coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्स पनि जान नसक्ने अवस्थामा हुलाकी मार्ग

हिलाम्य हुलाकी राजमार्ग । तस्बिर : जितेन्द्रकुमार झा

राजविराज – शनिबार, दिउँसो करिब ३ बजे, हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजविराज–पत्थरगाडा सडक स्थित ‘मुतनी’ खेला नजिकै २० वर्षीया सुत्केरी कबिता शर्मा पीडाले छट्पट्याई रहेकी थिइन । ‘तल्लो पेट’ र ‘यौनाङ्ग’मा भइरहेको असहनीय दुखाइले उनी छिनछिनमै मुर्छा परिरहेकी थिइन्। 

उनीसँगै रहेका वृद्ध बाबु बिन्देश्वर शर्मा छोरीको पीडा देखेर स्तब्ध थिए । आमा पनि रोइरहेकी थिइन् । दुई वटा मोटरसाइकल लिएर सँगै रहेका शर्माका भाई र एक जना छिमेकी युवा पनि ‘अब के गर्नु’ सोच्दै अक्कबक्क थिए । 

सप्तरीकै भुतही घर भएकी कबिताले गाउँ नजिकै रहेको तहरी स्थित बर्थिङ्ग सेन्टरमा बिहानै मात्र शिशु(छोरा)लाई जन्म दिएकी थिइन । सहज रुपमै बच्चाको जन्म भएपनि आमाको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखेपछि बर्थिङ्ग सेन्टरमै रहेकी एक महिला स्वास्थ्यकर्मीले अन्यत्र लैजान भनेपछि कबिताका परिवारजन उनलाई लिएर राजविराज हिडेका थिए । 

‘निकै प्रयास गर्यौं एम्बुलेन्स खोज्न सकिएन, सडकको जर्जरताका कारण अन्य गाडीहरुको प्रबन्ध पनि हुन सकेन, अन्ततः मोटरसाईकलमा लिएर जसोतसो निस्कियौं’, पीडितका बाबु ६० वर्षीय  बिन्देश्वरले भने, ‘यसको अवस्था मोटरसाईलमा बस्न सक्ने छैन, तै पनि जसोतसो लग्नु परेको छ ।’ 

घरबाट ५ किलोमिटर जति नआउँदै कबिताको अवस्था झन् खराव हुँदै गयो । पछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी पाएपछि महिला विकास कार्यालयसँगको समन्वयमा कबिताको लागि एम्बुलेन्स पठाईयो । हाल उनी राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराईरहेकी छिन् । 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अत्यधिक रक्तश्राव तथा अन्य आन्तरिक समस्याका कारण कबितालाई ४÷५ दिन अस्पतालमै राख्नु पर्ने हुन्छ । ‘अस्पताल आउन थोरै पनि ढिलो भएको भए उनको ज्यान सम्म जान सक्ने खतरा थियो’ चिकित्सकको भनाई थियो ।

कबिता त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । हुलाकी राजमार्ग छेउमा बसोबास गर्नेहरुका लागि यस्ता पीडा र समस्या दिनचर्या नै बन्न पुगेको छ । दशकौं देखि जर्जर र जिर्ण हुलाकी राजमार्ग पुर्ननिर्माण त परै जाओस समयमा मर्मत सम्भार समेत नहुँदा उक्त सडकमा आवत जावत दुरुह भएको छ । 

‘आपत विपदका बेला आकस्मिक सवारी साधनको समेत सहज आवागमन हुन सक्ने अवस्था छैन’, सप्तरी खुरहुरियाका स्थानिय स्वास्थ्यकर्मी श्यामप्रकाश यादवले भने, ‘सडकमा सहज आवागमनको अवस्था भएको भए दर्दले छटपट्याई राख्नुपर्ने अवस्था हुने थिएन ।’ 

हुलाकी सडकको दुर्दशाका कारण सदरमुकाम राजविराजबाट गाउँमा एम्बुलेन्ससम्म आउन सक्ने अवस्था नरहेको खुरहुरीयाका स्थानीय शिक्षक महिनारायण यादवले बताए । ‘रातिको समयमा कोही बिरामी पर्यो भने एम्बुलेन्स समेत आउन मान्दैनन्’, उनले भने, ‘समयमा एम्बुलेन्स नपुग्दा गाउँमै ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

‘चुनावी नारा मात्रै’
कालोपत्रे त परै जाओस अब त माटो र ग्राभेलको अवशेष समेत देखिदैनन् । खाल्डै खाल्डो अनि हिलाम्य सडकमा पैदल यात्रा पनि जोखिमपूर्ण बन्न पुगेको छ । मुलुककै पुराना सडकहरुमध्ये एक यो सडक दशकांैदेखि जीर्ण छ । नाम मात्रै बाँकी रहेको यस सडकसँग जोडिएको जिल्लाका दर्जनौ गाविसको भविष्य नै अन्यौलग्रस्त बनेको छ ।

तराई मधेशकै विकासको मेरुदण्डका रुपमा मानिएको हुलाकी सडकको अवस्था र आवश्यक्ता बारे बेला वखत राजनतेताहरुले नबोलेको होइनन्, सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा पनि निकै चर्चा हुने गर्छन्, तर सडकको अवस्था हेर्दा ती भाषण र प्रतिवद्धताहरु चुनावी नारामै सीमित भएको यस सडकसँग जोडिएका गाउँलेहरुको गुनासो छ ।  

