७ वैशाख २०८१ शुक्रबार
समाज

८२ लाख ठगी अभियोगमा ८ लाख धरौटी

काठमाडौं- थाइल्यान्डमा रहेको नेपाली दूतावासको ८२ लाख ५५ हजार रुपैयाँ लिएर भागेका दुई कर्मचारी १० वर्षपछि काठमाडौंमा पक्राउ परेका छन्। सन् २००३ देखि २००४ सम्म दूतावासको भिसा शाखामा कार्यरत सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ प्रजापति भिसा शुल्कबापत संकलित रकम लिएर भागेका थिए।

थाइल्यान्डबाट भागेर काठमाडौं आएर बसेका सूचना पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई असार १ गते पक्राउ गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले जनही ४ लाख धरौटी लिएर उनीहरूलाई छाडेको छ ।

यसअघि ठगी मुद्दामा फैसला आउँदा जरिवाना असुल्न सहज बनाउन प्रतिवादीको संख्या र ठगीमा भूमिकाको आधारमा बिगो कायम गरी दामासाहीमा धरौटी लिने गरिएको थियो । ८२ लाख सरकारी रकम ठगी गरी १० वर्षसम्म लुकेर बसेका दुवै पूर्व सरकारी कर्मचारीको हकमा भने अदालतले प्रतिव्यक्ति ४ लाखको दरले केवल ८ लाखमात्रै धरौटी लिएर मुक्त गरिदिएको छ ।

दुवै कर्मचारी पैसा लिएर सम्पर्कविहीन भएपछि थाई राजदूतावासले नेपालमा पत्र पठाएको थियो। दूतावासको पत्रका आधारमा ब्युरोले उनीहरूलाई पक्राउ गरेर जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत आइतबार अदालतमा बुझाएको थियो । थुनछेक बहसको क्रममा अदालतले दुवैलाई ४–४ लाखको दरले धरौटी लिएर मुक्त गर्ने आदेश दिएपछि आइतबार नै दुवैजना छुटेका छन् ।

प्रकाशित: ५ असार २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App