१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आकासमै जन्मियो बच्चा

मुम्बई- एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन्। अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन्।

नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय अगावै बच्चा जन्माएको बताइएको छ।

साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा उक्त महिलाले बच्चा जन्माएकी हुन्। जेट एयरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बईमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पुर्‍याइएको थियो।

बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको बताइएको छ। विमानमा बच्चा जन्मिने क्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए।  बोइङ ७३७ उडानमा एक सय ६२ जना यात्रु सवार रहेका थिए। महिला र भर्खरै जन्मिएको शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै मुम्बईमा विमान अवतरण गरिएको उक्त एयरवेजले जनाएको छ।

ती महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको बताइएको छ। उक्त एयरवेजले पहिलो पटक आफ्नो एयरवेजमा यसरी आकासमै बच्चा जन्मिएको जनाएको छ। मुम्बइर्को होली स्पिरिट अस्पतालले एएफपी समाचार समितलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ।

जेट एयरवेजले यसप्रकार विमानमा बच्चा जन्मिएको पहिलो पटक भएकाले ती बच्चालाई जीवनभरी निःशुल्क यात्रा गराउने बताएको छ। गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो। सो विमानलाई दक्षिणी भारतीय सहर हैदराबादमा आकस्मिक अवतरण गराई आमा र बच्चालाई नजिकैको अस्पताल पुर्‍याइएको थियो।

प्रकाशित: ६ असार २०७४ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App