पाल्पा- २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा २१ वर्षे युवा जनप्रतिनिधिको लडाईँमा होमिएका छन्। जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकाको ४ नम्बर वडा अध्यक्षमा २१ वर्षे युवा सुदीप पौडेलले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका पौडेलले नमूना वडा बनाउने र सूचनामैत्री बनाउने कार्ययोजना लिएर उम्मेदवार बनेको बताएका छन्। कम्युटर विज्ञान तथा सूचना प्रविधि विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत छन्।
आफूले नगरको विकासका लागि स्पष्ट योजना बनाउने सुदिपले जिल्लाको नगरलाई सूचनामैत्री बनाएर पर्यटकीय गन्तव्यको प्रमुख नगरको रुपमा सावित गराउने योजना रहेको बताए। उनी भन्छन्, 'उम्मेदवारहरुको सूचिमा पाकापुस्ताको बाहुल्यता छ। सूचनाको तिव्र विकासलाई उनीहरुले पछ्याइरहन सकेका छैनन्। सबैलाई समान रुपमा हेर्न सरकारले सकेको छैन। सरकारका हरेक विषय जनताको लागि महत्वपूर्ण हुन्छ।'
जनस्तरमा स्थानीय सरकार चयन गर्ने स्थानिय निर्वाचनले अहिले जनतामा रौनक छाएको छ। युवाहरु पनि आफ्नो क्षेत्रमा विकास गर्नका निम्ति अग्रसर छन्। पहिलो चरणको निर्वाचनमा काठमाडौंकी मेयर पदका उम्मेदवार रञ्जु दर्शनाले मतदाताको मन राम्रैसँग जितिन् र ललितपुरकी अर्की रञ्जु वडा प्रतिनिधिमा निवार्चितनै भइन्, पौडेलले भने।
उनले सम्पूर्ण दलहरुले तुल व्यानरहरु झुण्डाएर चर्को महँगो विज्ञापन गरिरहँदा आफूले मतदाताको मन तित्न घरघरमा पुग्ने गरेको सुनाए। सम्भवत उनी पाँच नम्बर प्रदेशकै कान्छो उम्मेदवार हुन्।
प्रकाशित: ५ असार २०७४ १०:५६ सोमबार