नयाँदिल्ली- आगामी जुलाई १७ का दिन हुने भारतीय राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले एक दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। पिछडिएको समुदायलाई अगाडि बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न लगाएको जनाएको छ।
मुलुकको सबैभन्दा माथिल्लो औपचारिक पदका लागि बिहार राज्यका गभर्नर ७१ वर्षीय रामनाथ कोभिन्डलाई भाजपाले अगाडि सारेको हो। भारतको सबैभन्दा उच्चपदमा यसअघि हालसम्म एक जनाले मात्रै दलित समुदायबाट प्रतिनिधित्व गरेका छन्।
वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसद्का सांसदले मतदान गर्ने व्यवस्था छ। सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण दलबाट आवश्यक सहयोग पाउने विश्वास लिएको उक्त पार्टीले पत्रकार सम्मेलनमा बताएको छ।
रामनाथ कोभिन्ड पहिलेदेखि नै सधैं पिछडिएको समुदाय र दलित समुदायको उत्थानका लागि लडिरहेका व्यक्ति हुन्,' भाजपाका प्रमुख अमित शाहले पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बताए।
'कथित तल्लो जात मानिने दलित र अति गरिब समुदायमा जन्मिएका कोभिन्ड राष्ट्रपति पदका लागि सर्वसम्मत उम्मेदवार हुन सक्छन् भन्ने भाजपालाई विश्वास छ,' उनले बताए।
सामान्यतया माथिल्लो हिन्दू समुदायको समर्थन गर्ने छवि बनाएको भाजपाले दलित समुदायका व्यक्तिलाई राष्ट्रपति पदमा अघि सार्नुलाई रणनीतिक रुपमा लिइएको छ। कतिपयले भारतभर रहेका करिब १५ प्रतिशत दलित मतदातालाई आकर्षित गर्नका लागि भाजपाले कोभिन्डलाई अगाडि बढाएको हुनसक्ने आंकलन पनि गरिएको छ। भाजपाले पछिल्ला निर्वाचनमा दलित समुदायको मत बढाउँदै गरेकाले दलित समुदायबाट राष्ट्रपति बनाउँदा अर्को वर्ष हुने विधानसभा निर्वाचन र सन् २०१९ मा हुने लोक सभा निर्वाचनमा भाजपाको स्थिति थप मजबुत हुने आंकलन विश्लेषकहरुलेृ गरेका छन्।
भाजपाको संसदीय बोर्ड बैठकमा यस अघि उनको नाम आएको थिएन। भाजपाले राष्ट्रपति पदमा अगाडि सारेका कोभिन्ड दुई पटकसम्म भारतको सांसद भइसकेका छन् भने अहिले भारतको पूर्वी राज्य विहारका गभर्नरका रहेका छन्। पेशाले कानुन व्यवसायी उनले जीवनभरी हिन्दू राष्ट्रवादी पार्टी भाजपालाई समर्थन गरिरहेका छन्।
उता विपक्षी दलहरुले भने आफ्नो तर्फबाट साझा उम्मेदवार खडा गर्ने प्रयत्न गरिरहेका छन्। विपक्षी दलहरुको बीचमा उम्मेदवार छनोटको विषयमा केही चरणको वार्ता भएपनि उम्मेदवार चयन भइनसकेको बताइएको छ। राष्ट्रपतिको लागि उम्मेदवारी दर्ताको समय आगामी जुन २८ सम्मलाई तोकिएको छ। बीजेपीले दलित उम्मेदवारलाई छनोट गरेपछि विपक्षी भारतका विपक्षी दल अप्ठेरोमा परेका छन्। उनीहरुलाई दलित उम्मेदवारलाई समर्थन नगर्नु असहज हुने ठानिएको छ। भारतको प्रमुख विपक्षी दल कंग्रेस आईले मंगलबार कोभिन्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न उनलाई भेट्ने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टि्वट गर्दै सबैलाई 'खास प्रकारको राष्ट्रपति' बनाउन आह्वान गरेका छन्। उनले दलित, पिछडिएको र गरिब समुदायको आवाजलाई समर्थनको निरन्तरताका लागि पनि अनुरोध गरेका छन्।
यसअघि दलित समुदायको तर्फबाट भारतको पहिलो राष्ट्रपति भएका केआर नारायनन्ले सन् १९९७ देखि २००२ सम्म जिम्मेवारी सम्हालेका थिए। भारतको राष्ट्रपतिमा भाजपाले अगाडि सारेका कोभिन्ड निर्वाचित भए भने उनी भारतको दलित समुदायबाट दोस्रो राष्ट्रपति बन्ने छन्।
प्रकाशित: ६ असार २०७४ ०३:३६ मंगलबार