खेताला किरियापुत्री

सोमबार, ०५ असार २०७४, ०९ : २२ खिलक बुढाथोकी  | @KhilakB


छोराको अनिवार्य कर्तव्य हुँदाहुँदै उनले आफ्नै पिताको मृत्यु संस्कार (किरिया) गर्न पाएनन्। हिन्दू परम्परा अनुसार न उनले १३ दिनसम्म कोरा बस्न पाए न त एक वर्षसम्म सेतो कपडा लगाएर नै हिँडे। पाउन् पनि कसरी ? उनी दूधे बालक भएकै बखत पिताले संसार छाडिसकेका थिए।

महेशराज भट्ट (नाम परिवर्तन) तीन वर्षको हुँदा बाबु बिते। पिताकै किरिया बस्न नपाएका भट्ट अहिले भने पशुपति क्षेत्रका किरियापुत्री घरमा सेतो फेटा बाँधेर कर्ता बनिरहेका हुन्छन्।

गत महिना किरियापुत्री घरमा कर्ता बनेकै अवस्थामा भेटिए भट्ट । सेतो टालो, सेतै फेटा र मुडुलो टाउको बनाएका उनी बाबुआमा वा आफन्तको मृत्युमा किरियापुत्री बनेका थिएनन् । धर्मराज कार्कीको मृत्युपछि उनकै छोरा जसरी मृत्यु संस्कार पूरा गर्दै थिए ।

जीवित छँदा धर्मराजलाई कहिल्यै चिनेनन् भट्टले । मृत्युपछि भने कार्कीका छोराले गर्नुपर्ने कर्तव्य पूरा गरिदिए । ‘धेरै यस्ता धर्मराजको किरिया बसिसके,’ अपरिचित व्यक्तिको किरिया बस्नुको कारण खुलाउँदै उनले भने, ‘यो मेरो पेसा हो, छोराछोरी नहुने र भएर पनि बस्न नचाहनेको किरिया बसिदिन्छु, त्यसैले गुजारा गर्छु ।’

भट्टलाई हालसम्म कति जनाको किरिया बसे भन्ने ठ्याक्कै याद छैन । आठ वर्षदेखि पशुपति क्षेत्रमा अर्काको किरियापुत्री बन्दै आएका उनी वर्षमा सरदर १५ जनाको किरिया बसिदिन्छन् । त्यसबापत पारिश्रमिक लिन्छन् र आफ्नो गुजारा चलाउँछन् ।

वर्षको १५ जनाको दरले हिसाब गर्दा अहिलेसम्म उनले करिब १ सय २० जनाको किरिया गरिसकेछन् । १५ वर्षको उमेरमै किरियापुत्री बनेका उनी अहिले २३ वर्षका  भए । काभ्रेबाट कक्षा सात पढ्दा पढ्दै काठमाडौं पसेका उनले सुरुमा पशुपति क्षेत्रको गंगामाया मन्दिरमा पुजारी हुने अवसर पाए । पुजारी र मन्दिरको सरसफाइ गरेर मासिक चारदेखि पाँच हजार  रूपैया“ कमाउथे ।

जय बागेश्वरीमा सैलुन चलाउने जीवन नापितसँग भट्टको चिनजान थियो । एक दिन आर्यघाटमा भट्टको भेट नापितसँग भयो । मलामी गएका नापितले भट्टलाई पैसा लिएर किरिया बस्ने भए राम्रो कमाई हुने बताए ।

सुरुमा नापितसँग आक्रोशित भएका भट्टको मन परिवर्तन भयो । ‘आखिर कामै गरेर खाने हो, किन पो आएको अवसर छाड्नु जस्तो लाग्यो,’ उनले भने, ‘हुन्छ भनिदिएँ ।’ 

उनी पहिलोपटक कर्ता बनेर होइन, कर्ताको सहयोगी बनेर किरिया बसे । सहयोगी बस्दा पनि कर्ता बनेर सघाउनुपर्ने भएकाले खासै फरक भने थिएन । त्यसबेला उनी किरिया बसेका थिए–पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाकी भाउजुको । छोरा सानै भएकाले भट्टले सहयोगी किरियापुत्री बन्नुपरेको हो । त्यसबापत उनले १५ हजार पारिश्रमिक पाए । त्यसपछि उनलाई किरिया बस्न अफ्ठ्यारो लाग्न छाड्यो । यसलाई नै पेसाका रूपमा अपनाएका उनी अहिले हरेक महिना कम्तिमा एक जनाको मृत्यु संस्कारका लागि कर्ता बन्छन्  ।

