coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युवा खेलाडीको परीक्षण गर्दै जर्मनी

सोची(एएफपी)– विश्वविजेता जर्मनीले कन्फेडेरेसन कपअन्तर्गत सोमबार अस्ट्रेलियाविरुद्ध हुने समूह चरणको पहिलो खेलमा युवा तथा कम अनुभवी खेलाडीलाई मौका दिँदा टोली फरवार्ड टिमो वार्नरको प्रदर्शनमा निर्भर रहनेछ।

जर्मन टोलीमा सम्मिलित खेलाडीको औसत उमेर २४ वर्ष ४ महिना रहेको छ । र सबै खेलाडीको अन्तर्राष्ट्रिय अनुभव जोड्दा १ सय ७९ खेल हुन्छ । त्यसैले पनि आठ राष्ट्र सहभागी यस प्रतियोगितामा जर्मनी सबैभन्दा युवा खेलाडी उतार्ने टोली हो ।

आर्सनलका स्कोड्रन मुस्तफी, माथियास जिन्टर र कप्तान युलियान ड्राक्सलर गरी तीन खेलाडी मात्र २ वर्षअघि विश्वकप जित्दाको टोलीमा सामेल थिए । तर रियो दी जेनेरियोमा भएको २०१४ विश्वकप फाइनलमा तीनै खेलाडीले खेल्ने मौका पाएका थिएनन् ।

जर्मन बुन्डेसलिगामा गत सिजन आरबी लिपजिकबाट उत्कृष्ट प्रदर्शन गरेका २१ वर्षे वार्नरले सोमबार सोचीमा पनि कम अनुभव भएको जर्मनीलाई सुखद नतिजा दिने विश्वास गरिएको छ । पहिलो पटक बुन्डेसलिगा खेलेको लिपजिकले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो ।

‘हामीलाई थाहा छैन लामो तथा कठिन सिजनपछि हामी पूर्ण रूपमा फिट छांै वा छैनांै भनेर,’ वार्नरले भने, ‘अस्ट्रेलिया राम्रो टोली हो र उनीहरूले हामीलाई बलियो चुनौती पेस गर्न सक्छन् । तर, हाम्रो जिम्मेवारी भनेको स्पष्ट ३ अंक बटुल्नु हो । हामीले सुरुमै गोल गर्न सक्यौं भने खेलमा दबाब कायम गर्न सक्छौं ।’

विश्व विजेता जर्मनीले आफ्नो लक्ष्य अन्तरमहादेशीय कपलाई उपाधि जित्नु भन्दा अर्को वर्ष हुने विश्वकपको तयारीका रूपमा लिएको बताइसकेको छ ।

‘पहिलो प्राथमिकता भनेको टोली निर्माण गर्नु हो त्यसपछि मात्र जितको कुरा आउँछ,’ जर्मनीका व्यवस्थापक ओलिभर बेयरहोपले भने ।

अनुभवी मिडफिल्डर मेसुट ओजिल र टोनी क्रुजलाई आराम दिँदा २३ वर्षे कप्तान ड्राक्सलरमाथि जिम्मेवारी थपिएको छ ।

अस्ट्रेलियाले मुख्य प्रतियोगितामा अहिलेसम्म जर्मनीलाई पराजित गर्न सकेको छैन । ठूला प्रतियोगतामा जर्मनीविरुद्ध चौथो पटक आमनेसामने हुन लागेको अस्ट्रेलियालाई रसियामा सुखद नतिजा निकाल्ने अवसर छ । यसअघि भएका ३ भिडन्तमा जर्मनीले बाजी मारेको थियो । पछिल्ला दुई खेलमा अस्ट्रेलियाले जर्मनीलाई बलियो चुनौती पेस गरेको छ ।

सन् २०११ मा मोन्चेनग्लाडवाचमा जर्मनीको दोस्रो रोजाइको टोलीलाई २–१ ले पराजित गरेको अस्ट्रेलियाले सन् २०१५ मा जर्मनीलाई २–२ को बराबरीमा रोकेको थियो ।

रसिया आउनुअघि विश्वकप छनोट खेलमा साउदी अरेबियालाई पराजित गरेको अस्ट्रेलिया मैत्रीपूर्ण खेलमा ब्राजिलसँग पराजित भएको थियो ।

गत मंगलबार ब्राजिलसँग ४–० ले पराजित भए पनि मुख्य प्रशिक्षक एन्जे पोस्टिकोग्लुले भने अन्तरमहादेशीय कपको उपाधि जित्न आफ्नो टोली सक्षम रहेको बताए।

समूह ‘बी’ को अर्को खेलमा चिलीले क्यामरुनको सामना गर्दै छ।

जर्मन टोलीमा सम्मिलित खेलाडीको औसत उमेर २४ वर्ष ४ महिना रहेको छ । र सबै खेलाडीको अन्तर्राष्ट्रिय अनुभव जोड्दा १ सय ७९ खेल हुन्छ । त्यसैले पनि आठ राष्ट्र सहभागी यस प्रतियोगितामा जर्मनी सबैभन्दा युवा खेलाडी उतार्ने टोली हो।

 

प्रकाशित: ५ असार २०७४ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App