६ वैशाख २०८१ बिहीबार
राजनीति

गोर्खाल्यान्ड आन्दोलन थप सशक्त बनाइँदै

दार्जिलिङमा सोमबार विरोध प्रदर्शन गर्दै मोर्चा कार्यकर्ता। तस्बिर सौजन्य : रविन राई

इलाम- छुट्टै ‘गोर्खाल्यान्ड' राज्य माग गरिरहेका भारत पश्चिम बंगालका गोर्खालीले मंगलबार दार्जिलिङमा हुने सर्वदलीय बैठकको पूर्वसन्ध्यामा र्‍याली र सभा आयोजना गरेका छन्। दार्जिलिङका गोर्खालीले भने सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पुतला दहनसमेत गरे।

हजारौं संख्यामा सडकमा उत्रिएका गोर्खालीले दार्जिलिङका सडक र चोक–चोकमा टायरसमेत बालेर प्रदर्शन गरेको पत्रकार रविन राईले जानकारी दिए। गोर्खाल्यान्ड आन्दोलनको नेतृत्वकर्ता गोर्खा जनमुक्ति मोर्चासहितका ६ दलको बैठक मंगलबार दार्जिलिङमा आयोजना गरिँदैछ। १३ जुनको बैठकको निर्णयअसार मंगलबारको बैठकले संयुक्तरूपमा आन्दोलन अघि बढाउने निर्णय गर्नेछ। बैठकको पूर्वसन्ध्यामा पश्चिम बंगालका गोर्खालीले गोर्खाल्यान्डको मागसहित प्रदर्शन गरेका हुन्।

दार्जिलिङको जिमखानामा बिहान ११ बजे बस्ने बैठकमा मोर्चासहितका दलहरू सहभागी हुने मोर्चा महासचिव रोशन गिरीले बताए। ‘बिहान ११ बजेका लागि बैठक डाकिएको छ,' सबै दलहरू बैकठमा सहभागी हुने विश्वास छ,' नयाँ दिल्लीमा रहेका गिरीले नागरिकन्युजसँग सोमबार साँझ भने, ‘गोर्खाल्यान्डबारे केन्द्र सरकारले स्पष्ट कंक्रिट स्टेप चालोस्।' उनले दार्जिलिङलगायत तराई र डुवर्समा भइरहेको आन्दोलन केन्द्र सरकारले पनि हेरिरहेको बताए।

१३ जुनमा मोर्चाले बोलाएको बैठकमा मोर्चालाई अन्य ५ दलले पनि समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए। बैठकमा सहभागी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), भारतीय जनता पार्टी, भारतीय गोर्खा परिसंघ, क्रान्तिकारी मार्क्सवादी पार्टी र गोर्खाल्यान्ड राज्य निर्माणकर्ता दल सहभागी थिए। सबै दलले २० जुनमा संयुक्त बैठक बसेर आन्दोलनको थप रणनीति बनाउने निर्णय गरेका थिए। त्यहीअनुसार मंगलबार बैठक बस्न लागेको हो। मोर्चासहितका ६ दलबाहेक अन्य दलहरू पनि बैठकमा आउनसक्ने र बैठकले गोर्खाल्यान्डको मागमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाले जनाएको छ।

मोर्चाको कार्यालयमा प्रहरीले छापा मारेको विरोधमा मोर्चा कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि सेनाले शनिबार गोली चलाउँदा बिजनबारी कैजलेका सुनील राई, कमजेरका विमल साशंकर र रेलिङका महेश क्षेत्रीको मृत्यु भएको थियो। ‘सहयोद्धा'को मृत्युपछि पनि मोर्चा कार्यकर्ताले प्रदर्शन गर्न भने छाडेका छैनन्। मुख्यमन्त्री बेनर्जीले मोर्चालाई आतंककारीको संज्ञा दिएकी छिन् भने मोर्चा अध्यक्ष विमल गुरुङले बंगाल सरकारले गोर्खाहरूमाथि तानाशाही व्यवहार गरेको प्रतिक्रिया दिइसकेका छन्।

मोर्चाले घोषणा गरेको आमहड्ताल सोमबार पाँचौं दिन पनि जारी नै रह्यो। बन्द जारी रहेकाले मंगलबारको सर्वदलीय बैठकलाई पनि त्यसले असर गर्नसक्ने देखिएको छ। यहाँका बजार, स्कुल, पसल, सवारी साधनलगायत सबै ठप्प छन्। पर्यटक सबैभन्दा बढी मारमा परेका छन्। पश्चिम बंगालको पहाडी क्षेत्रका कक्षा १ देखि १० सम्मको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारका शिक्षामन्त्री पार्थ चटर्जीको घोषणापछि दार्जिलिङलगायत पहाडी क्षेत्रमा आन्दोलन चर्किएको हो। मोर्चा कार्यकर्ताले अहिले दार्जिलिङ, खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ५ असार २०७४ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App