भट्ट जस्तै किरियापुत्री हुन्–राजराम खत्री (नाम परिवर्तन) । पाँच वर्ष भयो उनले अरुको छोरा बनेर किरिया बस्न थालेको । उनले हालसम्म करिब ६० जनाको किरिया गरिसके ।

चावहिल मैजुबहालमा घर भएका ४४ वर्षीय खत्री खेताला किरियापुत्री हुनुअघि फर्निचर व्यापारी थिए । ‘व्यापार घाटामा गएपछि ऋणमा डुबियो,’ खत्री भन्छन्, ‘काम खोज्दै जाँदा यस्तो काम आइलाग्यो ।’

उनले दरबारका आफन्तसहित धेरै चर्चित व्यक्तिको किरिया गरिसकेका छन् । ‘चर्चित मान्छेको किरिया बसेको छु,’ उनी भन्छन्, ‘१३ दिनसम्म चिन्छन्, १४ दिनदेखि हामीलाई बिर्सिन्छन्, त्यसैले म पनि नाम याद गर्दिनँ ।’

सम्भ्रान्त परिवारका कतिपयले खत्री र भट्टलाई सहयोगीको रूपमा राख्छन् । कतिपयले घरमै किरिया गर्छन् । त्यसबेला पनि उनीहरू सहयोगी बनेर घरमै जान्छन् । ‘साथी बनेर किरिया गर्न धेरै कटिलो छ,’ उनी भन्छन्, ‘स्वयम् छोराले चाँही केही काम नै गर्दैनन्, सबै हामीलाई लगाउँछन्, पैसा तिरेर ल्याएको त हो नि भन्ने व्यवहार गर्छन् ।’

जेठको अन्तिम साता पशुपतिको किरियापुत्री घरमा कुरा गर्दा उनी ललितपुर घनश्याम खड्काको किरिया बसिरहेका थिए ।

भट्ट र खत्री जस्तै सिन्धुपाल्चोकका डिल्लीप्रसाद अधिकारी पनि पशुपति क्षेत्रमा किरिया बस्ने काम गर्छन् । पाँच वर्षदेखि यहीँ पेशा अपनाएका अधिकारी अहिले ५३ वर्षका भए । चार छोरी र एक छोराका पिता उनकी ८४ वर्षकी आमा पनि छिन् । कपनमा बस्ने अधिकारीकी श्रीमतीले दुई वर्षअघिको भूकम्पमा ज्यान गुमाइन् ।

‘बालबच्चा सानै छन्, आम्दानीको स्रोत छैन,’ उनी भन्छन्, ‘बाँच्नु त परिहाल्यो, परिवार पाल्न किरिया बस्ने काम गरिरहेको छु ।’ अरुको किरियापुत्री हुनुअघि उनी ज्यामी काम गर्थे । एकदिन पशुपति घुम्न आएका बेला उनले अरुको किरियापुत्री बन्ने कामबारे थाहा पाए । उनले यो पेसा सुरु गरेको पाँच वर्ष भयो । उनले हालसम्म ६० जतिको किरिया गरेको बताए । भट्ट र खत्रीका परिवार र आफन्तलाई उनीहरूले गर्ने कामबारे खासै थाहा छैन । तर, अधिकारीका परिवारलाई भने यसको जानकारी छ । अधिकारीका छोराछोरीले भने स्वास्थ्यमा समस्या आउने भन्दै काम छाड्न दबाब दिइरहेका छन् ।

‘बिरामी भए कहाँबाट पैसा ल्याएर उपचार गर्नु, अब यो काम छोड्दिनुस् भनेर छोराछोरी भनिरहन्छन्,’ उनी भन्छन्, ‘काम छाडेर छोराछोरी कसरी पाल्नु र ? चोर्नु, ढाट्नु पो भएन त ? काम गरेर खाना त के हुन्छ र!’

