५ वैशाख २०८१ बुधबार
अर्थ

बन्दको त्रासमा उद्योगी व्यवसायी

बारा – देशकै प्रमुख वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गतका उद्योगीहरु दिनहुँ हुने बन्द हडतालले त्रसित बनेका छन् । बन्द, हडतालका कारण उद्योगहरु बन्द भएको बेला मजदुरलाई त्यत्तिकै तलब दिनुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र विद्युत् महसुल तिर्नुपर्ने बाध्यताले उद्योगी, व्यवसायी आत्तिएका हुन्।

डेढ वर्षअघि मधेसी मोर्चाले ६ महिना बन्द गर्दा धराशयी बनेका उद्योग फेरि राष्ट्रिय जनता पार्टी नेपालले सुरु गरेको अन्दोलनले बन्द गराउने हो कि भन्ने चिन्तामा छन् । वीरगन्ज उद्योग वणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा बारम्बार हुने आन्दोलनले वीरगन्ज–पथलैया औद्योगिक करिडोर नै बढी प्रभावित बनेको बताउँछन् ।
 
‘पोहोरको बन्द हडतालले समस्यामा परेको यस क्षेत्रका उद्योग, व्यवसाय लयमा फर्कन नपाउँदै फेरि बन्द हडताल सुरु गरिएको छ,’ अध्यक्ष शर्माले भने, ‘बन्द हडतालको नाममा वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई नै धराशयी बनाउने खेल सुरु भएको छ ।’ करिडोरमा एक दिन हुने बन्द हडतालले उद्योगी व्यवसायीलाई २० करोड रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने उनले बताए ।

बन्द हडतालले सबैभन्दा बढी यो करिडोर अन्तर्गतका उद्योग बन्द हुने गरे पनि राज्यले यसलाई बेवास्ता गर्दै आएको शर्माले बताए । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नयाँ उद्योग खोल्न चाहने उद्योगीले अहिले बन्द हडतालकै कारण अन्य भागमा उद्योग खोल्न सुरु गरेको उनको भनाइ छ । 

विगतमा मधेस आन्दोलनको केन्द्रबिन्दु बनेकाले यस क्षेत्रमा लगानीको वातावरण बिग्रेको छ । नेपालका लागि तेस्रो मुलुकबाट सामान भित्रिने मुख्य ठाउँ कोलकाता बन्दरगाह वीरगन्जबाट सात सय किलोमिटर दुरीमा छ । सिधा रेलवेले जोडिएको एकमात्र सुक्खा बन्दरगाह पनि यहीं रहेकाले अन्य क्षेत्रको तुलनामा लगानीकर्ताले यहीं उद्योग–धन्दा खोले । अहिले ती समस्यामा परेका छन् ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा साना र ठूला गरी एक हजारभन्दा बढी उद्योग  सञ्चालनमा रहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । ती उद्योगमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढीले रोजगारी पाएको र बन्द हडतालको समयमा ती मजदुरलाई त्यत्तिकै तलब दिनुपर्ने शर्माले बताए ।

प्रकाशित: ५ असार २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App