तराई-मधेशको विकासका लागि महत्वपूर्ण मानिएपनि राज्यको उदासिनताकै कारण सडक निर्माण कार्य हुन नसकेको स्थानीय बासिन्दाहरुको गुनासो छ । ‘२०४६ सालमै हुलाकी सडक अन्तर्गत सप्तरीको अर्नाहामा आयोजित आम सभामा सहभागी भएका काँग्रेसका तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालाले यो रोड काँग्रेसी भएको भनेर ठोकुवा गर्दै सरकारमा जाने बित्तिकै निर्माण थाल्ने आश्वासन दिनुभएको थियो’, हुलाकी सडक अन्तर्गत बसोवास गर्ने सप्तरी पत्थरगाडाका कर्णदेव चौधरीले भने, ‘तर, गिरिजाबाबु स्वयं कति पटक प्रधानमन्त्री भइसक्नुभयो, अहिले उहाँ दुनियाँ छाडेर पनि गइसक्नुभयो, तर हुलाकी सडकको हालतमा कुनै परिवर्तन आउन सकेको छैन ।’

अलपत्र निमार्ण कार्य, सम्बन्धीत निकाय मौन
पूर्वदेखि पश्चिमसम्म फैलिएको ९ सय ४५ किलोमिटर हुलाकी सडक मध्ये सप्तरी स्थित ५५ किलोमिटर सडक खण्ड पुर्ण रुपमै जीर्ण अवस्थामा पुगिसकेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न गाउँ तथा मुख्य नगरहरुलाई जोडने हुलाकी मार्ग भत्किएर ठूला–ठूला खाल्डाहरु भएको छ । सडक खण्डमा रहेका विभिन्न पुलहरु समेत भत्किएकाले झन् जोखिम बढेको छ । तराईको वीरगञ्ज, सिम्रौनगढ, गौर, मलंगवा, जलेश्वर, सिरहा, राजविराज हुँदै भद्रपुर लगायतका सदरमुकाम तथा बजारहरु जोड्ने यो सडक निर्माणमा तदारुकता नदेखाइएका कारण सडकको अवस्था झन जर्जर बन्न पुगेको छ । 

तराई क्षेत्रका ग्रामिण भेगका जनताहरुका लागि अति महत्वपूर्ण मानिने यो सडक भारत सरकारको सहयोगमा निर्माण कार्य जारी रहे पनि गति सुस्त रहेको छ । सडक निर्माण भईरहेको छ भनि बहानामा मर्मत सम्भारको कार्य नहुँदा सर्वसाधारण जनता सास्ती व्यहोर्न बाध्य भएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । सदरमुकाम राजविराज आवत–जावत गर्नका जिल्लाको पश्चिमी भेगका जनताहरुलाई समस्या हुने गरेकोले मर्मतसम्भारका लागि सरोकारवाला निकायले ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ ।

असार महिनाको सामान्य वर्षामा पनि पानी जमेर बाटो बिग्रँदा यातायातका साधन चल्न कठिनाइ हुने गरेको खुरहुरियाका व्यवसायी हरिनारायण साहले बताए । ‘सामान्य वर्षामा पनि यातायातका साधन चल्न गाह्रो हुन्छ, रातिको समयमा हिडडुल गर्न समेत जोखिम मोल्नुपर्ने बाध्यता छ’, उनले भने, ‘ठाउँ–ठाउँमा भत्किएका जीर्ण पुलले गर्दा साइकल तथा पैदलयात्री दुर्घटनाको सिकार हुने गर्छन् ।’ बयलगाडा, ट्रयाक्टर, टेम्पु, जीपलगायतका यातायातका साधनहरु अनियन्त्रित भई पल्टिने गरेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनले बताए । 

वर्षायामका असार, साउन, भदौ र असोज चार महिना निक्कै कष्टकर हुने गरेको बताउँदै व्यवसायी साहले भने, ‘खेतमा उत्पादित तरकारी तथा अन्न बिक्रीका साथै दैनिक गर्जो टार्नका लागि सामान खरिद गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, तर बाटोको अवस्था भने हिडनै नसक्ने छन् ।’

यता सन् २०१० देखि यस सडकलाई पुर्व मेचि देखि महाकालि सम्म द्रुत मार्गलाई जोड्न भारत सरकारले काम थालेपनि हाल सम्म उक्त कार्य पनि अलपत्र नै रहेको छ । भारतीय निर्माण कम्पनी जेभिीआर जिबिआर र गावरले ठेक्का पाएर थालेको काम हाल सम्म पनि सप्तरी पुग्न नसकेको स्थानियहरु बताउँछन् । पूर्वबाट मेचीको भद्रपुरदेखि रङगेली, विराटनगर, राजविराज, सिरहा, जनकपुर, मलङगवा, कलैया, वीरगन्ज, त्रिवेणी, परासी, भैरहवा, बहादुरगञ्ज, नेपालगञ्ज, धनगढी हुँदै महाकालीपारीको दोधारा चाँदनीसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्य त्यतिवेला लिईएको थियो । 

सम्बन्धित कम्पनीका ठेकेदारको ढिलासुस्ती तथा सडक फराकिलो गर्ने क्रममा अतिक्रमित घर, टहराहरु भत्काउन तथा रुख कटान गर्ने क्रममा ठाउँठाउँमा स्थानीयवासिन्दाहरुले अवरोध पुर्याउने गरेका कारण सडक निर्माण कार्यले गति लिन नसकेको बताइन्छ । यस्तै हुलाकी सडकमा पर्ने पुलहरु निर्माण गर्ने जिम्मा नेपाल सरकारले लिए पनि कामले अपेक्षाकृत गति लिनसकेको छैन् । 

प्रकाशित: ५ असार २०७४ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App