भट्ट, खत्री र अधिकारी मात्र होइन, पशुपति क्षेत्रमा अरुको किरिया बस्ने पेसा गर्ने १७ जना छन् । उनीहरूको काम नै छोरा नभएका र भएर पनि सहयोगी चाहनेको किरिया गरिदिनु हो । अरुको किरिया बस्नेलाई सजिलो पार्न पशुपति क्षेत्र विकास कोषले किरियापुत्री व्यवस्थापन कार्यालय नै खडा गरेको छ । कार्यालयले सबैलाई पालो पालो गरेर किरियापुत्री बस्न व्यवस्थापन गराउने गरेको छ ।

कोषले उनीहरूका लागि केही वर्षअघि पारिश्रमिकसमेत तोकिदिएको थियो । मृत्युको ८ देखि १३ दिनसम्म मात्र बसिदिनु पर्ने किरियाका लागि ६ हजार, छोरा नहुनेको एकल बसिदिँदा ११ हजार र साथी बसिदिएको १३ हजार रूपैयाँ पारिश्रमिक तोकिएको थियो । तर, किरियापुत्री बस्नेले यो रकम एकदमै कम भएको गुनासो गरे पनि कोषले लागू गरेको छैन । अहिले व्यवस्थापन मात्र गर्दै आएको छ ।

अहिले किरिया बस्नेले भने आफैले पारिश्रमिक निर्धारण गर्ने गरेका छन् । कर्ता चाहिने र बस्नेबीच आपसी समझदारीमा मूल्य तय हुने गरेको छ । एकल किरियापुत्री बस्न दैनिक दुई हजार, साथी बस्दा एकमुस्ट ३५ हजार र आठदेखि १३ दिनसम्म बस्नुपर्दा १० हजार पारिश्रमिक तोक्न यो पेसा अपनाउँदै आएकाको माग छ ।

कोषका सदस्य सचिव गोविन्द टण्डन पारिश्रमिक तोक्दा समस्या भएकाले हाल व्यवस्थापन मात्र गरिएको बताउँछन् । उनले सहमतिमा फेरि पारिश्रमिक तोक्न सकिने बताए । अहिले भने पशुपति क्षेत्रमा अरुको किरिया बस्नेले छोरा नहुनेका लागि २५ हजार, ८ दिनदेखि १३ दिनसम्म मात्र किरिया गर्नेका लागि १० हजार र सहयोगीका लागि ३० हजार पारिश्रमिक लिँदै आएको पेसामा संलग्नहरू बताउँछन् ।

नुन नखाई १३ दिनसम्म बस्न र मृत्यु संस्कारका सबै कर्म पूरा गर्न सहज भने छैन । सहज नहुँदा नहँुदै पनि बाध्यताले यो पेसामा लागेको उनीहरू बताउँछन् । आफ्नो स्वास्थ्यमा पर्ने असरका साथै परिवार, साथीभाइ र आफन्तले नकारात्मक दृष्टिकोणले हेर्दा धेरैले पेसाबारे खुलेर बताउन चाहँदैनन् । ‘म त साथीभाइ र आफन्तलाई पनि खासै भेट्दैन, गाउँ जाँदा पनि धेरैलाई नभेटी फर्कन्छु,’ भट्ट भन्छन्, ‘विवाह गर्ने बेला हुन लाग्यो, विवाहका लागि पो के पेसा भन्ने भनेर चिन्ता लागिरहन्छ ।’

 

 

 

 

 

 

 

 

 

 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्डनमा नेपाली पहिरन

लन्डनमा नेपाली पहिरन

निर्माता तथा फेसन डिजाइनर पुनम क्षेत्री गौतमले डिजाइन गरेका नेपाली डिजाइन लन्डनमा प्रदर्शित भएका छन् । ‘एसएम ग्लोबल क्याटवाक फेसन...

डेटिङमा कल्की

डेटिङमा कल्की

निर्देशक अनुराग कश्यपसँग विवाह गरेर चोट पाएकी बलिउड अभिनेत्री कल्की कोचिलिनले मल्हम लगाउने साथी पाएकी छिन् । कल्कीले फिल्म ‘एयरलिफ्ट’...

ओस्कारमा 'सेतो सूर्य'

ओस्कारमा 'सेतो सूर्य'

ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ।...

'मोडल हन्ट'मा र्‍याम्प शो

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका...