१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाँदरबाट किसान हैरान

बाँदरले सताएपछि बेसीसहर नगरपालिका–५, धुपीचौरका स्थानीयले बारीमा बाँदर तर्साउन बनाएका बुख्याँचा । तस्बिर : किसान नेपाली

लमजुङ–जिल्लाका विभिन्न स्थानका खेतबारीमा लगाइएको मकै र फलफूल बाँदरले खाएर सत्यनाश बनाएपछि स्थानीय कृषक हैरान भएका छन् ।

सदरमुकाम बेसीसहर आसपासकै बस्तीदेखि अधिकांश गाउँमा बाँदरको आतंक बढ्दै गएकाले आफूहरुलाई सास्ती भएको स्थानीयले बताएका हुन् । बाँदरले खेतबारीमा लगाइएको बर्खे खेती मकै, फलफूल र तरकारी बाली खाएर सत्यनाश बनाएको बेसीसहर–६, भलामशेराका शमशेर सुँयेलले बताए । 

‘खेतबारीमा छरेको मकै धमाधम पाक्न थालेको छ,’ सँुयेलले बताए, ‘विहान झिसमिसेदेखिनै बारीमा गएर बाँदर कुर्नुपर्ने बाध्यता छ ।’ यतिबेला गाउँघरमा मकै पाक्न थालेको छ भने आरु, नास्पाति, आरु, आरुबखडा, आँप, काँक्रो जस्ता फलफूल र घिरौंला, चिचिन्डो, करेला, बोडी, सिमी लगायत तरकारी फलेका छन् । बाँदरले ती फलफूल र तरकारी पनि कोही खाने र कोही चुँडेर फालिदिएर हैरान बनाएको भलामशेरास्थित अमरज्योति आमा समूहकी अध्यक्ष लोकादेवी सुँयेलले बताइन् । 

बाँदरले सताएकाले विहान झिसमिसेदेखिनै एकजना कुरुवा बस्नुपर्ने बाध्यता आइलागेको बेसीसहर–९, डिहिथोककी पार्वती अधिकारीले बताइन् । 

गाउँका स्कुले विद्यार्थी, प्रौढ महिला पुरुषदेखि वृद्ध–वृद्धासम्मले बाँदर कुर्न खट्नुपरेको उनी बताउँछिन् । आफूजस्ता थुपै्र विद्यार्थी विहान–बेलुका किताब बोकेरै बाँदर कुर्न जाने र बाँदर नआएको मौका छोपेर पढ्ने गरेको जनविकास माविमा ९ कक्षामा अध्यनरत अनिल अधिकारीले बताए । 

काठमाडौंबाट १२ कक्षाको परीक्षा दिएर बसेका डिहिथोकका अमृत अधिकारीले आमाबुबाले बोलाएकै कारण खेती जोगाउन गाउँ आएको बताए । घर वरिपरि करिब ६ रोपनी जग्गामा केरा खेती लगाएका तालफाँटका कृषक नारायणदत्त बरालले बाँदरबाट केरा जोगाउनै मुस्किल पर्न थालेको बताए । बाँदरका हुल पसेर भर्खरै लागेका कोसादेखि छिप्पिएर पाक्ने बेला भएका केरा कोही खाने र कोही चँुडेर मिल्काइदिने गरेपछि दिनैभर धरालो लाग्नुपरेको बराल बताउँछन् । 

खेती तथा फलफूल नष्ट गर्नुको साथै धपाउन जाँदा केटाकेटी तथा महिलालाई बाँदरले आक्रमण गर्न जाइलाग्ने गरेको स्थानीयले बताए । बाँदर धपाउन जाँदा आफ्नो छिमेकी महिलालाई आक्रमण गरेर शरिरमा चोटैचोट बनाइदिएको भकुण्डेका ६८ वर्षीय पदमबहादुर अधिकारीले बताए । बाँदरले मान्छेले जस्तै गालामा हिर्काउनुको साथै छाति र शरिरमा चिथोरेर रगताम्ये बनाइदिएको र हारगुहारपछि छिमेकीले छुट्याएको उनी बताउँछन् ।

काम गर्न सक्ने उमेरका युवायुवती र प्रौढहरु अध्ययन गर्न वा जागिरका लागि सहरबजारमा छन् । अधिकांश घरबाट छोराहरु वैदेशिक रोजगारीमा गएका छन् भने बुहारीहरु बालबच्चा पढाउन सहरबजारमै छन् । गाउँघरमा मुस्किलले बूढाबूढीमात्रै भएकाले घर वरिपरि लगाइएको खेती बाँदरबाट जोगाउन मुस्किल पर्ने गरेको स्थानीय कृषक बताउँछन् । 

गाउँघरमा बस्ती पातलिँदै गएको, कसैकसैले मात्रै खेतीपाती गर्ने र हिउँदको समयमा जंगलमा फलपूmल तथा कन्दमूल नपाइने जस्ता कारणले गाउँमा बाँदरको बिगबिगी बढ्दै गएको सूर्यपालका विष्णुबहादुर कार्की बताउँछन् । खेतबारीमा मात्रै नभई बाँदरले घरभित्रै पसेर मकैका घोगा, झुत्ता, फर्सी, कुभिन्डो, पिंडालु, मेवा, केरा, भुइँकटहर जस्ता अन्न, तरकारी र फलफूल खाने र नष्ट गरिदिएपछि निकै सास्ती हुने गरेको कार्कीको गुनासो छ । ‘एकजनाले त घर छाड्नै पाइन्न,’ उनले फोनमा भने, ‘कतिबेला घरमा पस्छ थाहै पाइन्न, बाँदरले त रुनु न हाँस्नु बनाएको छ ।’ बाँदर आतंकबाट हैरान गाउँसहर भकुन्डेका तीर्थबहादुर खड्काले झोक्किँदै भने, ‘लगाएको खेतीबाली नै खान नपाइने भएपछि सरकारले बाँदर नियन्त्रण गरेर हामलाई सहयोग गर्नुपर्छ, दिनरात बाँदर कुरेर कसरी साध्य लाग्छ ?’

बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, राइनासटार नगरपालिका र क्होँलासोथर, मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका १५ हजार पाँच सय हेक्टर जमिनमा मकैबाली लगाइएको छ । तीमध्ये अधिकांश स्थानमा बाँदरले सताएको गुनासो आउने गरेको कृषि प्रसार अधिकृत राजेश सिलवाल बताउँछन् । बाँदरले सताएपछि समाधानका लागि कार्यालयमा समेत धेरै कृषकले सम्पर्क गर्ने गरेको तर स्थायी उपाय केही नभएको वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीको भनाइ छ । बाँदरले सताएकै कारण सहयोग गरिदिन आफ्नो कार्यालयसम्म कृषकहरु आउने गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेल बताउँछन् ।

 

प्रकाशित: ५ असार २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App