८ वैशाख २०८१ शनिबार
समाज

सबैको रोजाई, ‘अमेरिकी कर्न’

अचेल ‘टेस्ट अफ दि टाउन’ बनेको छ, ‘अमेरिकन कर्न’ । ‘अमेरिकन कर्न’का नामले बिक्री हुने उसिनेको मकै धेरैको जिब्रोमा स्वाद बनेर बसेको छ ।
पिपुल्स प्लाजाको ‘ग्राउन्ड फ्लोर’को ‘प्यासेज’ ‘अमेरिकन कर्न’ मात्र पाइने एउटा ‘फास्ट फुड स्टल’ छ । किनमेल गर्न आएकी प्रभा रानालाई ‘प्यासेज’को ‘अमेरिका कर्न’ले आकर्षित गर्यो।
कागजको कपमा ‘सर्भ’ गरिएको मकैका गेडालाई प्लास्टिकको सानो चम्चाले खान उनी बेलाबेला पिपुल्स प्लाजा पुग्छिन् । ‘यहाँ आउँदा यो मकै नखाई फर्किन्नँ, जुन मौसममा पनि यहाँ मकै पाइन्छ,’ उनी भन्छिन् ।  
प्रभाजस्तै अमेरिकन कर्न खान आउने ग्राहकलाई विभिन्न स्वाद हालेर मकै पस्कन बसेका छन्, अरविन्द कठरिया । ‘ग्राहकले भने अनुसार चाट मसला, खुर्सानीको धुलो, कागतीको रस अनि बटर हालेर मकै तयार पारेर दिन्छु,’ उनी भन्छन् । कुनै ग्राहकले नुन र बटर मात्र मोलेर बनाएको मकै मन पराउने गरेका छन् । कसैले भने मरिच हालेको मन पराउँछन् ।
अरविन्दको स्टलमा मकै खाँदै गरेकी लक्ष्मी श्रेष्ठलाई अलिअलि गुलियो स्वादको अमेरिकन मकै निकै मन पर्छ । ‘मसलाका कारण थप स्वाद पाइए पनि अमेरिकन कर्नको ‘स्वीटनेस’ नै मन पर्छ,’ उनले भनिन् ।
अमेरिकन कर्नमा गुलियो स्वाद भएपनि यसमा ‘सुगर’ र ‘फ्याट’ नहुने सिभिल मलस्थित ‘चुस्की’ का सञ्चालक रञ्जितकुमार साहले बताए । आफ्नो स्टलमा ‘अमेरिकन कर्न’ खानेको संख्या दिनानुदिन बढ्दै गइरहेको साहले बताए । ‘कति कप बिक्री हुन्छ भन्ने त गणना गरेको छैन । तर, व्यापार राम्रै छ,’ उनले भने, ‘यो खाने ग्राहक अझै बढ्दैछन् ।’ आफ्नो स्टलमा आएर चिसो, चिल्लो, पिरो नखानेलाई ‘अमेरिकर्न कर्न’ खान उनी सुझाउँछन् ।
‘यो स्वस्थकर छ, यसमा ‘फ्याट’ र ‘सुगर’ केही पनि नहुने भएकोले बिरामीले पनि खान मिल्छ,’ साह भन्छन् ।  केटाकेटीदेखि वृद्धवृद्धासम्मको आकर्षण अमेरिकन कर्नमा छ ।
उनले पाँच वर्ष पहिले कमलपोखरीको सिटी सेन्टरमा ‘अमेरिकन कर्न’ बेच्न थालेका थिए । पिपुल्स प्लाजामा अमेरिकन कर्न बेच्ने ‘चुस्की’ स्टल पनि साहकै हो ।  
अमेरिकी मकैको बीउ भएका कारण यसको नाम ‘अमेरिकन कर्न’ भएको हो । भारतमा यसको खेती हुने गर्छ । ‘चुस्की’ का सञ्चालक साहले भारतबाट नै मकै ल्याउने गरेका छन् ।
‘त्रिमूर्ति भन्ने कम्पनीमार्फत हामी भारतबाट आयात गर्छाैं, यसलाई ल्याउन पनि धेरै दुःख छ,’ उनी भन्छन्, ‘फ्रोजन गाडीमै ल्याउनुपर्छ ।’ साहका अनुसार यहाँ उनले बेच्ने मकैको काँचो तयारी गेडा नै नेपालमा आउँछ । त्यसलाई तताएर मसला हाल्ने काम मात्र यहाँ हुन्छ ।
स्वाद र आकारमा नेपालमा पाइने मकैभन्दा फरक रहेको साहको भनाइ छ । उनको स्टलमा ग्राहकको चाहना अनुसारको ‘फ्लेभर’ मिलाएर कपमा हालेर मकै दिइन्छ । कपमा हालेर दिइने भएकाले सपिङ मल अगाडिका स्टलमा यसलाई ‘अमेरिकन कप कर्न’ भन्ने गरिएको छ । चुस्कीमा एक कप अमेरिकन कर्नको मूल्य ८० रूपैयाँ निर्धारण गरिएको छ ।
पौष्टिक तत्वले भरिएको भए पनि समाजमा मकैका परिकार ‘सानाको खाना’ भनेर हेपिन्छन् । तर, जब मकै राम्रो बजार अवधारणा भएको मानिसको हातमा पुग्छ, यसको सान अर्कै हुन्छ । यसका अनेकौं उदाहरण हामीसँग छन् । ‘पप कर्न’का नाममा होस् या ‘बेबी कर्न’को नाममा फरक तरिकाले बजार प्रवद्र्धन गर्दा आधुनिक बजारमा मकैलाई धेरैले रुचाएका छन् ।
काठमाडौंको बजारमा नेपालकै किसानले उत्पादन गरेको हरिया नेपाली मकैका घोगा जताततै बेच्न राखिएको पाइन्छ । यस्तो बेला पनि अमेरिकी मकै कपमा खान सपिङ मलका स्टल धाउनेको कमी छैन ।

प्रकाशित: ५ असार २०७४ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App