दुःख दिएको थियो । वर्षा नभए पनि कहिलेकाहीँ सडकमा सुख्खा पहिरो खस्ने गरेको छ ।

                पहिरोको जोखिममा रहेको कालीखोला क्षेत्रमा शनिबार राति नौ बजे पनि पहिरो गएको थियो । पहिरो पन्छाएर राति ११ बजेमात्र यातायात सुचारु गरिएको थियो । त्यसको केही बेरपछि नै पहिरो खसेर बाटो पूरै बन्द भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । बिहान साढे चार बजेबाट मात्रै पहिरो पन्छाउने काम फेरि सुरु भएको थियोे । लगातारको पहिरो पन्छाउँदै यो सडकमा नौ घण्टापछिमात्रै यातायात सञ्चालन हुन सकेको हो ।

                नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं तथा पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यो खण्ड हुँदै दिनमा १० हजारको हाराहारीमा गाडी ओहोरदोहोर गर्छन् । आइतबार बिहानैदेखि बाटो अवरुद्ध हुँदा पहिरो खसेको ठाउँभन्दा नारायणगढतर्फ र मुग्लिनतर्फ करिब ११ किलोमिटर दूरीसम्म गाडीको लाइन लागेको आयोजनाका सूचना अधिकारी खनालले बताए ।

                पहिरो गएको ठाउँमा टहराहरू पनि थिए । ‘पहिरो सिधै नदीमा फाल्न मिल्ने ठाउँ थिएन । ट्रिपरमा राखेर अन्यत्र लगेर फाल्दा धेरै समय लियो,’ खनालले भने । पहिरोका कारण टहराहरूमा सामान्य क्षति पुगेको छ । सडकमा दुई हजार घनमिटर बालुवा, गिट्टी र माटो थुप्रिएको उनले बताए । सो सडक खण्डमा बिहान १० बजेदेखि चार बजेसम्म यातायात आवागमन बन्द गरेर निर्माणको काम हुनेगर्छ ।

                पहिरोका कारण लामो समय रोकिएका गाडी आइतबार दिउँसो चार बजेअगावै सञ्चालनमा आएका थिए । वर्षामा सडक निर्माणका काम पनि प्रभावित हुनेगर्छ । पहिरो गएर गाडी रोकिएको दिन बाटो बनाउन पनि समस्या हुने गरेको आयोजनाका अधिकारीहरू बताउँछन् । दुई वर्षभित्र निर्माण सक्ने गरी सन् २०१५ को अप्रिलमा सुरु भएको आयोजनाको काम निकै सुस्त छ ।

                सडक विस्तारको काम अहिलेसम्म ५० प्रतिशतभन्दा केही बढी मात्रै पूरा भएको छ । समय थप भएर काम पूरा गर्ने अवधि आउँदो डिसेम्बरसम्म पु¥याइएको छ । तर, काम सन्तोषजनक नभएका कारण सो अवधिमा पनि नारायणगढ–मुग्लिन सडक विस्तारको काम सम्पन्न हुनेमा आशंका कायमै छ । ३६ किलोमिटर लामो सो सडकलाई एसियालीस्तरको दुई लेनमा बनाउने काम सुरु भएको हो ।

प्रकाशित: ५ असार २०७४ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App